समाचारसोमबार, चैत्र ९, २०७१
विद्यालय व्यस्थापन समितिका लागि बसेको बैठकमा झडप, दुइको मृत्यु ११ घाइते
धनुषाको सबैलामा विद्यालय व्यवस्थापन समिति गठन सम्बन्धी बैठकमा विवाद बढदै जाँदा भएको झडपमा दुई जनाको मृत्यु भएको छ । घटनामा अन्य ११ जना घाइते भएका छन् ।
सबैला नगरपालिका–१ स्थित मदनआश्रित निमाविमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी छनौटका लागि ८ चैतमा भएको बैठकमा विवाद बढदै जाँदा राति झडप भएको थियो ।
झडपमा परेर गम्भीर घाइते भएका स्थानीय रामसेवक राउत गडेरीको उपचारका लागि काठमाडौं लग्दालग्दै बाटोमा मृत्यु भएको हो भने बैठकमा सहभागी रामप्रकाश यादवको राति १ बजे गोली हानी हत्या भएको स्थानीयले बताए ।
यादवको शव झडप भएकै स्थान नजिक बालुवामा छोपेर राखिएको अवस्थामा सोमबार बिहान भेटेको धनुषाका प्रहरी उपरीक्षक गणेश बहादुर थापाले बताए । यादवको शरीरमा चार गोली लागेको पनि थापाले जानकारी दिए।
घाइतेहरुमा नेकपा माओवादीका संयोजक मातृका यादवका भाई कारीराम यादव, प्रदीप यादव, रामवली साह, श्यामकिशोर साह, परशुराम साह, लखिचन्द साह, रामसागर साह, विरेन्द्रकुमार साह, रामचन्द्र साह, दिनेश साह र रामदेव ठाकुर छन् ।
उनीहरुमध्ये रामसागर, कारीराम र परशुरामलाई उपचारका लागि काठमाडौं पठाइएको छ भने बाँकीलाई जनकपुर अञ्चल अस्तापलमा उपचार भइरहेको छ ।
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी छनौटका लागि छलफल गर्न आइतबार विद्यालयले अभिभावकहरुको बैठक बोलाएको थियो ।
बैठकमा पदाधिकारीहरुमा सर्वसम्मति नभएपछि २५ चैतमा निर्वाचन गर्ने सहमति भएको थियो ।
बैठकबाट निस्केका कांग्रेस, एमाओवादी, माओवादी र एमालेकै एक पक्ष समेतका कार्यकर्ताहरुको समूहले चुनावमा कसलाई अध्यक्ष उठाउने भन्ने वारे छलफल गर्न रामदेव ठाकुरको घरमा भेला भए ।
सोही क्रममा एमालेका वैकल्पिक केन्द्रीय सदस्य समेत रहेका स्थानीय योगनारायण यादव नेतृत्वको समूहले आएर आक्रमण गरेको एमालेकै गाउँ इकाइ कमिटी अध्यक्ष एंव पूर्व गाविस अध्यक्ष रामवली साहले बताए ।
स्थानीय विभिन्न मुद्दामा मातृका यादव र एमालेका योगनारायण यादबबीच टकराव हुँदै आएको छ ।
योग नारायण यादव समूहले सार्वजनिक जग्गा प्लटिङ गरेर बेच्न खोज्दा ६ महिना अघि मात्रै सबैलामा विवाद भएको थियो ।
घटनास्थलमा सुरक्षा अधिकारीको टोली
यसैबीच घटनाको छानबीन गर्न धनुषाका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद ढुंगानाको नेतृत्वमा जिल्ला प्रहरी प्रमुख गणेशबहादुर थापा, सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक रविन्द्र ठाकुर लगायतकोे टोलि सबैला पुगेको छ ।
प्रहरी उपरीक्षक थापाले घटनामा संलग्न भएको आरोपमा तीनजना पक्राउ परेको जानकारी गराएका छन् ।
उनले अनुसन्धानमा प्रभाव पर्ने भन्दै पक्राउ परेकाहरुको नाम, ठेगाना खुलाउन चाहेनन् ।
ईश्वरचन्द्र झा, जनकपुर
