समाचारबिहीबार, चैत्र १२, २०७१
नक्कली भ्याट बिल बुझाउने ब्यापारीकाे सूची तयार गर्न अर्थमन्त्रालयलाई निर्देशन
व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिले नक्कली भ्याट बिल बनाएर राजस्व छल्ने व्यापारीको पूर्ण सूची समितिलाई उपलब्ध गराउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।
कार्यालयले सिंहदरबार समितिको बसेको बैठकले नक्कली भ्याट बिल देखाएर मुलुकलाई ठगी गरिए पनि त्यस्ता व्यापारीमाथि कारबाही नभएकाले तत्काल विवरण उपलब्ध गराउन निर्देशन दिइएको सभापति जनार्दशन शर्माले बताए ।
करदाताले राजस्व छली गरेकाले राजस्वको लक्ष्यभन्दा कम असुली भएको, मुलुकको आर्थिक स्वास्थ्यमा असर परेको, मर्यादित व्यवसाय गर्नेको मनोबल गिरेको र गैरकानुनी काम गर्नेको मनोबल उच्च भएको भन्दै तत्काल विवरण उपलब्ध गराउन निर्देश गरेको हो ।
अघिल्लो संसदमा पनि तत्कालीन लेखा समितिका सभापति रामकृष्ण यादवले सूची उपलब्ध गराउन मन्त्रालयलाई निर्देशन दिएपनि पालना भएको थिएन ।
समितिले नियमित राजस्व सङ्कलनमा देखिएको बक्यौता पनि तत्काल उठाउन र नतिर्ने व्यावसायिक संस्थालाई पनि ताकेता गर्न र राजस्वबाटै असुल गर्नसमेत ध्यानाकर्षण गराएको छ ।
बैठकमा सांसदहरुले हरेक आर्थिक वर्ष राजस्व वक्यौता रहने गरेको, उठाउनेतर्फ सरकारले प्रभावकारी कदम चाल्न नसकेको, व्यापारीको मिलेमतोमा काम हुने गरेको भन्दै व्यवहार सच्याउनु पर्ने बताए ।
