समाचारशनिबार, चैत्र १४, २०७१
वार्ता टोलीले अनशनरत डा. केसीलाई भेट्यो, केसीद्वारा वार्ता अस्वीकार
सरकारले तोकेको वार्ता टोलीका सदस्यत्रय स्वास्थ्यमन्त्री खगराज अधिकारी, शिक्षामन्त्री चित्रलेखा यादव र मुख्य सचिव लिलामणी पौडेले अनशनरत डा. गोविन्द केसीलाई १३ चैत राति भेटेका छन् ।
मन्त्रीद्वय अधिकारी र यादवसँगै मुख्य सचिव पौडेल डा. केसीलाई भेट्न उनी अनशन बसेको त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज राति १०ः१५ बजे बजे पुगेका थिए । डा. केसीले शिक्षामन्त्री यादवसँग कुनै कुरा नगरे पनि स्वास्थ्यमन्त्री अधिकारीलाई भने ‘पहिले मेरा मागहरु पढ्नुस, आफैंले कार्वाहीको माग गरेका तपाइँहरुसँग मैले कसरी वार्ता गर्नु’ भनेका थिए ।
प्रत्युत्तरमा मन्त्री अधिकारीले ‘हामी सरकारको सन्देश दिन आएका हौं, तपाइँका मागप्रति सरकार सकारात्मक छ,’ भनेको अधिकारीलाई उद्धृत गर्दै शिक्षण अस्पतालका मेडिकल स्टुडेन्टले सुमन आचार्यले जानकारी दिए । अधिकारीले केसीको पछिल्लो भनाईसमेत प्रधानमन्त्रीसम्म पुर्याउने बताएका थिए । स्वास्थ्यमन्त्री अधिकारीले डा. केसीसँग कुरा गरिरहेका बेला शिक्षामन्त्री यादव भने मौन नै रहेकी थिइन् ।
दुवै मन्त्री अनशनस्थल बाट बाहिरिएपछि मुख्य सचिव पौडेल र डा. केसी बीच केही बेर कुराकानी भएको थियो । पौडेलले प्रधानमन्त्रीले नयाँ वार्ता टोली गठन गर्न सक्ने बताएका छन् ।
सरकारले १३ चैतमा डा.केसीसँग वार्ताका लागि मन्त्रिद्वय यादव र अधिकारी साथै मुख्य सचिव लिलामणी पौडेललाई जिम्मा दिए लगत्तै डा. केसीले मन्त्रीहरु यादव र अधिकारीको टोलीमा सहभागिता ‘आन्दोलनको अपमान’ भन्दै उक्त टोलीसँग वार्ता नगर्ने बताएका थिए ।
चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै ८ चैतदेखि आमरण अनशनमा बसेका केसीको स्वास्थ्यअवस्था विग्रंदो छ ।
