समाचारआइतबार, चैत्र ८, २०७१

नयाँ वर्षदेखि उपत्यकामा प्लाष्टिक झोलामाथि प्रतिबन्ध

हिमालखबर

imagesमानव स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने प्लाष्टिक झोलालाई सरकारले १ वैशाख २०७२देखि काठमाडौँ उपत्यकामा प्रतिबन्ध लगाउने भएको छ ।

विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री सुशील कोइरालाले प्लाष्टिक झोलालाई प्रतिबन्ध लगाउने निर्णयमा हालै हस्ताक्षर गरेपछि नेपाल राजपत्रमा सूचना प्रकाशित गरी कार्यान्वयन गर्न लागिएको हो ।

“एक/दुई दिनमै राजपत्रमा सूचना प्रकाशित गरी वैशाख १ गतेबाट उपत्यकाका जनतालाई राम्रो स्वास्थ्य उपहार दिने उद्देश्यले निर्णय कार्यान्वयन गर्न लागिपरेका छौँ”– मन्त्रालयका वातावरण महाशाखा प्रमुख महेन्द्रमान गुरुङले भने ।

विकल्प बिना प्लाष्टिक झोला प्रतिबन्ध लगाउन लागिएको भन्ने प्लाष्टिक उद्योगीको तर्कमा सहमत हुन नसकिने पनि उनले बताए ।

प्रतिबन्धपछि कपडा, कागज र जुटको झोला प्रयोगमा ल्याइने मन्त्रालयले जनाएको छ ।
“प्लाष्टिक झोलामात्र उत्पादन गर्ने उद्योगलाई प्रतिबन्धपछि केही राहत दिने सोचमा पनि मन्त्रालय लागेको छ, ” गुरुङले भने ।

सरकारले यसअघि नै राज्यभर ३० माइक्रोनभन्दा कमको प्लाष्टिक झोला बिक्री वितरणमा प्रतिबन्ध लगाएको थियो ।

१ वैशाखपछि उपत्यकामा प्लाष्टिकका झोला उत्पादन, बिक्री वितरण र बोक्नमा समेत प्रतिबन्ध लगाइने भएको छ ।
यसविरुद्ध लाग्नेलाई वातावरण विभागले अनुगमन गरी कारबाही गर्ने महानिर्देशक सुरजकुमार पोखरेलले जानकारी दिए ।

प्लाष्टिक झोला नकुहिँदा वातावरणमा गम्भीर असर गर्नुका साथै कृषिको उत्पादकत्वमा कमी ल्याउँछ ।

प्लाष्टिक झोला जलाउँदा आउने धुँवाले मानव स्वास्थ्यलाई अझ धेरै असर गर्ने गरेको छ । ढल जाम गर्ने, पशु पंक्षीले खाँदा हानीकारक हुनेलगायतका दुर्गुण भएकाले प्रतिबन्ध लगाउन लागिएको मन्त्रालयले जनाएको छ ।

यसअघि नै इटहरी, धरान, इलाम र पोखरालगायतका शहरमा नगरकै अग्रसरतामा प्लाष्टिक झोला प्रतिबन्ध लगाइसकिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>