समाचारसोमबार, चैत्र ९, २०७१
किर्गिस्तान हिँडेका दुई युवतीसहित सात पक्राउ
रोजगारीका लागि किर्गिस्तान जान भनी हिंडेका दुई युवतीसहित शङ्कास्पद सात जनालाई प्रहरीले पश्चिमी नाका गड्डाचौकीबाट नियन्त्रणमा लिएको छ ।
काठमाडौँ–दिल्ली चल्ने बसमा सवार सिन्धुपाल्चोक मार्मिङ गाविस–२ की २१ वर्षीया धनमाया तामाङ, मोरङ सुन्दरपुर–६ की १९ वर्षीया सुस्मिता राई र धनमायाका भाइ दावाछिरिङ तामाङलाई सोधपुछका क्रममा शङ्का लागेपछि इलाका प्रहरी कार्यालय गड्डाचौकीको टोलीले नियन्त्रणमा लिएको हो ।
सुस्मिताले गाउँका हुसेन राई नाम गरेका युवकले किर्गिस्तान रोजगारीका लागि पठाइदिने भन्दै आफूहरुबाट रु दुई/दुई लाखसमेत असुल गरेको बताएकी छन् ।
प्रहरीले नियन्त्रण लिएका धनमायाका भाइ दावाले आफ्नी दिदीलाई भारतको राजधानी दिल्लीसम्म पु¥याउन हिँडेको बताए ।
“कहाँ जाने, कसरी जाने, कसले लाने भन्नेबारे कुनै जानकारी यिनीहरुसित छैन”, जिल्ला प्रहरी कार्यालयका प्रमुख विश्व नीरञ्जन प्रधानले भने, “काठमाडौँको स्वयम्भूमा रहेको ओम टुर एण्ड ट्राभल्समार्फत टिकट किनिएको छ ।”
त्यसैगरी तीनजनासँगै सिन्धुपाल्चोक मार्मिङ गाविस–७ का ५७ वर्षीय सोनाम धर्के तामाङ, उनकी छोरी, छोरा र बुहारीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी प्रमुख प्रधानले सातैजनाको एउटै टुरले टिकट काटेको र उनीहरुले एकआपसमा परिचित नभएको प्रतिक्रिया दिएपछि थप शङ्का लागेको बताए ।
“यी सबैलाई एजेन्टमार्फत अन्यत्रै लग्न खोजिएको जस्तो छ”, उनले भने, “हामीले सम्झाएपछि भने उनीहरु घर फर्किन तयार भएका छन् ।”
सुस्मिताले आफूहरुलाई किर्गिस्तानमा मासिक रु ३० हजार पारिश्रमिक पाउने बताइएको जानकारी दिइन् ।
प्रहरी उपरीक्षक प्रधानले टुर अपरेटर र होटल दुवैले फोन नउठाएको बताए ।
प्रहरीले माइती नेपालमार्फत नियन्त्रणमा लिइएका सातैजनालाई घर फर्काउने तयारी गरेको छ ।
