समाचारशुक्रबार, चैत्र १३, २०७१
बाबुरामले भने, ‘विद्रोह आवश्यक छैन, सम्भव पनि छैन’
पूर्व प्रधानमन्त्री तथा एमाअाेवादीका नेता बाबुराम भट्टराईले ३० दलीय मोर्चाको आन्दोलनको मनसाय सशस्त्र विद्रोह गर्ने र राज्यसत्ता पल्टाउने नभएको बताएका छन् ।
एमाओवादी कास्कीले पोखरामा आयोजना गरेको ‘सहमतीय संविधान निर्माणमा जनआन्दोलनको भूमिका’ विषयको अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले भने, “अहिले विद्रोह आवश्यक छैन, सम्भव पनि छैन । अहिलेको आन्दोलनको उद्देश्य सहमतिमा संविधान बनाउने हो ।”
उनले सत्तापक्षले १२ बुँदे सहमति, जनआन्दोलन र पटक–पटक भएका सहमति विपरीत बहुमतको दम्भ देखाएकाले आन्दोलन थालिएको जिकिर गरे ।
उनले परिवर्तनकामी शक्तिहरुबीच सम्झौताको कुनै विकल्प नभएकामा जोड दिँदै १२ बुँदे जस्तै एक सम्झौता गरी गतिरोध अन्त्य गर्न सत्तापक्षसँग आग्रह गरे ।
उनले गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षता र समावेशीका विषयमा सहमति भए बाँकी विषयहरु संविधानसभामा मतदानमार्फत नै टुङ्ग्याउन आफूहरु तयार रहेकाे बताए ।
