समाचारआइतबार, चैत्र ८, २०७१

संविधानसभाभित्रै बहस र मन्थन गर्न राष्ट्रपति यादवबाट आह्वान

हिमालखबर

President_Rambaran_Yadav_राष्ट्रपति रामवरण यादवले धेरै वर्षको अन्तराल पछि नेपाल र चीनका राष्ट्रप्रमुखको तहमा हुन लागेको भेटघाट र विचार आदानप्रदानबाट दुई मुलुकबीचको सम्बन्ध अरु मजबुत र भरपर्दो हुने विश्वास व्यक्त गरेका छन् ।

मित्रराष्ट्र चीनका राष्ट्रपति सि जिनपिङको निमन्त्रणामा साताव्यापी चीन भ्रमणमा आफू जान लागेको सन्दर्भमा राजनीतिक दलका शीर्ष नेताहरुसँग राय सुझाव प्राप्त गर्न आयोजना गरिएको भेटघाटमा राष्ट्रपति यादवले चीन भ्रमणको क्रममा आयोजना हुने द्विपक्षीय एवम् बहुपक्षीय बैठकहरुमा अन्य कुराका अतिरिक्त मुलुकले विगत आठ वर्ष यता तय गरेको राजनीतिक यात्रा, संविधानसभाका निम्ति भएका दुईवटा निर्वाचन तथा शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन भएका प्रयासकाबारेमा प्रसङ्ग उठ्न सक्ने बारेमा जानकारी गराए ।

नेपाल चीनबीच दौत्य सम्बन्ध स्थापनाको ६० औं वार्षिकोत्सव मनाइरहेको अवसरमा राष्ट्रपति यादवबाट १२ देखि १८ चैतसम्म हुने चीन भ्रमणका अवसरमा बहुराष्ट्रिय आर्थिक मञ्चको वार्षिक बैठकलाई सम्बोधन गर्नुका साथै चीनका राष्ट्रपतिलगायत अन्य उच्च अधिकारीसँग द्विपक्षीय हित र चासोका विषयमा छलफल एवम् विचार आदानप्रदान गर्ने कार्यक्रम छ ।

सो अवसरमा राष्ट्रपति यादवले दिएको लिखित मन्तव्यमा जननिर्वाचित संविधानसभाद्वारा संविधान निर्माण गर्ने हाम्रो सङ्कल्प र प्रयत्नलाई छिमेकीले मात्र नभइ समग्र विश्व समुदायले नै तिव्र उत्सुकताका साथ नियालीरहेको अवस्थामा भेटका क्रममा स्वाभाविक रुपमा नै चिनीयाँ मित्रले नयाँ संविधानमा केन्द्रित भएर पनि जिज्ञासा राख्न सक्नेबारेसमेत नेताहरुको ध्यानाकर्षण गराएका थिए ।

‘‘संविधान निर्माणका सम्बन्धमा तपाईँहरुको भनाइलाई नै मैले आधिकारिक मान्नुपर्नेछ । अतः नेपाली जनताले नयाँ संविधान कहिले पाउलान् भन्ने सवालमा म तपाईहरुको रायमै निर्भर रहनेछु,’’ राष्ट्रपतिको लिखित मन्तव्यमा भनिएको छ ।

राष्ट्रपतिको सो भनाइ आएपछि शीर्ष नेताहरुले अहिले सबै राजनीतिक दलहरु छलफलबाट एउटा निष्कर्षमा पुगेर जनचाहनाबमोजिम समयमै संविधान बनाउन लागिरहेका छन् भनेर चिनियाँ मित्रलाई आश्वस्त तुल्याउन सुझाव दिएको बैठकमा सहभागी संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले जानकारी दिए।

सो अवसरमा राष्ट्रपति यादवले संविधानका धेरै विषयमा राजनीतिक दलहरु सहमति कायम गर्न सफल भइसकेको तथा २०६२/६३ को जनआन्दोलन, देश र जनता सामु पटक–पटक गरेका कबूल सम्झिएर इमान्दार मनले प्रयत्न गर्दा सङ्घीयतालगायत बाँकी विषयमा पनि निकास पहिल्याउन सक्षम हुने विश्वास व्यक्त गरे ।

उनले भने, “त्यसका निम्ति सबैले राष्ट्रिय हितलाई सर्वोपरी राखी सोच्नु र व्यवहार गर्नु जरुरी छ ।”

“देश र जनताप्रतिको जिम्मेवारीबोध, दलीय सद्भाव र आपसी सहिष्णुतासहित संविधानसभाभित्रै बहस र मन्थन गरी जतिसक्दो चाँडो मुलुकलाई नयाँ संविधान प्रदान गर्न म पुनः एकपटक आग्रह गर्दछु,”–राष्ट्रपति डा यादवले भने ।

छलफलमा सबै नेताहरुले दुई देशबीचको ऐतिहासिक सुमधुर सम्बन्धलाई जनस्तरसम्म पुर्‍याउन राष्ट्रपति डा यादवको भ्रमणले सफलता पाओस् भन्ने शुभकामना दिएका थिए ।

चीन भ्रमणबाट फर्कँदा संविधान निर्माणको सन्दर्भमा खुशीको समाचार सुन्न पाउने अपेक्षासमेत शीर्ष नेताहरुकोबीचमा राखेका थिए ।
राष्ट्रपतिले आमन्त्रण गर्नुभएको भेटमा नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली भने उपस्थित भएनन् ।

सो अवसरमा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेता बाबुराम भट्टराई, नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल, नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, मधेशी जनअधिकार फोरम लोकतान्त्रिक का अध्यक्ष विजयकुमार गच्छदार, मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलगायत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु सहभागी थिए ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>