समाचारबुधबार, चैत्र २५, २०७१
उपनिर्वाचनमा गोप्य अनुगमन
बागलुङ क्षेत्र नं १ मा हुने संविधानसभा सदस्य उपनिर्वाचनको दुई तहबाट अनुगमन हुने भएको छ ।
निर्वाचन आयोगले बृहत् र सूक्ष्म तरिकाबाट अनुगमन व्यवस्था मिलाएको छ । उपनिर्वाचन स्वच्छ, धाँधलीरहित र विश्वसनीय बनाउन अनुगमनलाई प्रभावकारी बनाइने निर्वाचन आयुक्त इला शर्माले बताइन् ।
सहसचिवस्तरको बृहत् अनुगमन टोली र आयोगकै पदाधिकारी, निजामती र गुप्तचर निकायका कर्मचारी सम्मिलित सूक्ष्म अनुगमन टोली गोप्य रुपमा परिचालन हुने जनाइएको छ ।
“यो उपनिर्वाचनमा आयोगले सुक्ष्म अनुगमनको व्यवस्था गरेको छ, सार्वजनिक नहुने यस टोलीको सिधा सम्पर्क आयोगसँग हुन्छ”, शर्माले भने, “कुनै पनि घटना हुनासाथ त्यस टोलीले केन्द्रमा रिपोर्ट गर्छ, हामी तत्काल सम्बोध गर्छौं ।”
उनका अनुसार आयोगले पहिलो पटक यस्तो अनुगमन प्रणालीको व्यवस्था गरेको हो । त्यस्तो गोप्य अनुगमनकर्ताको टोलीले निर्वाचन अवधिभर र पछिको अवस्थाका बारेमा केन्द्रमा रिपोर्टिङ गर्ने जनाइएको छ । अनुगमनकर्ताको टोलीले दिएको प्रतिवेदनका आधारमा आयोगले कुनै पनि कदम चाल्न सक्ने शर्माले बताइन् ।
