थप समाचारशनिबार, बैशाख ५, २०७२
जाजरकोटमा फ्लूबाट मृत्यु हुनेको संख्या २४ पुग्यो, औषधि अभाव, रुकुममा पनि फ्लूको प्रकोप, स्वास्थ्यमन्त्री भन्छन्, ‘मिडियाले हल्ला गरे’
५ वैशाखमा थप दुईजनाको मृत्यु भएपछि जाजरकोटमा फैलिएको फ्लूका कारण मृत्यु हुनेको संख्या २४ पुगेको छ । जाजरकोटको जस्तै फ्लू रुकममा पनि फैलिएको छ । बेलैमा नियन्त्रणमा नलिए आसपासका अन्य जिल्लामा पनि फ्लू फैलने सक्ने संभावना छ ।
मृत्यु हुनेमा नायकवाडा गाविस–८ घर्तीगाउँ का ६१ वर्षीय वीरबहादुर कामी र गर्खाकोट–१ का ६० वर्षीय धने दमाई छन् ।
५ वैशाख बिहान वीरबहादुरको मृत्यु भएको उपस्वास्थ्य चौकी नायकवाडाका स्वास्थ्यकर्मी गणेश खड्काले जानकारी दिए । योसहित मृत्यु हुनेको सङ्ख्य २४ पुगेको छ ।
औषधिको अभाव
फ्लूको संक्रमणबाट पूर्ण प्रभावित अर्छानीको स्वास्थ्य चौकीमा औषधिको अभाव छ ।
चौरजहारीस्थित मिसन अस्पतालबाट गएको स्वास्थ्यकर्मीको टोलीले उपचार शुरु गरेपनि औषधिको अभावमा उपचार सेवा प्रभावकारी हुन सकेको छैन् ।
टाउको दुख्ने, ज्वरो आउनेको सामान्य औषधि उपलब्ध भए पनि एन्टिबायोटिक औषधिको अभाव रहेको डा सुमन राईले जानकारी दिए ।
अर्छानी शिविर पुगेका बिरामीमध्ये नौजनामा कडा खालको फ्लुसँग मिल्दोजुल्दो लक्षण देखिएको चिकित्सकले बताएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालयले औषधि पठाइएको भने पनि अहिलेसम्म औषधि नपुगेको डा राईले जानकारी दिएका छन् ।
काठमाडौबाट पठाएको स्वास्थ्य जनशक्ति र औषधि सदरमुकाम र नजिकका केही गाबिसका केन्द्रित भएको छ। औषधीउपचारको अभाव भएको व्यापक जनगुनासो आएपछि शनिबार सेनाको हेलिकोप्टरबाट केही गाउँमा औषधी र डाक्टर पुर्यायइएको छ।
जाजरकोट जस्तै फ्लू रुकुममा
रुकुमको चौखाबाङ–५ हिल गाउँमा जाजरकोटमा जस्तै फ्लूका कारण ८० जना विरामी परेका छन् ।
उपचारमा संलग्न चिकित्सक मानबहादुर केसीका अनुसार विरामीहरुमा फ्लूकै लक्षण देखिएको छ । यद्यपी प्रयोगशालाको सुविधा नहुँदा लक्षणकै आधारमा उपचार गरिरहेको उनले जानकारी दिए ।
बिरामीहरुमा टाउको दुख्ने, रुघा लाग्ने, ज्वरो आउने र रिगंटा लाग्नेजस्ता लक्षण देखा परेको जिल्ला स्वास्थ्य कार्यालय रुकुमले जनाएको छ ।
जाजरकोटमा फैलिएको फ्लूका जस्तै लक्षण देखापरेपछि यहाँका जनता त्रसित बनेको गाविस सचिब गणेशकुमार शर्माले बताए ।
गाउँभर संक्रमण फैलिएपछि स्वास्थ्य कार्यालयबाट चिकित्सकको टोली प्रभावित क्षेत्रमा पुगेर ४ वैशाख साँझदेखि उपचार थालेको छ । अहिले सम्म ८० जनाको उपचार गरिसकेको उपचारमा संलग्न डाक्टर खत्रीले बताए । उनका अनुसार गाउँ–गाउँबाट बिरामीहरु आउने क्रम जारी छ ।
मिडियाले बढी हल्ला गरेः स्वास्थ्यमन्त्री
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खगराज अधिकारीले जाजरकोटमा फैलिएको फ्लू बारे मिडियाले बढी नै हल्ला गरेको आरोप लगाएका छन् ।
५ वैशाखमा दोलखा पुगेका मन्त्री अधिकारीले जाजरकोटमा फैलिएको फ्लूका बारेमा सरकार र स्वास्थ्यमन्त्रालय सजग भएको दाबी गर्दै मिडियाले बढी हल्ला गरेर त्रास फैलाएको आरोप लगाए ।
उनले विरामीहरुको मुत्यु हुन नदिन सरकारले आवश्यक व्यवस्था गरेको दाबी गर्दै रोग नियन्त्रणमा आउन अझै ८/१० दिन लाग्ने बताए ।
राष्ट्रिय स्वास्थ्यकर्मी संघ दोलखाको दोस्रो जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा मन्तव्य दिन पुगेका अधिकारीले भने, “मिडियामा हल्ला चलेजस्तो छैन, स्वास्थ्यकर्मीहरुले ८/१० दिनमा रोग पूर्ण नियन्त्रणमा आउने बताएका छन् ।”