समाचारमंगलबार, चैत्र १७, २०७१
केसी अनशनः सर्वसाधारण उर्लिए, संघ पनि रिलेअनशनमा
स्वास्थ्य सेवा र चिकित्सा शिक्षाका विकृतिविरुद्ध दसबुँदे माग राख्दै डा. गोविन्द केसीले आमरण अनशन थालेको नवौं दिन सोमबार सयौं रेजिडेन्ट डाक्टर, विद्यार्थी तथा सर्वसाधारणले टिचिङ अस्पताल परिसरमा उपस्थित भएर आन्दोलनमा ऐक्यबद्धता जनाए।
त्रिवि शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. केसीको अनशनमा सघाउन रेजिडेन्ट तथा अन्डरग्राजुएट विद्यार्थीले सोमबार बिहान १० बजेका लागि ‘आइओएम जाऔं’ अभियान घोषणा गरेका थिए। घोषित समयमै मौसम भने प्रतिकूल भइदियो। बिहानैबाट आकाशमा कालो बादल छाएर पानी पर्ने संकेत दिइसकेको थियो।
तर, केसी आन्दोलनमा ऐक्यबद्धता जनाउनेहरूलाई प्रतिकूल मौसमले छेकेन। उनीहरू निर्धारित समयमै टिचिङ अस्पताल परिसरमा भेला भए। स्वतफूर्त रूपमा सयौं संख्यामा उपस्थित विद्यार्थी एवं सर्वसाधारणले टिचिङ अस्पताल, महाराजगन्जबाट प्रधानमन्त्री निवास, बालुवाटारसम्म र्याउली गरे। र, त्यहीँ धर्नासमेत दिए।
टिचिङ परिसरमा आयोजित ऐक्यबद्धता सभा सकेर र्यानली अघि बढ्दासम्म पानी छिट्ट्याउन थालिसकेको थियो। तैपनि सहभागी रोकिएनन्। बालुवाटार पुग्दासम्म झमझमी पानी परिहाल्यो। झरीकै बीच पनि केहीले छाता ओढेर त कहिले रु‰दै धर्नालाई निरन्तरता दिए।
यस क्रममा आन्दोलनका सहभागीले सरकारविरोधी तथा भ्रष्टाचारविरोधी नारा लगाइरहेका थिए। उनीहरूले ‘तीन करोड नेपालीको स्वास्थ्य ठूलो कि सभासदको लगानी?’, ‘चिकित्सक शिक्षा र स्वास्थ्यमा राजनीतीकरण बन्द गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
अनशनको नवौं दिनसम्म सरकार वार्तामा इमानदार रूपमा प्रस्तुत नभएपछि ‘सेभ गोविन्द केसी, सेभ आइओएम’ अभियानले डा. केसीका मागमा ऐक्यबद्धता जनाउन सर्वसाधारणसँग अपिल गरेको थियो।
विभिन्न कलेजमा एमबिबिएस पढिरहेका, एमबिबिएस तयारी कक्षा लिइरहेका विद्यार्थी तथा सर्वसाधारण र समाजका प्रतिष्ठित व्यक्तिहरूको कार्यक्रममा उल्लेख्य उपस्थिति थियो।
यसअघि ऐक्यबद्धता सभामा डा. केसीको अडियो सन्देश सुनाइएको थियो। सन्देशमा डा. केसीले ‘शिक्षा र स्वास्थ्य मौलिक हक भएकाले निःशुल्क र गुणस्तरीय हुनुपर्छ भनेर आफू अनशनमा रहेको’ बताएका थिए।
उनले विकृतिविरुद्धको लडाइँमा साथ दिन आएका सर्वसाधारणलाई धन्यवादसमेत दिए। ‘राज्यका निकायबाट पटक–पटक धोका पाएपछि म जनतासँग सहयोग माग्न आएको छु,’ उनले भने।
डा. केसी बचाउ अभियान कार्यदलका सदस्य सुमन आचार्यले ‘सरकारले सुन्ने कान नलगाएपछि पहिलो चरणमा ऐक्यबद्धता र दबाबका लागि सर्वसाधारणलाई आग्रह गरिएको’ बताएका छन्।
‘ऐक्यबद्धता जनाउन हस्ताक्षर अभियान पनि जारी छ। सोमबारसम्म हजारौंले हस्ताक्षर गरिसकेका छन्,’ उनले भने, ‘यो दबाबले पुगेन भने हामी ठूलो संख्यामा नागरिकलाई अभियानमा साथ दिन आह्वान गर्छौं।’
सभामा नेसनल रेजिडेन्ट एसोसिएसनका अध्यक्ष डा. रामचन्द्र सापकोटाले तीन करोड नेपाली जनताका सरोकार लिएर अनशनमा बसेका केसीलाई सरकारले पटक–पटक धोका दिएको बताए। निष्ठा र इमानदारीको बलमा सुरु भएको यो अभियान शिक्षा र स्वास्थ्य क्षेत्रको गुणस्तर सुधार हुने विश्वासपछि मात्र टुंगोमा पुग्ने उनको भनाइ छ।
‘यो आन्दोलन क्षमता भएर पनि पैसाको अभावमा पढ्न नपाउने तर पैसाको बलमा क्षमतै नभएकालाई पनि चिकित्सक बनाएर करोडौं कमाइरहेका मेडिकल माफियाविरुद्ध हो,’ चिकित्सक डा. नवीन शर्माले भने, ‘यसले देशमै ठूलो सामाजिक परिवर्तन ल्याउनेछ।’
आन्दोलन झन् चर्काउने
आमरण अनशनबीच ठूलो संख्यामा सर्वसाधारणको उपस्थितिपछि चिकित्सकहरूले सोमबारै भेला गरेर कार्यदल गठन गरेका छन्।
उनीहरूले चिकित्सक संघको संयोजकत्वमा त्रिवि शिक्षण अस्पताल र चिकित्सक विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का रेजिडेन्ट डाक्टर, सरकारी चिकित्सक संघ (गोदान) का चिकित्सकसमेत रहेको कार्यदल बनाएर आन्दोलन चर्काउने बताएका छन्।
यसबीच नेपाल चिकित्सक संघको आह्वानमा सोमबार देशभरका अस्पताल एवं क्लिनिकमा बाहिरै ओपिडी सेवा दिइयो। मंगलबार पनि यो कार्यक्रम जारी राख्ने संघले जनाएको छ। शिक्षण अस्पतालका रेजिडेन्टले भने मंगलबारदेखि आकस्मिकबाहेक सबै सेवामा काम छाड्ने घोषणा गरिसकेका छन्।
चिकित्सक संघले पनि बुधबार या बिहीबारदेखि आकस्मिकबाहेक सबै सेवा ठप्प पार्ने गरी कार्यक्रम आउन सक्ने भन्दै यसका लागि तयार रहन मातहत शाखालाई अनुरोध गरेको छ।
संघले मंगलबारदेखि देशभरका चिकित्सक एवं शाखालाई व्यवस्थित ढंगले रिले अनशन जारी राख्न पनि निर्देशन दिएको छ। राजधानीमा त्रिवि शिक्षण अस्पतालमा संघका अध्यक्ष डा. अञ्जनीकुमार झाकै नेतृत्वमा ४ बजेदेखि रिले अनशन सुरु गर्ने कार्यक्रम छ।
नागरिक दैनिकबाट
