समाचारशुक्रबार, चैत्र २७, २०७१
राप्रपा नेपालद्वार संसदको हिउँदे अधिवेशन माग
राप्रपा नेपालले संसदको हिउँदे अधिवेशन अविलम्ब बोलाउन माग गर्दै प्रधानमन्त्री सुशील कोइरालालाई ज्ञापनपत्र बुझाएको छ ।
२७ चैतमा राप्रपा नेपालका अध्यक्ष कमल थापा नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री सुशील कोइरालालाइ भेटी संसदको हिउँदे अधिवेशन नहुँदा जनताको पक्षमा आवाज उठाउने तथा सरकारलाई उत्तरदायी बनाउने प्रतिपक्षको अधिकार हनन हुन पुगेको भन्दै अविलम्ब संविधान बमोजिम व्यबस्थापिका संसदको हिउँदे अधिवेशन बोलाउन माग गरिएको छ ।
ज्ञापन पत्रमा संसदीय प्रजातन्त्र भएको मुलुकमा साधारणतया बर्षको दुई पटक संसदको अधिवेशन बस्ने परम्परा रहेको र नेपालमा पनि ६ दशकदेखि चलेको परम्परा अहिले रोकिन पुगेको उल्लेख गरिएको छ ।
“बर्षे अधिवेशन मुलतः सरकारको नीति, कार्यक्रम र बजेटमा केन्द्रीत रहने हुँदा हिउँदे अधिवेशनलाई विधेयक र जनसरोकारका बिषयहरुमा छलफल, ध्यानाकर्षण र निर्णयहरु गर्ने अवसरको रुपमा लिने गरिन्छ,” विज्ञप्तिमा भनिएको छ, “अहिले पनि हाम्रो व्यबस्थापिका संसदमा कैयौं बिधेयकहरु अलपत्र अवस्थामा छन् भने शान्ति सुरक्षा, महंगी, गरिबी, भ्रष्टाचार, बेरोजगारी, बलात्कार जस्ता समस्याहरू बारे सरकार मौन रहेकोमा राप्रपा नेपाल गम्भीर चिन्ता प्रकट गर्दछ ।”
ज्ञापनपत्र ग्रहण गर्दै प्रधानमन्त्री कोइरालाले राप्रपा नेपालले प्रजातन्त्रको संस्थागत विकासका लागि गरेको प्रयासको आफू सधैं प्रसंशक रहेको र ज्ञापनपत्रमा उल्लेखित विषयमा आफू अत्यन्त सकारात्मक रहेको बताए ।
प्रधानमन्त्रीले आजै सरकारका दुई मन्त्रीलाई आफूले निर्देशन दिने र प्रक्रिया अघि बढाउने पनि बताए ।
