समाचारसोमबार, चैत्र ३०, २०७१
जथाभावी फाेहाेर फाल्नेबाट पन्ध्र लाख जरिवाना संकलन
काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थानमा जथाभावी फोहर फाल्ने विभिन्न सङ्घसंस्था तथा व्यक्तिलाई जरिवानास्वरुप रु १५ लाख १५ हजार ४०० सङ्कलन गरेको छ ।
महानगरपालिकाले सार्वजनिक स्थलमा फोहर फाल्ने, विज्ञापन तथा प्रचार सामग्री टाँसेर सहरी सौन्दर्य कुरुप पार्ने, सानातिना किराना पसल, खाजा घर, सवारीसाधन खरिद बिक्री गर्ने सङ्घ–संस्थाबाट उक्त रकम सङ्कलन गरिएको हो ।
शैक्षिक परामर्शदाता, अस्पताल तथा स्वास्थ्य शिविर सञ्चालन गर्ने, फलफूल तथा जुस व्यापारीलाई कारबाही गरी जरिवानास्वरुप गत साउनदेखि यही चैत २८ गतेसम्म (आठ महिना) मा करिब ८०० जनालाई कारबाही गर्दै सो रकम सङ्कलन गरेको हो ।
आठ सयमध्ये ३५० जनालाई प्रहरीले पक्राउ गरेको हो भने बाँकीलाई महानगरपालिकाले पक्राउ गरेको हो । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को अठारौँ शिखर सम्मेलन सकिएपछि पनि महानगरपालिकाले ‘हरियाली काठमाडाँै’ अभियानलाई जारी राख्ने योजनाअनुसार जथाभावी फोहर फाल्नेलाई कारबाही गरिँदै आएको महानगरपालिकाले जनाएको छ ।
गैरकानुनीरुपमा फोहर फाल्नेलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३८ को कसुरअनुसार सजायको दफा ३९ अनुसार रु ५०० देखि एक लाखसम्म जरिवाना र तीन महिना कैद वा दुवै सजाय गर्न सकिने व्यवस्था रहेको छ ।
