समाचारशुक्रबार, कार्तिक १७, २०६९
राष्ट्रपतिको दबाबपछि दलहरु निर्वाचनबारे छलफलमा
१७ कार्तिक बिहान राष्ट्रपतिले दलका नेताहरुलाई आफ्नै निवासमा बोलाएर छिटै सहमति गर्न दवाब दिएका छन् । राष्ट्रपतिको दवाब पछि प्रमुख दलहरुबीच आजै बैठक बस्ने भएको छ ।
बैठकबाट बाहिरिएपछि एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफूहरुले दुई तीन दिनभित्र सहमति गर्ने प्रतिवद्धता जनाएको सञ्चारकर्मीलाई जानकारी दिए । “उहाँले अवस्था एकदमै गम्भीर छ, छिटो सहमति गर्नुस भन्नुभयो,” दाहालले भने, “बजेट र राजनीतिक निकासमा सहमति गर्न राष्ट्रपतिले आग्रह गर्नुभयो ।”
उपप्रधानमन्त्री विजयकुमार गच्छदारले पुनःस्थापना अब संभव नभएको र चुनावमा जाने बारेमा आजै बस्ने प्रमुख दलहरुको बैठकमा सहमति हुने बताए । बैठकले निर्वाचनको प्रक्रिया, सदस्य संख्या जस्ता विषयमा छलफल हुने उनको भनाई थियो ।
बैठकमा सहभागी नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले सरकारमा रहेका दल र प्रतिपक्षमा रहेका दलहरुबीच सहमति हुन नसकेकोमा राष्ट्रपतिले चिन्ता व्यक्त गरेको बताए । राष्ट्रपतिले अब मुलुकले आर्थिक संकट थेग्न नसक्ने भन्दै बजेटलगायतका विषयमा छिटै सहमति गर्न आग्रह गरेको खनालले जानकारी गराए ।
