समाचारसोमबार, चैत्र २३, २०७१
संविधानसभाको प्रक्रिया रोकिन्न: प्रवक्ता बडू
नेपाली कांग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद बडूले संविधान निर्माणका लागि शुरु भएको प्रक्रिया नरोकिने बताएका छन् ।
प्रेस युनियन बागलुङले २३ चैतमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै प्रवक्ता बडूले प्रक्रियासँगै वार्ता र संवाद पनि जारी राखिने उल्लेख गरे ।
उनले परिणामविहीन वार्ताका लागि धेरै समय पर्खिन नसकिने भन्दै सहमति नजुटे दुई तिहाइ बहुमतबाट संविधान जारी हुने बताएका थिए । “आपसी सहमति, सम्झौता र एकताबाटै संविधान ल्याउनुपर्छ” उनले भने, “तर, सहमति हुनै नसक्ने अवस्थामा अधिकतम बहुमत जुटाएर संविधान जारी गर्नुको विकल्प छैन ।”
“निर्वाचन प्रणाली, न्याय प्रणाली र शासकीय स्वरुपमा साझा सहमति जुटेको छ, खाली सङ्घीयतामा जाँदा प्रदेशको नाम, सीमा र सङ्ख्याको मात्र विवाद बाँकी छ”, प्रवक्त बडूले भने ।
एमाओवादीले जातीय पहिचानसहितको नामकरण र मधेशी दलको तराई अलग्गै राख्ने अडानका कारण सहमति बन्न नसकेको भन्दै उनले पूर्वका तीन र पश्चिमका दुई जिल्लाबारे देखिएको विवादलाई जनमत सङ्ग्रहमार्फत हल गर्न सकिने बताएका थिए ।
रासस
