रिपोर्टशनिबार, साउन १५, २०७३

सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !

सविता श्रेष्ठ

सौन्दर्य सामग्रीमा प्रयोग भएका विषले धेरैलाई गम्भीर स्वास्थ्य समस्यामा पार्न थालेको छ।

cosmetic Sabita.inddसुन्दर बन्ने चाहना सबैमा हुन्छ। ‘ब्यूटीफुल’ वा ‘ह्याण्डसम’ हुने मानिसको चाहना पूरा गर्न बजारमा सौन्दर्य प्रसाधनको कुनै कमी छैन। महिलामा त्यो चाहना बढी हुने भएकोले बजारमा पुरुषको भन्दा महिलाकै सौन्दर्य प्रसाधनको कारोबार ठूलो छ।

इन्भाइरोन्मेन्ट वर्किङ ग्रुप (बेलायत) ले सन् २०१२ मा गरेको एक अध्ययन अनुसार, आधुनिक महिलाले औसतमा दैनिक १७ प्रकारका मेकअप सामग्री प्रयोग गर्छन्।

एक महिलाले जीवनभरमा औसत ४ पाउण्ड (१.८ केजी) लिपिस्टिक प्रयोग गर्ने उक्त अध्ययनले बताउँछ। नेपाली महिलाहरूले पनि सौन्दर्य सामग्रीमा मासिक रु.२ हजारदेखि रु.२५ हजारसम्म खर्च गर्न थालेको सौन्दर्यकला व्यवसायी संघकी अध्यक्ष कमला श्रेष्ठको अनुमान छ।

तर, पैसा हालेर किनेको चिजले सौन्दर्य बढाउनुको साटो जटिल स्वास्थ्य समस्या निम्त्याएकोमा छालारोग विशेषज्ञ र ब्यूटिसियनहरू एकमत छन्। देश–विदेशमा भएका अध्ययनहरूले पनि यसै भन्छन्।

बाङ्लादेशको गैर–सरकारी संस्था इन्भाइरोन्मेन्ट एण्ड सोसल डेभलपमेन्ट अर्गनाइजेसन (ईएसडीओ) ले गत वर्ष ३३ किसिमका सौन्दर्य प्रसाधनको अध्ययन गर्दा २८ वटामा तीनभन्दा बढी प्रकारका घातक रसायनिक पदार्थ पाएको थियो।

‘टक्सिक केमिकल इन ब्यूटी प्रोडक्ट, अ पोटेन्सियल थ्रेट टु ह्युमन हेल्थ एण्ड इन्भाइरोन्मेन्ट’ शीर्षकको अनुसन्धान प्रतिवेदनमा बाङ्लादेशमा सबभन्दा चलेका फेस वास, हर्बल फेस प्याक, स्किन ह्वाटनिङ क्रिम, हेयर जेल, बेबी लोसन लगायतका वस्तुमध्ये सबैमा कुनै न कुनै विषाक्त रसायन भेटिएको उल्लेख छ।

त्यसअघि २०१० जुलाईमा अमेरिकाको फूड एण्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) ले ४०० प्रकारका लिपिस्टिकको परीक्षण गर्दा ०.०२६ देखि ७.१९ पीपीएमसम्म लिड (सिसा) पाएको थियो।

नेपालमै पनि गैर–सरकारी संस्था जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्र (सीईपीएचईडी) ले सन् २०१२ मा आठ ब्रान्डका लिपिस्टिक र सात ब्रान्डका स्किन ह्वाटनिङ क्रिमको अनुसन्धान गर्दा लिपिस्टिकमा लिडको मात्रा ३०० देखि १४५० गुणासम्म तथा क्रिममा मर्करी (पारो) को मात्रा ०.०२५ देखि ०.५२१ एमजी/केजी पाइएको थियो। लिपिस्टिकमा ०.१ पीपीएमभन्दा बढी लिड हुनु नहुने अमेरिकी मापदण्ड छ।

