समाचारमंगलबार, बैशाख १, २०७२
जाजरकोटका विरामीमा स्वाइन फ्लू देखियो
जाजरकोटमा अचानक महामारीका रुपमा देखा परेको अज्ञात रोगका केही विरामीहरुमा स्वाइन फ्लूको संक्रमण रहेको पुष्टि भएको छ ।
जाजरकोटाका विरामीमध्ये १२ जनाको र्याल परीक्षणका लागि काठमाडौं ल्याइएकोमा ३ जनामा स्वाइन फ्लू (एन वान एच वान) पाइएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका प्रमुख डा. बाबुराम मरासिनीले जानकारी दिए ।
उनका अनुसार १२ जनाको नमूना परीक्षण गर्दा ३ जनामा मात्र स्वाइन फ्लू देखिएकाले त्यहाँ सबैलाई स्वाइन फ्लू भएको भन्न सकिंदैन । “मौषम परीवर्तन हुने बेलामा र आद्रता बढेका बेला विभिन्न किसिमका भाइरसहरु सक्रिय रहन्छन्, अहिले त्यहाँ खास के भएको हो भन्ने थप परीक्षण पछि मात्रै पत्ता लाग्छ,” डा. मरासिनीले भने ।
जाजरकोटमा अज्ञात रोगका कारण मृत्यु हुनेको संख्या १६ पुगिसेको छ । जिल्लाको अति दुर्गम क्षेत्र सकला, नायकवाडा, रम्दा लगायतका गाविसमा टाउको, छाती र हातखुट्टा दुख्ने, वाकवाकी लाग्ने र ज्वरो आउने जस्ता लक्षण देखिएका छन् ।
यातायातको सुविधा नभएको क्षेत्रबाट बोकेर सदरमुकाम ल्याइएका विरामीहरुले जिल्ला सदरमुकाममा रहेको अस्पताल भरिएर चौरमा राखेर उपचार गर्नुपर्ने अवस्था छ । यद्यपी प्रयोगशाला र चिकित्सकको अभावमा अहिलेसम्म रोग पत्ता लाग्न सकेको छैन ।
रोग फैलिएको २ सातापछि २९ चैतमा स्वास्थ्यमन्त्री खगराज अधिकारीको नेतृत्वमा चिकित्सकहरुको टोली प्रभावित क्षेत्रमा पुगी विरामीको दिशा, पिसाब, रगत, ¥याल परीक्षणका लागि काठमाडौं ल्याएको थियो ।
