समाचारसोमबार, चैत्र २३, २०७१

एमालेले तीन दिन झन्डा आधा झुकाउने

हिमालखबर

dhakalनेकपा एमालेको २३ चैतमा बसेको स्थायी कमिटीको आकस्मिक बैठकले दिवंगत नेता रामनाथ ढकालप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक–सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ ।

बैठकले स्व. ढकालको सम्मानमा तीन दिनसम्म देशभरिका पार्टी कार्यालयमा पार्टी झन्डा आधा झुकाउने, औपचारिक कार्यक्रम तीन दिनसम्म आयोजना नगर्ने, पार्टी कार्यालयमा शोक पुस्तिका राख्ने र ४ वैशाखमा श्रद्धाञ्जलि सभा आयोजना गर्न देशभरिका सबै जिल्ला कमिटीलाई निर्देशित गर्ने निर्णयसमेत गरेको छ ।

यसैगरी, एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोलिटब्यूरो सदस्य तथा लुम्बिनी अञ्चल इन्चार्ज ढकालको निधनले पार्टीलाई धेरै क्षेत्रमा अपूरणीय क्षति पुगेको धारणा राखेका छन ।

अध्यक्ष ओलीले आज जारी गरेको शोक विज्ञप्तिमा ढकाल पार्टीको अत्यन्त जुझारु, गतिशील र क्षमतावान् युवानेता भएको र उनले विद्यार्थी आन्दोलन, पार्टी सङ्गठन विस्तार, निरङ्कुशतन्त्रविरुद्ध सञ्चालित लोकतान्त्रिक आन्दोलन र संसदीय जिम्मेवारीजस्ता कामका सबै क्षेत्रमा कुशल नेतृत्व दिन र गहिरो प्रभाव छाड्न सफल भएको उल्लेख छ ।

अध्यक्ष ओलीले दुःखको यस घडीमा एमाले केन्द्रीय कमिटीका तर्फबाट ढकालप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् ।

स्वाइन फ्लु, निमोनिया, क्षयरोगले ग्रस्त ढकालको २३ चैतमा काठमाडौंको ग्रान्डी अस्पतालमा निधन भएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>