समाचारबुधबार, चैत्र ११, २०७१
गृहमन्त्रीले भने, ‘बलात्कारीलाई नपुङ्सक बनाउन सकिन्छ’
व्यवस्थापिका संसद्को महिला बालबालिका, जेष्ठ नागरिक, समाज कल्याण समितिमा बलात्कारीलाई कडा सजायको व्यवस्था गर्नुपर्नेबारे छलफल भएको छ ।
समितिका सभापति रञ्जु झाले प्रस्ताव गरेको प्रतिवेदनमाथि बोल्दै सभासद्हरुले बलात्कारीलाई मृत्युदण्डको सजाय हुनुपर्ने समेत धारणा राखेका थिए ।
उक्त बैठकमा गृहमन्त्री बामदेव गौतमले मृत्युदण्ड नेपालको अन्तरिम संविधान भन्दा बाहिरको विषय भएकाले यस्तो संभव नहुने बताएका थिए ।
‘‘बालिका बलात्कार गर्नेलाई कडा कानूनको व्यवस्था गर्न सकिन्छ, त्यो नपुङ्सक बनाउनु पनि एक हो ।’’, गृहमन्त्रीको भनाई उदृत गर्दै सभासद रुक्मणि चौधरीले भनिन् ।
तर, बलात्कारीलाई नपुङ्सक बनाउने विकल्प पनि उत्तम नभएको भन्दै अधिकांश सभासद्हरुले आलोचना गरेपछि निर्णय भने हुन सकेन ।
चौधरीले भनिन्, ‘‘कडा कानून बनाउनेबारे छलफल जारी छ, तर मृत्युदण्ड र नपुङ्सक बनाउने निर्णय हुन सक्दैन ।’’
