समाचारबिहीबार, चैत्र १२, २०७१

सङ्गीता जीवित भएको खबरले परिवारमा खुशी फर्क्यो

हिमालखबर

वैदेशिक रोजगारीको सिलसिलामा कुवेत पुगेकी झापा पृथ्वीनगरकी सङ्गीता लिम्बू बेपत्ता बनेको आठ वर्षपछि दूतावासको शरणमा छन् भन्ने खबर आएपछि परिवारमा खुशी फर्केको छ ।

अरनिको माध्यमिक विद्यालय महेशपुरमा कक्षा १० मा अध्ययन गर्दागर्दै उनी चन्द्रगढी निवासी शान्ता लिम्बूमार्फत २०६३ सालमा भारतको दिल्ली हुँदै कुवेत पुगेकी थिइन् ।
कुवेत पुगेको दुई महिनामा एकपटक घरमा सम्पर्क गरेसँगै उनी एकाएक बेपत्ता बनेकी थिइन् ।

“बेपत्ता बनेको आठ वर्षपछि १२ चैतमा सङ्गीता दूतावासको शरणमा छिन् भन्दा परिवारमा हर्षका आँसु बगे,” सङ्गीताकी माइली दिदी सुमित्राले भनिन् । “राम्रो कमाइ हुने र घरभित्रकै सजिलो काम भन्दै सङ्गीतालाई लिम्बूले कुवेत लगेकी थिइन् ।”

“कुवेत पुगेको दुई महिनापछि बुबासँग एकपटकमात्र बहिनीको फोन सम्पर्क भएको थियो,” विगत सम्झँदै उनले भनिन्, “त्यसबेला बहिनीले आफू सञ्चै भएको र कुवेत पुगेको खबर गरेकी थिई।”

त्यसपछि एकाएक बेपत्ता बनेकी बहिनीको खबर आठ वर्षपछि मात्रै आउँदा परिवारमा रुवाबासी पनि चल्यो खुशीले ।

आठ वर्षसम्म हराएकी बहिनी जीवितै रहेको कुरा एक दैनिकमा ११ गते समाचार छापिएको थियो । सुमित्राले थपिन, “बहिनीको यतिका वर्ष न त फोन आयो न त चिठ्ठी नै ? हामीले त सङ्गीता छे भन्ने आश नै मारिसकेका थियौँ ।”

धनकुटाको खुकुछिन्ताङ मन्दिरमा बहिनी भेटिए कालोबोका बलि चढाउने, भारतका विभिन्न मठमन्दिरमा दर्शन गर्न जाने, ताप्लेजुङमा अवस्थित ठूलो पाथीभरा देवीको मन्दिरमा दर्शन गर्न जानेसम्मको भाकल आफूले गरेको सुमित्राले सुनाइन् ।

विसं २४ मङ्सीर २०६३ मा भारतको दिल्लीबाट सङ्गीता कुवेतका लागि उडेकी थिइन् । अबको साउनमा सङ्गीताका बुबाको मृत्यु भएको पनि दुई वर्ष हुन्छ ।

छोरी बेपत्ता बनेदेखि सुद्धि हराएकी सङ्गीताकी ६३ वर्षीया आमा हस्तमायाले भनिन् “छोरी बाँचेकै रहिछन्, हाम्रो आर्थिक अवस्था कमजोर छ, उनलाई कसरी घर ल्याउने ? ”

आठ वर्षअघि घरेलु काम गर्न कुवेत पुगेकी सङ्गीतालाई कुवेत नागरिक जम्बर अलीले घरमा काम लगाएको र बन्धक बनाएर आठ वर्षसम्म राखेको सगीताले दूतावासलाई बताएकी छन् । संगीता एक महिना अगाडि भागेर उनी दूतावासको शरणमा पुग्न सफल भएकी हुन् ।

सङगीताका काका महेशले भने, “आठ/आठ वर्ष छोरीको श्रमशोषण गर्ने कुवेती नागरिक र पठाउने एजेन्टलाई पनि सरकारले कानुनी दायरामा ल्याएर सङ्गीतालाई घर फर्काउन सहयोग गर्न म सरकारसँग आग्रह गर्छु ।”
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>