समाचारमंगलबार, चैत्र २४, २०७१
निजी क्षेत्रको आग्रह, ‘बन्द फिर्ता लिनुहाेस्’
नेपाल उद्योग वाणिज्य महासङ्घले एमाअाेवादी नेतृत्वकाे तीस दलीय मोर्चाले घोषणा गरेको आमहडतालको कार्यक्रम फिर्ता लिन एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग आग्रह गरेको छ ।
एमाओवादी अध्यक्ष दाहाललाई आज उनकाे निवास लाजिम्पाटमा भेट गर्दै महासङ्घले बन्दले जनजीवन प्रभावित भएको र गरिखाने वर्गलाई समस्यामा पारेको अवगत गराएको थियो ।
एमाओवादी अध्यक्ष दाहालले आफूले तीस दलीय मोर्चाको आजको बैठकमा बन्द फिर्ता गर्ने वा नगर्ने भन्ने विषयमा छलफल गर्ने बताए । महासङ्घका कार्यबाहक अध्यक्ष पशुपति मुरारकाले बन्द फिर्ता लिन आफूहरुले एमाओवादी अध्यक्ष दाहाललाई आग्रह गरेकाे बताए ।
सहमतिका आधारमा संविधान निर्माण गर्नुपर्छ भन्नेमा महासङ्घको सहमति भए पनि बन्द फिर्ता गर्न आफूहरुले आग्रह गरेको उनकाे भनाई छ ।
“अध्यक्ष दाहालले बन्द केही कम गर्न सकिने विषयमा आश्वासन दिनुभएको छ । हामी आशावादी छाैं, बन्द हडताल फिर्ता हुन्छ,” कार्यबाहक अध्यक्ष मुरारकाले भने ।
अध्यक्ष दाहालसँग छलफल गर्न नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र स्वतन्त्र ऊर्जा उत्पादक सङ्घका प्रतिनिधि पनि लाजिम्पाट पुगेका थिए ।