नेपाली बजारमा फेस वास, मोस्चराइजर, लिपिस्टिक, ग्लस, लिप वाम, लिप लाइनर, गाजल, आई लाइनर, आई स्याडो, नेलपोलिस, सन्सक्रिम, कम्प्याक्ट पाउडर, लुज पाउडर, फाउण्डेशन, फेस साइनर, ह्याण्ड लोसन, बडी लोसन, साबुन, स्याम्पु, कण्डिसनर, टि्रटमेन्ट क्रिम लगायत ५०० भन्दा बढी प्रकारका कस्मेटिक्सको कारोबार भइरहेको छ। “तीमध्ये अधिकांशलाई विषको पोका भन्दा फरक पर्दैन”, सीईपीएचईडीका कार्यकारी निर्देशक रामचरित्र साह भन्छन्।

cosmetic Sabita.inddविषको पोका
बानेश्वर, काठमाडौंकी स्मिता बस्नेत (२४) करीब १० प्रकारका सौन्दर्य सामग्री चलाउँछिन्। साथी र कस्मेटिक्स पसलले बताउने विशेषताको आधारमा प्रयोग गर्ने ती सामग्री के–के पदार्थको मिश्रण हो, उनलाई जानकारी छैन।

“सबै कुरा बुझेर प्रयोग गर्नु राम्रो हो”, स्मिता भन्छिन्, “तर, ती चिजका बट्टामा लेखिएका धेरै कुरा बुझिंदैन, हरेक पटक व्यूटिसियन वा डाक्टरकहाँ जानु सम्भव हुँदैन।”

कस्मेटिक्सका आम नेपाली उपभोक्ताको प्रतिनिधि हुन्, उनी। दैनिक पटक–पटक प्रयोग हुने गाजल, आई लाइनर, लिपिस्टिक, सन ब्लक क्रिम, फाउण्डेशन, क्लिजिङ क्रिम, स्याम्पू, कण्डिसनर लगायतका कस्मेटिक्सका उपभोक्ता तिनका मिश्रणबारे सचेत छैनन्।

यी सामग्रीका मिश्रण बुझन सजिलो पनि छैन, प्याकेजिङ र मूल्य हेरेर गुणस्तरको अनुमान लगाउने चलन छ। आकर्षक प्याकेट र बढी मूल्य गुणस्तरको द्योतक बनेको छ।

तर, आकर्षक प्याकेटको महँगो सामानमा शरीरको लागि घातक केमिकल मिसिएको हुनसक्ने सौन्दर्यविद् डा. राज्यश्री श्रेष्ठ बताउँछिन्।

जस्तो, धुलिखेल– ७ बखुण्डोलकी शिक्षिका महालक्ष्मी श्रेष्ठ (४०) लाई फेयर एण्ड लभ्ली क्रिमले विरुपै पार्‍यो। लामो समयपछि क्रिमले उनको अनुहारमा कालो दाग बसायो।

दाग पाप्रा बनेर उप्किन थाल्दा बेस्सरी दुखेपछि उनी धुलिखेल अस्पताल पुगिन्। डाक्टरले तत्काल फेयर एण्ड लभ्ली लगाउन छाड्ने सल्लाहका साथ दुई महीनाको लागि औषधि लेखिदिए।

त्यसपछि पनि औषधि फेर्दै चलाएकी उनी अहिले सकभर मेकअप गर्दिनन्। गर्नै परे एकदमै हल्का मात्र गर्ने बताउँदै उनी भन्छिन्, “मलाई फेयर एण्ड लभ्ली ले असर गरेपछि अरू कस्मेटिक्स पनि भरसक चलाउँदिनँ।”

सौन्दर्य प्रसाधनमध्ये करीब ९० प्रतिशत सीधै छालामा प्रयोग गरिन्छ। एउटालाई राम्रै गरेको चिज अर्कोलाई विष बराबर हुनसक्ने डा. श्रेष्ठ बताउँछिन्।

उनका अनुसार, कुनै पनि कस्मेटिक चलाउनुअघि आफ्नो छालाको प्रकृति बुझनुपर्छ। आफ्नो छालाको स्वभाव र कस्मेटिक्स मिलेन भने समस्या आउँछ।

त्यसमाथि कुनै कस्मेटिक्समा त कडा खाले केमिकल राखिएको हुन्छ। “सौन्दर्य सामग्री छनोट गर्दा उमेर र मौसमको ख्याल गर्नैपर्छ”, डा. श्रेष्ठ भन्छिन्, “ती सामग्रीको प्रयोग तरीका पनि फरक हुन्छ।”

cosmetic Sabita.inddकुनै–कुनै सौन्दर्य सामग्री लगातार लगाउन नहुने र छनोट र प्रयोग विधि मिलेन भने अनुहारको दाग मेटिनु वा छोपिनुको साटो घाउ हुने वा चाउरी पर्ने उनी बताउँछिन्।

