समाचारबुधबार, चैत्र २५, २०७१
‘अाम हड्ताल फिर्ता लिनु सहमति जुट्ने संकेत’
एमाअाेवादी नेतृत्वकाे ३० दलीय मोर्चाले पूर्वघोषित आमहडतालका सम्पूर्ण कार्यक्रम फिर्ता लिनुलाई सहमतिको सङ्केतको रूपमा लिन सकिने विभिन्न दलका नेताहरुले बताएकाछन् ।
रिपोर्टर्स क्लबले गरेकाे कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले आन्दोलनका कार्यक्रम फिर्ता लिनुले सहमतिका लागि बाटो खुला गरेकाे बताए । उनले भने, “३० चैतभित्र सहमति नभएको खण्डमा संविधानसभा नियमावलीअनुरूप प्रक्रियामा जानुको विकल्प छैन ।”
सहमतिका आधारमा संविधान जारी गर्न दबाब दिने भन्दै मोर्चाले २४, २५ र २६ चैतमा नेपाल बन्दलगायत आमहड्तालको कार्यक्रम सार्वजनिक गरेको थियो । तर, २४ चैत साँझ बसेकाे मोर्चाको बैठकले सत्तारुढ दलले संविधानसभाको बैठक ३० चैतका लागि तय गरेकाले नयाँ राजनीतिक परिस्थिति देखापरेको तथा नागरिक समाज र उद्योगी व्यवसायीका तर्फबाट पनि बन्द फिर्ता लिन आग्रह गरेको भन्दै तत्कालका लागि फिर्ता लिने निणर्य गरेको थियो ।
नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले राजनीतिक रूपमा कसैले जित्ने र हार्नेभन्दा पनि सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै जतिसक्दो चाँडो संविधान जारी गर्न दल र दलका नेताहरू व्यक्तिगत र पार्टीगत स्वार्थभन्दा माथि उठेर निर्णय गर्नुपर्ने बताए ।
एमाअाेवादीका सचिव टोपबहादुर रायमाझीले सहमतिका लागि अझै पनि समय रहेको हुँदा संविधानसभाको बैठक स्थगित गरेर छलफलमा जुट्न दलका नेताहरुलाई आग्रह गरे । नेकपा–माओवादीका सचिव देव गुरुङले वर्तमान संविधानसभाले जनताको संविधान दिन नसक्ने भन्दै त्यसलाई विघटन गरी सर्वपक्षीय राजनीतिक सम्मेलन गुर्नपर्ने माग गरे ।
