समाचारशुक्रबार, चैत्र २७, २०७१
शीर्ष नेताहरु बागमती सफाई महाअभियानमा
बागमती सफाइ महाअभियानमा प्रधानमन्त्री सुशील कोइराला, मन्त्री, प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु शनिवार विहान ६ बजे बागमतीकाे विभिन्न ठाउँमा सहभागी हुँदैछन् ।
याे महाअभियानमा प्रमुख राजनीतिक दलले छुट्टाछुट्टै्र टोली परिचालन गरेका छन् । प्रमुख तीन राजनीतिक दलले आ–आफ्ना नेता तथा कार्यकर्तालाई अभियानमा सहभागी हुन निर्देशन दिइसकेका छन् र शीर्ष नेताहरुले पनि सो अभियानमा सक्रिय सहभागी हुने जनाइसकेका छन् ।
मुलुकले नै महाअभियानको रुपमा चित्रण गरेर सफाइबारे सकारात्मक सन्देश दिन लागेकाले सबैले आ–आफ्ना कार्यकर्तालाई सहभागिताका लागि परिचालन गर्ने भएका हुन् ।
बागमती सफाइको महाअभियान विगत ९९ हप्तादेखि सञ्चालनमा रहेको छ । मानव सभ्यताको अनुपम नमुनाको रुपमा रहेको बागमती नदीलाई सफा बनाउन सबै राजनीतिक दल, नागरिक समाज, पेसागत सङ्घ तथा सङ्गठनले सक्रिय सहभागिता जनाउँदै आएका छन् । सफाइ महाअभियान एक सय हप्ता पुगेको अवसरमा शनिबार बिहान वागमती नदीमा ५६ किलोमिटर लामो मानव साङ्लो बनाइने भएको छ ।
शनिबार बिहान सात बजे बागमतीको मुहान सुन्दरीजलदेखि चोभारको सुन्दरीघाटसम्मको २८ किलोमिटर क्षेत्रमा ५० हजारभन्दा धेरै सहभागी भई मानव साङ्लो बनाउने भएपछि राजनीतिक दलले पनि आफ्ना नेता तथा कार्यकर्ता परिचालन गरेका हुन् ।
उपसभापति पौडेल सानेपामा
सत्तारुढ नेपाली कांग्रेसले महाअभियानमा सहभागी हुन आफ्ना नेता कार्यकर्तालाई सहभागी हुन निर्देशन दिइसकेको छ । कांग्रेस उपसभापति रामचन्द्र पौडेल नेतृत्वको टोलीले सानेपा क्षेत्रमा सरसफाइ अभियानमा सहभागी हुने भएको छ ।
कांग्रेसले आफ्ना सभासद्लाई पायक पर्ने स्थानमा सहभागी हुन निर्देशन दिएको छ ।
अध्यक्ष ओलीको टोली थापाथलीमा
नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा एक टोली नै सहभागी हुनेछ । अध्यक्ष ओली नेतृत्वको टोली थापाथली क्षेत्रमा खटिनेछ ।
उक्त टोलीमा उपाध्यक्ष भीमबहादुर रावल, उपमहासचिव विष्णु पौडेल, सचिवद्वय प्रदीप ज्ञवाली र भीम आचार्य हुनुहुन्छ । यस्तै सम्पूर्ण सभासद् र अन्य नेता तथा कायर्कर्तालाई पनि थापाथलीमा सहभागी हुन निर्देशन दिएको केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।
बल्खुमा वरिष्ठ नेता खनाल
यस्तै बल्खुमा वरिष्ठ नेता झलनाथ खनाल, अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहरा, उपाध्यक्षहरु युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल, सचिव पृथ्वी सुब्बा गुरुङ, स्थायी कमिटी सदस्य छविलाल विश्वकर्मा, पोलिटब्यूरो सदस्य भानुभक्त ढकाल तथा केन्द्रीय सदस्यहरु कृष्णगोपाल श्रेष्ठ, राधाकृष्ण मैनाली, सूर्य थापा, जीवनराम श्रेष्ठ र बिना श्रेष्ठलगायत अन्य नेता तथा कार्यकर्ताहरु सहभागी हुनेछन् ।
सङ्खमूलमा बरिष्ठ नेता नेपाल