जस्तो, मध्यपुर ठिमी– १२ की शोभा श्रेष्ठ (३२) ले नाक र गालामा कालो दाग बसेपछि साथीको सल्लाहमा अरेन्ट पर्ल नामक चाइनिज क्रिम लगाइन्, जसले दाग भएको ठाउँबाहेकका छालालाई सेतो बनायो। सेतोपन बढ्दै छाला उप्किन थालेपछि उनले आयुर्वेदिक क्रिमहरू लगाउन थालिन्।

“त्यसले पनि ठीक नभएपछि छालारोग विशेषज्ञलाई जँचाएर औषधि खान थालेको पाँच महीना भयो”, श्रेष्ठ भन्छिन्।

त्यस्तै, काठमाडौं थानकोटकी शान्ति लामा (४५) ले अनुहारको चाया हटाउन चाइनिज क्रिम लगाउन थालिन्। करीब दुई वर्षमा अनुहारभरि रातो/नीलो दाग देखिएपछि अस्पताल गएकी उनलाई छाला रोग विशेषज्ञले ‘रोजासिया’ भएको बताए।

त्यस्तै, लोटस र ओले ब्रान्डका कस्मेटिक्स चलाउने धुलिखेलकी अम्बिका मोक्तान (३५) कहिलेकाहीं एलर्जी हुँदा सामान्य मान्थिन्। तर, अनुहारमा कालो दाग बस्न थालेपछि धुलिखेल अस्पताल पुगेकी उनी अहिले नियमित उपचारमा छिन्।

अस्पतालका छाला रोग विशेषज्ञ डा. धर्मेन्द्र कर्ण सौन्दर्य प्रसाधनले धेरैलाई छालाको गम्भीर संक्रमण गराएको बताउँछन्। छाला रोग उपचारका लागि धुलिखेल अस्पताल आउने बिरामीमध्ये १० प्रतिशत ‘सौन्दर्य प्रसाधन पीडित’ महिला रहेको बताउँदै उनी भन्छन्, “धेरैमा एलर्जी, दाग र छालामा घाउ देखिएको छ।”

खतरनाक रसायन
कस्मेटिक उत्पादनलाई ‘कारगर’ बनाउन लिड, मर्करीलगायतका रसायन मिसाइएको हुन्छ। अमेरिका र फिलिपिन्समा एक किलो बराबर १ मिलिग्रामभन्दा कम मर्करी भएका सौन्दर्य सामग्रीलाई बिक्री अनुमति छ भने क्यानाडामा प्रतिकेजी तीन मिलिग्रामभन्दा कम।

यूरोप र अफ्रिकी देशहरूले मर्करी भएका कस्मेटिकलाई पूर्ण निषेध गरेका छन्। अमेरिकाको फूड एण्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) ले कस्मेटिक सामग्रीमा बिथियोनल, क्लोरोफ्लोकार्बन प्रोफेलेन्ट्स, क्लोफर्म, हलोजेनेटेड सलिसिलानाइलाइड, भाइनल क्लोराइड र जुकोनियम रसायनलाई प्रतिबन्धित गरेको छ।

सौन्दर्य सामग्रीहरूमा सोडियम लरेल सल्फेट, डाइथानोलामिन, पाराबेन्स, क्याडमियम, फर्माल्डेहाइड, ग्लाइकोल इथर्स, फोलिक एसिड, जिलेटिन, जिङ्कअक्साइड, निकेल, टाइटेनियम, आर्सेनिक लगायतका रसायन मिसाइएका हुन्छन्।

cosmetic Sabita.inddह्वाइटनिङ क्रिममा मर्करी मिसाइएको हुन्छ भने लिपिस्टिकलगायतका शृंगार सामग्रीलाई चम्किलो र गाढा बनाउन लिड।

