समाचारआइतबार, चैत्र १५, २०७१

डा. केसीको स्वास्थ्य नाजुक बन्दै

हिमालखबर

अनशनरत प्राध्यापक डा.गोविन्द केसीको स्वास्थ्य नाजुक हुँदै गएको उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

अनशनको आठौं दिन १५ चैतमा डा. केसीको रगतमा इलेक्ट्रोलाइट्सको कमी देखिएको, एसिडोसिdrkcस (शरीरमा अम्लिय पना बढ्ने) भएको र बेलाबेला भ्रान्ती हुने (डिसओरिएन्टेशन) समस्या देखिएको उपचारमा संलग्न डा. दिव्यासिंह शाहले जानकारी दिइन् ।

त्यसैगरी छाती, टाउको र मांशपेशीको दुखाई पनि बढदै गएको र कुनै पनि बेला स्वास्थ्यस्थिति निकै जटिल बन्नसक्ने अवस्था भएको शाहले बताइन् ।

‘सरकारी वार्ता टोलीले नाडी छाम्ने काममात्रै गर्‍यो’
सरकारद्वारा गठित वार्ता टोलीले अनशनरत डा. केसीसँग विना पूर्वतयारी वार्ता गर्न आएको र ‘नाडी छाम्ने’ काम गरेको डा. केसीका तर्फबाट वार्ताका लागि खटिएका प्रतिनिधिहरुले बताएका छन् ।

“न कुनै तयारी, न उनीहरुसँग कुनै अधिकार नै छ, आएर एकसरो कुरामात्रै गरेका छन्, उनीहरुको कुरा गराईै नाडी छामेजस्तो मात्रै छ,” डा. केसीका प्रतिनिधि डा. जीवन क्षेत्रीले भने ।

उनले विगतमा जस्तो कार्यान्वयन नहुने कागजी सहमतिमा डा. केसीले अनशन नतोड्ने जानकारी दिए । “प्रोफेसर केसीले उठाएका मागमध्ये सरकारले तत्कालै कार्यान्वयन गर्नसक्ने माग कार्यान्वयनमा लैजाओस, त्यसपछि नीतिगत विषयमा छलफल गरौंला भन्नुभएको छ,” डा. क्षेत्रीले भने ।

केसीका तर्फबाट शिक्षण अस्पतालका चिकित्सक प्राडा वाइपी सिंहको संयोजकत्वमा डा. रामचन्द्र सापकोटा, डा. जीवन क्षेत्रीलगायतको वार्ता टोली खटिएको छ ।

“विगतमा पनि सरकारले कागजी सम्झौता गरेर कार्यान्वयनमा नगरेकाले यस्तो अवस्था आएको हो, यसपटक प्रोफेसर तुरुन्त कार्यान्वयन हुनसक्ने माग कार्यान्वयन नहुँदासम्म अनशन तोड्ने मनस्थितिमा हुनुहुन्न,” क्षेत्रीले जानकारी दिए ।

भोली १६ चैतमा वृहद् प्रदर्शन

भोली १६ चैतमा आन्दोलनरत चिकित्सक, रेजिडेन्ट डाक्टर, नागरिक समाज र डा. केसीका समर्थकहरु संलग्न जुलुशले डा. केसीको समर्थनमा प्रदर्शन गर्ने भएको छ ।

विहान १० बजे शिक्षण अस्पतालमा भेला भई जुलुश प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरसम्म पुग्ने कार्यक्रम रहेको एमबीबीएस स्टुडेन्ट सुमन आचार्यले जानकारी दिए ।

उनले डा. केसीको सत्याग्रहलाई समर्थन गर्दै माग पूरा गराउन सरकारलाई दबाब दिनका लागि उपस्थित भइदिन सबैलाई अपिल समेत गरेका छन्।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>