सङ्खमूल क्षेत्रमा नेता माधवकुमार नेपाल स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने, पोलिटब्यूरो सदस्यहरु विष्णु रिमाल, बिन्दा पाण्डे र सानु श्रेष्ठ, नेताहरु सिद्धिलाल सिंह र गोपाल शाक्य तथा केन्द्रीय सदस्यहरु ठाकुर गैरे, सावित्रा भुसाल, रामकुमारी झाँक्री, रामकुमार ज्ञवाली र सुशीला नेपाललगायत अन्य नेता तथा कार्यकर्ताहरु सहभागी हुनेछन् ।
काठमाडौंं, ललितपुर, भक्तपुर र विशेष जिल्ला कमिटीलगायतका स्थानीय नेतृत्वसँग समन्वय गरी आफूलाई पायक पर्ने तोकिएका स्थानमा सुन्दरीजलदेखि चोभारसम्म बागमती सरसफाई अभियानमा सहभागी हुन पार्टी र जनसङ्गठनका सबै नेता तथा कार्यकर्तालाई निर्देशन दिएको सचिव श्रेष्ठले जानकारी दिए ।
एमाओवादीका वरिष्ठ नेता भट्टराई बागमती पुलमा
यस्तै, एमाअाेवादीका अध्यक्ष पुष्पकमल दाहाल सहभागी हुने बताइए पनि स्थान भने टुङ्गो लागिसकेको छैन । अध्यक्ष दाहालका स्वकीय सचिव चूडामणि खड्काकाअनुसार अध्यक्ष दाहाल सहभागी हुनुहुनेछ तर स्थान भने किटान गरिसकिएको छैन । एमाओवादी महासचिव कृष्णबहादुर महराले एक प्रेस विज्ञप्तिमार्फत महाअभियानमा सहभागी हुन निर्देशन दिएका छन् ।
एमाअाेवादीका वरिष्ठ नेता डा बाबुराम भट्टराई वागमती पुल आसपासको क्षेत्रमा सहभागी हुनेछन् । एमाओवादीको संसदीय दलका प्रमुख सचेतक गिरिराजमणि पोखरेलले आफूलाई पायक पर्ने स्थानमा सहभागी हुन सभासद्हरुलाई निर्देशन दिएकाे बताए ।
सभाध्यक्ष नेम्वाङ र प्रमुख सचेतकहरु थापाथली–कुपण्डोलमा
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ नेतृत्वका प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरु थापाथली कुपण्डोल क्षेत्रमा रहनुहुने छ । सभामुख नेम्वाङले संसद् सचिवालयका सम्पूर्ण कर्मचारीलाई समेत सोही क्षेत्रमा परिचालन हुन निर्देशन दिइएको छ ।
नेकपा–माओवादीले पनि महाअभियानमा सहभागी हुन आफ्ना नेता तथा कार्यकतालाई अपिल गरेको छ । सो पार्टीका प्रवक्ता पम्फा भुसाल विश्वनिकेतन नजिकै सङ्कटा पुल क्षेत्रमा सहभागी हुनेछिन् ।
प्रधानन्यायाधीश पशुपति–तिलगङ्गा क्षेत्रमा
सर्वोच्च अदालतले प्रधानन्यायाधीश रामकुमार प्रसाद साह नेतृत्वको टोली पशुपति तिलगङ्गा क्षेत्रमा सहभागी हुनेछन् । सर्वोच्चका सहायक प्रवक्ता बाबुराम दाहालकाअनुसार सर्वोच्चका सबै कर्मचारीलाई समेत सोही स्थानमा उपस्थित हुन निर्देशन दिइएको छ । यस्तै, पुनरावेदन अदालत पाटन, काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला अदालतले पनि विभिन्न स्थानमा सहभागी हुने भएका छन् ।
आठ हजार सुरक्षाकर्मी परिचालित हुँदै
नेपाली सेनाले विभिन्न स्थानमा पाँच हजार हजार जनशक्ति परिचालन गर्ने भएको छ । सेनाका प्रवक्ता जगदीशचन्द्र पोखरेलले राजधानीका विभिन्न स्थानमा पाँच हजार जनशक्ति परिचालन गरिने बताए ।
यसैगरी, महाअभियानमा सशस्त्र प्रहरी बलले तीन हजारभन्दा बढी जनशक्ति परिचालन गर्ने भएको छ । सशस्त्र प्रहरीका प्रहरी नायब उपरिक्षक अजय छत्कुलीकाअनुसार बागमतीको विभिन्न स्थानमा प्रभावकारी रुपमा सहभागी हुन प्रहरीलाई निर्देशन दिइएको छ ।
