समाचारबुधबार, चैत्र २५, २०७१
एमाअाेवादी मोर्चा फुटकाे संघारमा
पूर्वनिर्धारित तीनदिने आमहड्ताल फिर्ता लिएलगत्तै एमाओवादी नेतृत्वको ३० दलीय मोर्चामा मतभेद चुलिएको छ ।
२४ चैतदेखि आह्वान गरिएको तीनदिने बन्दको पहिलो दिन साँझ बसेको समीक्षा बैठकबाट बाँकी दुई दिनको बन्द फिर्ता लिएपछि मोर्चामा आवद्ध दलहरुबीच मतभेद बढेको हो । मोर्चाकाे एक घटक मधेशी जनाधिकार फोरम नेपालले विज्ञप्ती जारी गरेरै असुन्तष्टि जनाएकाे छ ।
एमाओवादी र मधेशी जनाधिकार फोरम लोकतान्त्रिक बाहेक अन्य दलहरु बन्द फिर्ता गराउन नहुने पक्षमा थिए । तर, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले राखेको प्रस्ताव अनुसार बन्द फिर्ता लिएपछि मोर्चा फुट्न सक्ने अवस्थामा पुगेको छ ।
संघीय लिम्बुवान पार्टीका अध्यक्ष कुमार लिङदेनले केहीदिनभित्र आम हड्ताल फिर्ता लिनुपर्ने कारण प्रष्ट नपारे मोर्चा फुट्ने बताए । उनले भने, ‘‘मोर्चाका २८ दलले एमाओवादी र मधेशी जनाधिकार फोरमलाई छोड्न सक्छ । त्यसबारे तयारी सुरु भइसकेको छ ।’’
बन्द फिर्ता लिएपछि २५ चैत दिनभर मोर्चामा आवद्ध दलहरुको आन्तरिक बैठक बसेको छ । उनीहरुले मोर्चाको आगामी बैठकमा बन्द फिर्ता लिनुपर्ने कारण माग गर्ने लिङदेनले बताए ।
एमाओवादी पनि साना दलहरुसँगको मोर्चा छोड्न सक्ने मनसायमा पुगेको छ । २५ चैतमा आयोजित एक कार्यक्रममा एमाओवादीका सचिव टोपबहादुर रायमाझीले मोर्चा फुट्नसक्ने जनाए । उनले भने, ‘‘मोर्चा फुट्न अस्भाविक होइन, सबै पार्टीको ठेक्का लिन सकिदैन ।’’
