समाचारबुधबार, चैत्र ११, २०७१
एमाले कार्यविभाजनः महासचिवको प्रस्ताव संशोधनसहित पारित, नेपाल पक्षकाे असहमति
असहमतिकै बीच पार्टी अध्यक्ष केपी शर्मा अाेलीले नेकपा एमालेकाे कार्यविभाजन टुंगिएको निर्णय सुनाएका छन् ।
अाफ्नै निवास बालकोटमा बसेको स्थायी कमिटीको बैठकले कार्यविभाजन टुंग्याएको सचिव प्रदिप ज्ञवालीले बताए । उनका अनुसार महासचिव ईश्वर पोखरेलले पेश गरेको प्रस्तावमा केही संशोधन गरी पारित गरिएको हाे ।
तर, बरिष्ठ नेता माधवकुमार नेपाल पक्षधरले भने पार्टी अध्यक्षले गरेकाे निर्णयमा असहमति जनाएकाे सचिव याेगेश भट्टराईले बताए । उनले भने, “महासचिवले प्रस्तुत गरेकाे प्रस्तावमा केही संशाेधन नगरी पारित भएकाे घाेषणा गरिएकाे छ, यसमा हाम्राे असहमति छ ।”
पार्टी अध्यक्ष अाेलीद्वारा पारित भएकाे भनिएकाे कार्यविभाजनकाे निर्णय माइन्युट भने गरिएकाे छैन । अाफ्नाे माग पूरा नभए माइन्युटमा ‘नाेट अफ डिसेन्ट’ लेखिने भट्टराईले बताए ।
बरिष्ठ नेता माधवकुमार नेपाल र सचिव गाेकर्ण विष्ट बाहेक सवै स्थायी कमिटीका सदस्यहरु सहभागी बैठकमा नेपाल पक्षले कार्यविभाजनमा मापदण्ड तय हुनुपर्ने र पार्टीकाे अाधिकारिक निर्णय पार्टी केन्द्रीय कार्यालयमा हुनुपर्ने माग राखेकाे छ ।
महासचिव पाेखरेलले एक्लाैटी रुपमा कार्यविभाजनकाे प्रस्ताव ल्याएकाे भन्दै नेपाल पक्षले असन्तुष्टि जनाउदै अाएका थिए ।
यस्ताे छ कार्यविभाजन
अध्यक्षले पारित भएको निर्णय सुनाएको कार्यविभाजन अनुसार आफैंले पार्टी स्कुल विभागको पनि जिम्मेवारी लिएका छन् । उक्त विभागको उपप्रमुख उपमहासचिवमा पराजित शंकर पोखरेललाई बनाइएको छ ।
निर्णय अनुसार बरिष्ठ नेता झलनाथ खनाललाई नीति तथा अनुसन्धान प्रमुख र अर्का बरिष्ठ नेता माधवकुमार नेपाललाई विदेश विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।
यस्तै, उपाध्यक्ष बामदेव गौतमलाई मध्यपश्चिम तथा किसान इन्चार्ज, उपाध्यक्ष विद्या भण्डारीलाई पूर्व तथा महिला इन्चार्ज, उपाध्यक्ष युवराज ज्ञवाली पश्चिम इन्चार्ज, अष्टलक्ष्मी शाक्य मध्यमाञ्चल र उपाध्यक्ष भीम रावललाई सुदूरपश्चिम इन्चार्ज बनाइएको छ ।
उपमहासचिव विष्णु पौडेललाई मोर्चा प्रमुख र उपमहासचिव घनश्याम भूसाललाई राज्य सञ्चालनसँग सम्बन्धित विभागको प्रमुख बनाइएको छ ।
सचिवहरुमा प्रदिप ज्ञवाली केन्द्रीय सचिवालय सचिव, पृथ्वीसुब्बा गुरुङ संगठन विभाग प्रमुख, गोकर्ण विष्ट मोर्चा विभाग प्रमुख, भीम आचार्य राज्य व्यवस्था विभाग प्रमुख र योगेश भट्टराईलाई प्रचार विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।
