समाचारशनिबार, कार्तिक १८, २०६९
चितुवाले १५ जनाको ज्यान लियो
गत भदौदेखि मान्छेमाथि आक्रमण शुरु गरेको उक्त चितुवा मार्नका लागि केही समयअघि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको भिन्दाभिन्दै टोली खटिए पनि चितवालाई न त मार्न सकिएको छ न त चितवाले आक्रमण नै बन्द गरेको छ ।
पछिल्लो समयमा १७ कार्तिक साँझ अम्चौरा– ८ का गणेश चन्दका चार वर्षीय छोरा महेश चन्दलाई चितुवाले झम्टेर लगेको बैतडीका प्रहरी निरीक्षक लालबहादुर साउदले बताए । यो समेत बैतडीमा चितुवाको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ ।
घरआँगनमै खेलिरहेका बालकको एक किलोमिटर टाढा जंगलमा शव फेला परेको साउदले जानकारी दिए ।
असोज तेस्रो हप्ता लगातार छ दिनमा तीनजनाको ज्यान लिएपछि नरभक्षी चितुवा भएको भन्दै जिल्ला सुरक्षा समितिको बैठकले चितुवा मार्न सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको सहयोग माग्ने निर्णय गरेको थियो ।
त्यसलगत्तै सो क्षेत्रमा शैलेश्वरी गण कञ्चनपुरबाट प्रहरी नायव उपरीक्षक प्रेमप्रसाद पाण्डेयको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको थियो । तर तीन हप्तसम्म त्यहाँ बसेको प्रहरी टोलीले कुनै सफलता हात पार्न नसकेपछि उक्त टोली केही दिनअघि मात्रै त्यहाँबाट फर्किएको थियो । त्यसैगरी नेपाली सेना र नेपाल प्रहरीको टोलीले पनि चितुवा फेला पार्न सकेन ।
गत असोज ३० गते मात्रै आम्चौरा गाविस– ८ बस्ने २९ वर्षीया पार्वती चन्दको चितुवाको आक्रमणबाट ज्यान गएको थियो । आम्चौरा–८ स्थित माइतबाट छिमेकी शर्माली गाविसमा रहेको घर फर्किंदै गरेको अवस्थामा उनलाई चितुवाले आक्रमण गरेको थियो ।
जिल्ला प्रशासन कार्यालयले नरभक्षी चितुवालाई मारेर या जिउँदै नियन्त्रण लिई प्रशासनलाई बुझाउने व्यक्तिलाई २५ हजार राशीको पुरस्कार तोकेको छ ।