हावा, पानी र माटोमा मिसिएपछि स्वरुप फेर्दै लामो समयसम्म रहिरहने मर्करी सौन्दर्य प्रसाधनको रूपमा सीधै छालाको सम्पर्कमा आइपुग्दा हुने असरको अनुमान सजिलै गर्न सकिन्छ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार मर्करीले मिर्गौला बिगार्नुको साथै रोग प्रतिरोधात्मक क्षमता घटाउँछ। त्यस्तै, रगतमा लिडको मात्रा बढ्दा एनिमिया, मिर्गाैलाको समस्या, मस्तिष्क, स्नायु प्रणालीमा असर र महिलाको प्रजनन् क्षमतामा ह्रास ल्याउनुको साथै गर्भपतनसम्म गराउने संभावना हुन्छ।

मर्करीले बालबालिकाको वृद्धि–विकासमा घातक असर गर्ने र ‘लिड पोइजनिङ’ बाट विश्वमा हरेक वर्ष करीब एक लाख ४३ हजार मानिसको मृत्यु हुन थालेको डब्लुएचओको अध्ययनले देखाएको छ।

कस्मेटिक सामग्रीमा आर्सेनिक पनि हुन्छ। सल्फर र मेटलको मिश्रणबाट बन्ने आर्सेनिकले मूत्राशय र फोक्सोको क्यान्सर गराउन भूमिका खेल्छ।

सनस्त्रि्कनलाई रंगीन, बाक्लो र टिकाउ बनाउन प्रयोग गरिने टाइटेनियम डाइअक्साइडले क्यान्सर गराउन सक्ने डब्लुएचओको ‘इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सर (आईएआरसी)’ को प्रतिवेदनमा उल्लेख छ।

यसले देखउँछ– सौन्दर्य प्रसाधनको नाममा प्रयोग भइरहेका सामग्रीले छाला मात्र नभई शरीरका भित्री अंगहरूमा समेत खतरनाक असर गरिरहेका छ।

आँखा सुन्दर बनाउन लगाइने सामग्रीले भित्री भाग रातो बनाउने, ब्याक्टेरियाले संक्रमण गराउने, धमिलो बनाउने र दृष्टि गुम्नेसम्मको जोखिम बढाउँछ। आई लाइनर, गाजललगायतका सामग्रीमा सिलिकन, गम, मैनलगायतका वस्तु हुन्छन्।

कस्मेटिक्समा मिसाइएका रासायनिक पदार्थहरू मुख र आँखाबाट सीधै वा छालाले सोसेर शरीरमा प्रवेश गर्छन्। त्यस्ता रसायन रगतमा पुगेर मुटु, कलेजो, मिर्गाैला, मस्तिष्क र स्नायु प्रणालीलाई असर गर्छ। वीर अस्पतालका क्यान्सर विशेषज्ञ (अंकोलोजिष्ट) विवेक आचार्य गर्भवती महिला र बालबालिकालाई सौन्दर्य सामग्रीबाट टाढै राख्न सुझाव दिन्छन्।

उनका अनुसार, कस्मेटिक्समा मिसिएका रासायनिक पदार्थले महीनावारीमा असन्तुलन ल्याउने, महिलामा बाँझोपना हुने र पुरुषहरूमा नपुंसकता बढाउने भूमिका खेल्न सक्छ। “तत्काल नदेखिए पनि कालान्तरमा असर गर्छ” डा. आचार्य भन्छन्, “सौन्दर्य वृद्धिका लागि घरेलु सामग्री प्रयोग गर्नु सबभन्दा उत्तम हो।”

महाराजगन्जस्थित शिक्षण अस्पतालका छाला रोग विशेषज्ञ डा. अनिलकुमार दास सौन्दर्य सामग्रीले धेरैमा घामपानी सहने शरीरको बाहिरी छालालाई असर गर्ने पदार्थले फोक्सो, मिर्गाैला, मुटु, मस्तिष्क, प्रतिरक्षा प्रणालीलाई सजिलै प्रभाव पार्ने बताउँछन्।

त्यस्तै, वीर अस्पतालकी छाला रोग विशेषज्ञ अनुपमा कार्की सौन्दर्य प्रसाधनको जथाभावी प्रयोगले कपाल र नङमा पनि समस्या आउने बताउँछिन्।

