समाचारशनिबार, चैत्र २१, २०७१
चन्द्रनिगाहपुरमा मालपोत र नापी कार्यालय स्थापना गर्ने निर्णय फिर्ता
सरकारले रौतहटको चन्द्रनिगाहपुरमा मालपोत र नापी कार्यालय स्थापनासम्बन्धी निर्णयबाट विगत केही दिनदेखि असहज परिस्थिति उत्पन्न भएको भन्दै निर्णय फिर्ता लिएको जनाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक विज्ञप्ति जारी गरी जनतालाई सहजरुपमा नजिकबाट ती सेवा, सुविधा उपलब्ध गराउने उद्देश्य राखेकाले सम्बन्धित क्षेत्रका जनताका मागलाई समेत ध्यानमा राखी हाल भएको कार्यालय स्थानान्तरण नगरी थप नयाँ कार्यालयहरू स्थापना गरी सेवा सहज र छिटो उपलब्ध गराउन जिल्लाको चन्द्रनिगाहपुरलगायत देशका विभिन्न स्थानमा ती कार्यालय स्थापना गर्ने निर्णय गरिएको जनाएको छ ।
जनतालाई नजिकबाट सेवा उपलब्ध गराउने सरकारको नीति अनुरुपनै कार्यालय स्थापना गरिएको भए पनि रौतहटको गौरमा उत्पन्न परिस्थितिलाई ध्यानमा राखी सरकारको गत असोज ३० मा गरिएको चन्द्रनिगाहपुरमा मालपोत र नापी कार्यालयको स्थापना गर्ने निर्णय फिर्ता लिएको जानकारी गराउँदै प्रधानमन्त्री कार्यालयले मालपोत र नापीसँग सम्बन्धित कार्यहरू मालपोत र नापी कार्यालय गौरबाटै पूर्ववतरुपमा सञ्चालन हुने जानकारी पनि गराएको छ ।
