समाचारबुधबार, चैत्र २५, २०७१
नक्कली डाक्टर मुद्दाको पेशी १५ वैशाखमा

रातो घेरामा नक्कली डाक्टर एसे लामा।
जिल्ला अदालत काठमाडौंले हुम्लामा स्वास्थ्य सेवा सञ्चालन गर्न संकलन गरिएको सात करोड रुपैयाँ हिनामिना गर्ने नक्कली डाक्टर एसे लोडेई लामाको ठगी मुद्दामा नयाँ पेशी तोकेको छ ।
जिल्ला अदालतका श्रेस्तेदार श्रीप्रसाद सन्जेलले आगामी १५ वैशाख २०७२ मा पेशी तोकिएको जानकारी दिए ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश अर्जुन अधिकारीले २७ असोज २०७१ मा उनलाई थुनामा राखेर कारबाही गर्ने आदेश दिएको भए पनि सर्वोच्चका प्रधानन्यायाधीश रामकुमार प्रसाद साह र जगदीश शर्मा पौडेलको २० फागुनको आदेशपछि उनी जेलमुक्त भएका थिए ।
नक्कली हस्ताक्षर सहित सबुद प्रमाणका आधारमा लामालाई जेल पठाउन जिल्ला अदालतले दिएको आदेशलाई पुनरावेदन अदालत पाटनका न्यायाधीशद्वय विदुरविक्रम थापा र मनोजकुमार शर्माको इजलाशले १४ कात्तिकमा सदर गरेको थियो ।
तर, जिल्ला र पुनरावेदन अदालतको निर्णय उल्ट्याउँदै ‘तत्काल प्राप्त प्रमाणबाट निज कसूरदार देखिन नआएको’ भनेर सर्वोच्चले उनलाई छोड्यो ।
लामाका कसुर र उनलाई छोड्ने सर्वोच्चको आदेशबारे हिमालमा विस्तृत रिपोर्ट प्रकाशित भएको थियो । (हे. सम्मानीय प्रधानन्यायाधीश, यस्तो पनि हुन्छ ?)
