समाचारसोमबार, चैत्र ९, २०७१
फुङलिङ बजारमा आगलागी, ३० बढी घर जले
ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा ९ चैत साँझ सवा सात वजेदेखि लागेको आगो करिब ४ घण्टापछि नियन्त्रणमा आएको छ ।
फुङलिङ बजारको घनाबस्ती भएको तक्मेडाँडामा पूर्वेली होटलवाट शुरु भएको आगोले ३० भन्दा बढी घर जलेर ध्वस्त भएका छन् । आगलागीबाट जिल्ला विकास समिति लगायतका कार्यालयहरु समेत खरानी भएका छन् ।
“ठूलो क्षति भएको छ, भयावह अवस्था छ, के कति जल्यो भन्ने भोली उज्यालो भएपछि मात्रै थाहा होला,” स्थानीयले टेलिफोनमा भने ।
जिल्लामा दमकल नभएको र बेगले हावा चलिरहेकाले पनि आगो नियन्त्रणमा कठिनाइ आएको थियो ।
आगो नियन्त्रणमा लिन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी स्थानीय वासिन्दाले गरेको प्रयासले पनि सफल नभएपछि जोडिएका केही घर स्काभेटरले भत्काइएको थियो ।
राति ११ बजेसम्म आगो पूर्ण रुपमा ननिभिसकेको भए पनि फैलन नपाएको र निभ्ने क्रममा रहेको स्थानीयबासीले बताएका छन् ।
आगोले १ किलोमिटरको क्षेत्रमा रहेका घर र संरचनाहरु ध्वस्त पारेको छ ।
आगो तक्मेडाँडावाट विरेन्द्रचोक तर्फ सल्किरहँदा त्यसै क्षेत्रमा रहेको नेपाली सेनाको ब्यारेक जोखिममा परेको भए पनि घरहरु भत्काइएपछि ब्यारेक जोगिएको छ ।
यसअघि फागुन २०६० मा पनि फुङलिङ वजारमा आगलागिबाट २२ वटा नष्ट भएका थिए ।
आगलागीवाट ध्वस्त भएको वजार पुनःनिर्माण भइनसक्दै पुनः आगो लागेको हो ।
छिमेकी जिल्ला पाँचथरको फिदिम वजारमा २०६० र २०६६ सालमा दुईवटा ठुला आगलागी भइसकेका छन ।
यस्तै तेह्रथुमको म्याङलुङ र इलामको सदरमुकाम इलाम वजारमा पनि क्रमशः २०५९ र २०६६ सालमा ठूलाा आगलागीका घटना भइसकेका छन ।
पूर्वी पहाडी जिल्लामा वर्षेनी फागुनदेखि बैशाख महिनासम्म अत्याधिम मात्रामा आगलागीका घट्ना हुने गरे पनि रोक्नका लागि कुनै पूर्वतयारी हुनसकेको छैन ।
गोपाल गडतौला र लक्ष्मी गौतम
———————————————————————————–
ताप्लेजुङ सदरमुकाममा आगलागी, २४ घर ध्वस्त
सोमबार , ९ चैत्र २०७१ ८:३२ पम
ताप्लेजुङको फुङलिङमा ९ चैत साँझ भीषण आगलागी भएको छ ।
साँझ करिब ७ बजेतिर शुरु भएको आगोले फुङ्लिङ नगरपालिका-४ का करिब २४ घर जलिसकेको स्थानीय तीलक खतिवडाले जानकारी दिएका छन् । आगोले १ किलोमिटर क्षेत्र ढाकिसकेकाले नियन्त्रणमा कठिनाई भइरहेको छ ।
आगालागीबाट जिल्ला विकास समिति ताप्लेजुङको भवन समेत नष्ट भएको छ ।
बाक्लो बस्तीमा जोडिएका घर भएको फुङलिङ बजारमा दमकल समेत नहुँदा आगो निभाउन समस्या भइरहेको छ । छेउमै रहेको नेपाली सेनाको ब्यारेक पनि जोखिममा रहेको स्थानीयले बताए ।
आगो शुरु भएसँगै वेगले हुरिवतास चलेकाले नियन्त्रणमा कठिनाई भएको ताप्लेजुङका प्रहरी प्रमूख शान्ति कोइरालाले वताए ।
ताप्लेजुङ सहित पूर्वी छिमेकी पाँचथर जिल्लामा समेत दमकल नभएकाले इलामवाट दमकल वोलाउनुका साथै पाँचथरवाट पनि थप वल पठाइएको पाँचथरका प्रहरी प्रमूख दिपक पोखरेलले वताए ।
आगो नियन्त्रणमा आउन नसकेको र थप क्षति हुने भएपछि अहिले स्काभेटर लगाएर जोडिएका घर भत्काउन थालिएको छ ।
तोक्मे डाँडाको पूर्वेली होटेलबाट शुरु भएको आगो निभाउन स्थानीयबासी, प्रहरी र सेना परिचालित भएका छन् ।
गोपाल गडतौला र लक्ष्मी गौतम
