समाचारसोमबार, चैत्र २३, २०७१
‘बहुमतमा संविधान बनाए अर्को द्वन्द्व’
एमाओवादी नेता बाबुराम भट्टराईले नेपाली कांग्रेस र नेकपा एमालेले बहुमतको दम्भ देखाएर संविधान जारी गर्नखोजे मुलुक फेरि अर्को द्वन्द्वमा जाने चेतावनी दिएका छन् ।
सहमतिमा निर्माण गरिएको संविधानले सबैका हकअधिकार सुनिश्चित गर्ने बताउँदै भट्टराईले सङ्ख्याको दम्भ देखाए पुनः अर्को विद्रोह हुन सक्ने धम्की दिए ।
२३ चैतमा कुश्मा बजारमा आयोजित कार्यक्रममा उनले बहुमतका आधारमा संविधान जारी भएका उदाहरण विश्वका कुनै पनि मुलुकमा नभएको दाबी गर्दै प्रक्रिया खारेज गरेर सहमतिमै संविधान निर्माण गर्ने वातावरण सिर्जना गर्न आग्रह गरे ।
कांग्रेस एमालेले २०४७ सालकै संविधान ब्युँताउन लागेको आरोप लगाउँदै त्यसविरुद्ध आफूहरु सडकमा जान बाध्य भएको भट्ट२राईको भनाई थियो ।
उनले आन्दोलनका कार्यक्रम शान्तिपूर्ण हुने बताउँदै आन्दोलनलाई हिंसात्मक हुन नदिन सबै कार्यकर्तालाई निर्देशन दिएकोसमेत जानकारी दिए ।
भट्टराईले जेठ १५ भित्र संविधान जारी गर्ने र सहमतिमै संविधान निर्माण गर्ने प्रतिबद्धता आए आन्दोलनका कार्यक्रम तत्काल रोक्ने पनि बताएका थिए ।
रासस
