समाचारशनिबार, चैत्र २१, २०७१
युवा स्वरोजगारका लागि ५० करोडको कोष खडा गर्ने तयारी
उद्योगमन्त्री महेश बस्नेतले रु ५० करोडको ‘नवीन विचार कोष’ खडा गरी युवा स्वरोजगार कार्यक्रम ल्याउने तयारी भइरहेको बताएका छन् ।
काठमाडौँको काँडाघारीस्थित भीमेश्वर एकेडेमीको नवौँ वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उनले रु. ५० करोडको उक्त कोषबाट सुरुमा १५ हजार युवायुवतीलाई स्वरोजगारका लागि सहयोग गरिने बताए ।
नयाँ उद्योग नीति बनाउन विज्ञ र सरोकारवालासँग आवश्यक परामर्श भइरहेको जानकारी दिँदै उहाँले आफ्नै स्रोत र साधनको उपयोग गर्न र मुलुकमा लगानीमैत्री वातावरणको निर्माण गर्नसमेत सहयोग पुग्ने बताए ।
