समाचारशुक्रबार, चैत्र २०, २०७१
किर्ते नागरिकता बनाउने १२ जनालाई कैद सजाय
-श्रवणकुमार देव, राजविराज
किर्ते नागरिकता बनाएको ठहर गर्दै सप्तरी जिल्ला अदालतले एक जना प्रशासकीय अधिकृतसहित १२ जनालाई एक बर्षको कैद सजाय सुनाएको छ ।
प्रशासकीय अधिकृत, गाविस सचिव र एक जना प्रहरी सहायक निरीक्षकसहित १२ जनालाई एक बर्षको कैद र जनही रु. २० हजार जरिवाना सुनाएको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत तेजेन्द्रबहादुर कार्की, काचन गाविसका सचिव नवोनाथ मिश्र र प्रहरी चौकी काचनका प्रहरी सहायक निरीक्षक सत्यनारायण महतो तथा सनाखत बस्ने अन्य ९ जना सर्वसाधरणलाई सजाय सुनाएको हो ।
जिल्ला अदालतका न्यायाधीश रामप्रसाद अधिकारीको १९ चैतको इजलासले उनीहरुलाई कैद र जरिवानको फैसला गरेको हो ।
सनाखत बसेका काचन गाविसका शिबचरण यादव, बुद्विलाल दास, सतदेवी चमैनी, पंजागदेवी चौधरी, नन्दी यादव, चलितर दास तत्मा, कामेश्वर यादव, जिबछ ठाकुर शर्मा र होरिल यादवलाई समेत इजलासले कैद र फैसला सुनाएको अदालतले जनाएको छ ।
काठमाडौँ महानगरपालिका–१ बस्ने प्रल्हाद शम्शेरको छोरा ज्योतिशम्शेर राणाको नाममा सप्तरी काचन–२, ३, ४, ६ र ७ मा रहेको २४ बिघा जग्गा हडप्ने नियतले स्थानीय एक व्यक्तिलाई जग्गाधनी ज्योतिशम्शेरका नाममा झुटो विवरण पेस गरी नागरिकता बनाइदिएको अभियोगमा प्रशासकीय अधिकृत कार्की, गाविस सचिव मिश्र र असई महतोलाई प्रहरीले १० महिनाअघि नै पक्राउ गरी किर्ते नागरिकताको मुद्दा चलाएको थियो ।
