समाचारमंगलबार, चैत्र २४, २०७१
बन्दले सर्वसाधारणलाई सास्ती, काेटेश्वरमा ट्याक्सी जलाइयाे
एमाअाेवादी नेतृत्वमा रहेको ३० दलीय मोर्चाले आह्वान गरेको नेपाल बन्दबाट सर्वसाधारण यात्रुले बढी सास्ती खेप्नु परेको छ ।
उपत्यकाबाहिरबाट रात्रिबसमा चढेर राजधानी प्रवेश गरेका यात्रु स्थानीय रुटका सवारीसाधन र ट्याक्सी नचल्दा गन्तव्यमा पुग्न नपाएर बिचल्लीमा परेका छन् । त्यस्ता यात्रुहरु कलङ्की, बल्खु, कोटेश्वर, गौशाला, सातदोबाटो, चक्रपथ, चाबहिललगायत क्षेत्रमा ठूलो सङ्ख्यामा अन्योलमा परेका छन् ।
साथमा रहेको झोलातुम्ला र केटाकेटीको व्यवस्थापन गरेर गन्तव्यमा पुग्न उनीहरुलाई निक्कै मुस्किल परिरहेको देखिन्छ । बन्दकर्ताले आज बिहान सबेरै कोटेश्वर क्षेत्रमा ट्याक्सी जलाउनुका साथै अन्य केही सवारीसाधनको तोडफोड गरेपछि सडकमा सवारीसाधन ज्यादै पातलो रुपमा गुडेको देखिन्छ ।
आन्दोलनकारीबाट हुनसक्ने तोडफोडलगायत कार्यलाई निस्क्रिय तुल्याउन र शान्तिसुरक्षा कायम गर्न सडकमा बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
बन्द तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले काठमाडौँ उपत्यकाबाट अहिलेसम्म १५ आन्दोलनकारीलाई नियन्त्रणमा लिइसकेको महानगरीय प्रहरी आयुक्तको कार्यालयबाट थाहाभएको छ ।
बन्दकर्ताले विहानै कोटेश्वरमा विहान पाँच नै नबज्दै ट्याक्सी जलाएकाे छ । त्रिभुवन विमानस्थलमा आफन्तलाई पुर्याएर ललितपुरतर्फ फर्किरहेका हेटौँडा निवासी नीरज बानियाँको बा १ ज १८७७ नं को ट्याक्सीमा आन्दोलनकारीले पेट्रोल छर्किएर आगजनी गरेका थिए ।
यात्रु बनेर पाटन अस्पताल जाने भनी ट्याक्सीलाई रोकेर अपरिचित दुई आन्दोलनकारीले पेट्रोल छर्केर आगजनी गरेका हुन् ।
आगजनीबाट ट्याक्सी पूर्णरुपले क्षति भएपछि चालक बानियाँले अब आफूले परिवार कसरी पाल्ने भनेर हारगुहार गर्दै रोइरहेका छन् ।
