समाचारशनिबार, चैत्र २१, २०७१
प्रक्रिया अघि बढाउने सत्तासाझेदार दलहरुको निर्णय
सत्तासाझेदार दलहरुको बैठकले सहमतिका लागि वार्ता र संवादलाई जारी राख्दै प्रक्रियाबाट संविधान लेखन कार्यलाई अघि बढाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा २१ चैत साँझ बसेको सत्ता साझेदार दल नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी तथा सरकारलाई समर्थन गरिरहेका साना दलहरुसहित स्वतन्त्र सभासदको बैठकले उक्त निर्णय गरेको हो ।
आसन्न संविधानसभा बैठकलाई ध्यानमा राखेर कसरी अघि बढ्ने भन्नेमा बैठकमा छलफल भएको थियो ।
सहमतिका लागि लामो समय पर्खंदासमेत सकारात्मक परिणाम नआएपछि संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले २३ चैतमा संविधानसभाको बैठक बोलाइसकेका छन् ।
बैठकपछि नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले संविधानको लेखनलाई अघि बढाउने सन्दर्भमा प्रक्रिया र वार्तालाई सँगसँगै अघि बढाउने सहमति भएको जानकारी दिए ।
उनले भने, “हामी हाम्रा कुरालाई संविधानसभा बैठकमा राख्छौँ, भिन्न विचार राख्नेका पनि कुरा सुन्छौँ ।”
एमाओवादीको नेतृत्वमा रहेको मोर्चासँग प्रधानमन्त्रीले पटकपटक विभिन्न तहमा वार्ता अघि बढाएको जनाउँदै खनालले वार्ताको आवश्यक पहल भएन, वार्ता हुन सकेन भनेर आन्दोलनरत दलहरुबाट आएको कुरा गलत भएको बताए ।
नेपाली कांग्रेसका नेता रमेश लेखकले आन्दोलन र बन्द हडतालले संविधान बनाउने कामलाई सहयोग नगर्ने भएकाले बन्द हडताल छोडेर मुलुकलाई यथाशक्य छिटो लोकतान्त्रिक संविधान दिने कार्यमा जुट्न आन्दोलनरत दललाई आह्वान गर्ने निर्णय भएको जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधव नेपाल, राप्रपाका अध्यक्ष पशुपतिशम्शेर जबरा, नेकपा मालेका महासचिव सिपी मैनाली, परिवार दलका अध्यक्ष एकनाथ ढकाल र स्वतन्त्र सभासद्हरुको समेत उपस्थिति थियो ।
