समाचारसोमबार, चैत्र १६, २०७१
पूर्वाञ्चल विश्वविद्यालयमा शिरिष नै उपकुलपति
पूर्वाञ्चल विश्वविद्यालय (पियु)का कार्यबाहक उपकुलपतिमा शिरिष रिजालको कार्यभार थप भएको छ ।
निलम्वनमा परेका तत्कालीन उपकुलपति महेश्वरमान श्रेष्ठको मुद्दाको किनारा नलागेसम्म प्रधानमन्त्री कार्यालयले उनको कार्यभार थप गरेको हो ।
कलेजको सम्बन्धन दिँदा भ्रष्टाचार मुद्दा परेका तत्कालीन उपकुलपति प्रा महेश्वरमान श्रेष्ठसहितका सात जना पदाधिकारीलाई विशेष अदालतले २ चैतमा सफाइ दिएपछि पियुको उपकुलपति विवाद चुलिएको थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र लिएर उपकुलपति रिजालले आइतबारदेखि कार्यभार सम्हालेका छन् ।
यस सम्बन्धमा कार्यबाहक उपकुलपति रिजालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट यही १२ चैतमा जारी गरेको पत्रअनुसार भ्रष्टाचार मुद्दाको अन्तिम किनारा नलागेसम्म निलम्बन फुकुवा भएको नमानिने उल्लेख गरिएको बताए ।
