समाचारबिहीबार, चैत्र १२, २०७१
“सत्तामा रहने इच्छा छैन, संविधान आओस् छोडिदिन्छु”
प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माणमा अधिकतम लचकता अपनाइएको बताएका छन् ।
उनले भने, “सहमतिमै संविधान बनोस् भन्ने सबैका चाहना हो । यसका निम्ति अधिकतम लचकता पनि अपनाइएको छ । तर केही पनि भएन भने त प्रक्रियामा जानुको विकल्प रहँदैन ।”
संविधान जारी भएपछि आफूमा प्रधानमन्त्री पदमा रहिरहने इच्छा नभएको उनले बताए । प्रधानमन्त्री काेइरालाले भने, “जसरी तसरी सत्तामा रहने इच्छा मलाई छैन । संविधान आओस्, म छोडिदिन्छु ।”
प्रधानमन्त्री कोइरालाले देश आन्दोलनमा गएमा नेपाली जनताले दशकाैं लामो बलिदानीपूर्ण सङ्घर्षले हासिल गरेको सम्पूर्ण हकअधिकार बालुवामा पानी हालेसरह खेर जाने बताए ।
उनले मुलुकमा राजनीतिक दलहरुबीच आपसी संवाद, सहकार्य, एकता, मेलमिलाप र सहमति कायम हुन नदिने शक्ति पनि सक्रिय रहेको बताउँदै तिनीहरुबाट जोगिएर देश र जनताको हितमा काम गर्न राजनीतिक दलका नेताहरुलाई आग्रह गरे ।
