समाचारसोमबार, चैत्र ९, २०७१
एमालेमा विवाद चर्कियाे
नेकपा एमालेका अध्यक्ष केपी शर्मा अाेलीले एक्लाैटी रुपमा कार्यविभाजनकाे प्रस्ताव ल्याएपछी सचिवालय बैठकमा चर्काचर्की भएकाे छ ।
महासचिव ईश्वर पाेखरेलले प्रस्तुत गरेकाे कार्यविभाजनमा एक्लाैटी गरिएकाे भन्दै उपमहासचिव घनश्याम भूसाल र सचिव याेगेश भट्टराईले असन्तुष्टि राखेका थिए । अञ्चल इन्चार्जहरुमा एक जना मात्रै बरिष्ठ नेता माधवकुमार नेपाल पक्षधरलाई राखेर सवै एक्लाैटी गरिएकाे र विभागमा मनपरी गरिएकाे अाराेप नेपाल पक्षले लगाएकाे छ ।
बैठकमा उपमहासचिव भूसालले भने, “यति गुटगत रुपमा प्रस्ताव आउला भन्ने अपेक्षा नै गरेका थिएनौं, तपाईंहरुको आत्माले शान्ति पाओस् ।”’ यस्तै सचिव योगेश भट्टराईले अाेली पक्षले लडाइँको मोर्चा खोलेकाले जुनसुकै हिसावमा तयार रहेकाे चुनाैती दिए ।
यस्ताे छ प्रस्ताव
१५ अञ्चलमध्ये एक जना मात्रै नेपाल पक्षका छन् । बाँकी सवै अाेली पक्षलाई इन्चार्ज बनाइएकाे छ ।
महासचिव पाेखरेलले गरेकाे प्रस्ताव अनुसार मेची हिक्मत कार्की, कोसी विजय सुब्बा, सगरमाथा रामप्रित पासवान, जनकपुर योगनारयण यादव, नारायणी काशीनाथ अधिकारी, उपत्यका सानु श्रेष्ठ, लुम्बिनी रामनाथ ढकाल, गण्डकी मायानाथ अधिकारी, धौलागिरी गणेश तिम्सिना, राप्ती भागवत विश्वासी, भेरी यामलाल कँडेल, कर्णाली गोरखबहादुर बोगटी, सेती कर्णबहादुर थापा र महाकाली गणेश ठगुन्नाको नाम छ । वागमती इन्चार्ज शेरबहादुर तामाङलाई प्रस्ताव गरिएकाे छ ।
यसैगरी, उपमहासचिव घनश्याम भुसाललाई दिनुपर्ने भएपछि पार्टी स्कुल विभाग अध्यक्ष ओली स्वयम्ले राखेर शंकर पोखरेललाई उपप्रमुख बनाउने प्रस्ताव गरिएको छ भने संगठन विभागमा पृथ्वी सुब्बा गुरुङ, सचिवालय सचिवमा प्रदीप ज्ञवाली, राजकीय मामिला भीम आचार्य, मोर्चा गोकर्ण विष्ट र प्रचारमा योगेश भट्टराईलाई प्रस्ताव गरिएको छ ।
केन्द्रीय कार्यालयमा सचिवमा कृष्णगोपाल श्रेष्ठ, आर्थिक विभागमा विष्णु रिमाल, युवा संघको इन्चार्जमा निरु पाल, विद्यार्थीमा रविन्द्र अधिकारीलगायतको नाम छ ।
