समाचारबिहीबार, चैत्र २६, २०७१

सप्तरीमा फेरि भीषण आगलागी, १५० घर जले

हिमालखबर

-श्रवणकुमार देव, राजविराज

सप्तरी कंचनरुप नगरपालिकामा भीषण आगलागी भएको दुई साता नबित्न मल्हनियाँ गाविसमा अर्काे भीषण आगलागी भएको छ ।

२६ चैतको दिउँसो भएको आगलागीबाट ७२ परिवारको १५० घर जलेर नष्ट भएको छ । आगलागीमा परी दुई जना गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार दिउँसो २ बजेतिर मल्हनियाँ–५, का दशरथ यादवको घरबाट शुरु भएको आगोले वस्ती नै सखाप पारेको छ । तीब्र गतिमा हावा बहिरहेको समयमा आगलागी भएकाले धेरै क्षति भएको घट्नास्थलमा पुगेका प्रमुख जिल्ला अधिकारी बिरेन्द्र यादवले बताए ।

आगलागीको सूचना पाए लगत्तै राजविराज नगरपालिकाबाट बारुण यन्त्र पुगेपनि बाटो नभएका कारण आगलागीलाई चाँडै नियन्त्रणमा लिन समस्या भएको उनले बताए । आगोले भीषण रुप लिएपछि सुनसरीको इटहरी नगरपालिकाबाट समेत बारुण यन्त्र मगाएपछि साँझ ५ः३० बजेबाट आगो पूर्ण रुपमा नियन्त्रणमा आएको छ ।

आगलागीले एक गाई, एक राँगो र तीन वटा बाख्राको जलेर मृत्यु भएको छ भने ४० बर्षीय भुवनेश्वर यादव र २६ बर्षीय मनोज यादव आगो निभाउने क्रममा घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

आगलागीले रु. पाँच करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । प्रमुख जिल्ला अधिकारी यादवले अग्निपीडितलाई तत्कालै केहि रात उपलब्ध गराइने बताए ।

नेपाल पत्रकार महासंघ, सप्तरीले भने अग्निपीडितका लागि कोष स्थापना गर्ने र तत्कालै केहि सहयोग उपलब्ध गराउने अध्यक्ष प्रकाश खतिवडाले जानकारी दिए । आगलागीले गाउँ नै सखाप भएपछि त्यहाँका बासिन्दाहरु खुल्ला आकाशमुनी बस्न बाध्य भएका छन् । उनीहरुबीच रुवाबासी चलेको छ ।

यसअघि, १२ चैतमा जिल्लाको कंचनरुप नगरपालिका ६ पडेमारामा आगलागी हुँदा ३३ परिवारको ७९ घर खरानी भएको थियो भने एक जनाको जलेर ज्यान गएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>