समाचारबुधबार, चैत्र १८, २०७१
डाक्टर र प्रहरी बीच झडप
डा. केसीको मागप्रति समर्थन जनाउँदै नेपाल मेडिकल काउन्सिलमा धर्ना दिन पुगेका डाक्टर र प्रहरीबीच झडप भएको छ ।
काउन्सिल अध्यक्ष डा. जागेश्वर गौतमको राजीनामा माग गर्दै ज्ञापनपत्र बुझाउन गएका डाक्टरहरुलाई काउन्सिलभित्र जानबाट रोक्दा प्र्रहरी र डाक्टरहरुबीच झडप भएको हो ।
काठमाडौंको बाँसबारीस्थित काउन्सिलको कार्यालय अगाडि ज्ञापन पत्र बोकेका डाक्टरहरुमाथि प्रहरीले लाठि चार्ज गर्दा डा किशोर दत्त सहित ७ जना घाइते भएको मेडिकल स्टुडेन्ट सुमन आचार्यले जानकारी दिए । घाइते सबैलाई शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । डाक्टरहरुले काउन्सिल अध्यक्ष विरुद्ध नाराबाजी गरेका छन् ।
अनशनरत डा. केसीले मेडिकल काउन्सिलले मेडिकल कलेजहरुको अनुगमन राम्रो सँग नगरेको, त्रिवि पदाधिकारीसँग मिलेर मापदण्ड नपुगेका कलेजहरुमा विद्यार्थी सिट संख्या घटाउनुको साटो बढाएको भन्दै काउन्सिल अध्यक्षलाई कार्वाहीको माग गरेका छन् ।
भ्रष्ट पदाधिकारीलाई कार्वाही हुनै पर्छः डा. केसी
सरकारले त्रिवि पदाधिकारीलाई बर्खास्त गर्ने आफ्नो अधिकार नभएको भन्दै सावधानी पत्र पठाउने र छानविन आयोग गठन गर्ने जनाए पनि डा. केसीले भने त्रिवि पदाधिकारीलाई बर्खास्त गरेर कार्वाही हुनु पर्ने अडान राखेका छन् ।
“विगतमा पनि गलत काम गर्नेलाई सजाय नहुँदा दण्डहिनता बढदै गएको हो, त्रिविका पदाधिकारीलाई अहिले कार्वाही नगर्ने हो भने उनीहरुले फेरि चलखेल गरेर थप वेथिति ल्याउन सक्छन । अहिलेसम्म त्यस्तै अवस्था देखिएको छ ।” डा. केसीको भनाई उद्धृत गर्दै उनी निकट डा. जीवन क्षेत्रीले बताए ।
भ्रष्टहरुलाई कार्वाही नभएकै कारण डा. केसी पाँच पटकसम्म अनशन बस्नु परेको उनले बताए ।
१७ माघमा सरकारले राष्ट्रिय चिकित्सा स्वास्थ्य नीति नबन्दासम्म कुनै पनि मेडिकल कलेजलाई सम्बन्धन नदिने लगायतका डा. केसीका केही माग सम्बोधन गरिने बताए पनि विभिन्न पदाधिकारीहरुलाई बर्खास्त र कार्वाहीका माग तुरुन्तै पूरा गर्न नसकिने बताएपछि डा. केसीको यस्तो प्रतिक्रिया आएको हो ।
“कुलपतिका हैसियतले पनि प्रधानमन्त्रीले त्रिवि पदाधिकारीहरुलाई कार्वाही गर्न सक्नुहुन्छ भन्ने डा. केसीको माग छ, हामीले उहाँको माग वार्ता टोलीमार्फत प्रधानमन्त्रीसम्म पुर्याएका छौं,” डा. क्षेत्रीले भने ।
माग पूरा गराउन वार्ता र गृहकार्य हुँदै गर्दा केसीको स्वास्थ्य भने जटिल बन्दै गएको छ ।
“अहिलेसम्म डा. केसीले नै डिक्टेट गरिरहनु भएको छ, उहाँलाई उछिनेर अरुले सम्झौता गर्ने कुरा भएन । बोल्नै नसक्ने अवस्था आयो भने मात्रै अरुले मध्यस्थता गर्ने हो,” क्षेत्रीले भने ।