“कस्मेटिक्स प्रयोगमा अधिकांशले हेलचेक्र्याइँ गर्छन्”, डा. अनुपमा कार्की भन्छिन्, “हेयर डाई प्रयोग गर्दा अनुहार सुन्निएर आएका बिरामीलाई हामीले अस्पतालमा भर्ना गरेर उपचार गरेका छौं।”

उनका अनुसार, गुणस्तरहीन सामग्री जथाभावी प्रयोग गर्दा इरिटेन्ट कन्ट्याक्ट डर्माटाइटिस (रातो हुने, चिलाउने), एलर्जिक कन्ट्याक्ट डर्माटाइटिस (बिमिरा निस्कने, पानी बग्ने, पोल्ने, पाप्रा निस्कने) पिगमेन्टेसन (रङ परिवर्तन हुने), हाइपरटि्रकोसिक (रौं पलाउने), रोजासिया (रातो, नीलो दाग हुने), सुक्खापना बढ्ने, चाया, पोतो आउने जस्ता समस्या देखिन्छन्।

फुक्काफाल व्यवसाय
cosmetic Sabita.inddसंसारमा सबभन्दा बढी उत्पादन हुने चिजहरूमध्ये प्रमुखमा पर्छ, सौन्दर्य प्रसाधन। नेपालमा पनि युनिलिभर र अन्य थुप्रै कम्पनीले न्यू लुक, फ्रेसिया, इरिचर, डेकार, पुनम, पियोर, ब्लुम लगायत ब्रान्डका कस्मेटिक्स उत्पादन गरिरहेका छन्।

आयात भने धेरैजसो भारत र चीनबाट भइरहेको छ। आर्थिक वर्ष २०७२/७३ को वैशाख मसान्तसम्ममा लिपिस्टिक, लिप बामलगायतका ओठमा लगाउने ९२ लाख पिस सौन्दर्य सामग्री आयात भएको तथ्यांक छ। त्यस्तै आँखामा प्रयोग गर्ने करीब ३६ लाख पिस सामग्री ल्याइएको छ।

cosmetic Sabita.inddनेपालमा ओले, गार्नियर, ल्याक्मे, लोटस, पोन्ड्स, डोभ, भीएलसीसी, रेभलोन, जोनसन एण्ड जोनसन, जोय, निभिया, आस्थाबेरी, इन्च्यान्टर लगायतका अन्तर्राष्ट्रिय ब्रान्डका कस्मेटिक्स आयात हुन्छन्, तर पछिल्लो पाँच वर्षमा चिनियाँ कस्मेटिक्स बढी चलेको छ।

काठमाडौंको मखन टोलका एकजना कस्मेटिक्स व्यापारी कोरियन, थाई र भारतीय उत्पादनको तुलनामा चिनियाँ सामान बढी आकर्षक र सस्तो हुने भएकोले धेरै चलेको बताउँछन्। उनका अनुसार, चीनबाट ब्रान्डेडको नक्कल बढी आउँछ।

नेपाली उपभोक्ताले खास गरेर टेलिभिजनमा विज्ञापन हेरेर सामान किन्ने गरेको अनुभव सँगालेका ती व्यापारी कुन सामान केबाट बनेको हुन्छ भन्ने त बेच्नेहरूलाई पनि थाहा नहुने बताउँछन्।

उनका अनुसार, चिनियाँ कस्मेटिक्समा प्रायः बनेको मिति, म्याद सकिने समय र प्रयोग गर्ने तरीका समेत लेखिएको हुँदैन। लेखेको भए पनि अक्षर बुझिंदैन।

नाम उल्लेख गर्न नचाहने ती व्यापारी भन्छन्, “खोलेको दिनबाट एक वर्ष, दुई वर्षसम्म प्रयोग गर्न सकिन्छ भन्दै बेच्ने चलन छ।”

नेपाली बजारमा म्याद नाघेका वा उत्पादन मिति नै नभएका सामग्रीहरू निर्वाध बिक्री भइरहेका छन्। किराना र कपडा पसलमा पनि सौन्दर्य सामग्री पाइन्छन्।

नेपालमा स्वास्थ्यलाई बेवास्ता गरेरै व्यवसाय फस्टाएको बताउने सौन्दर्यकला व्यवसायी संघकी अध्यक्ष कमला श्रेष्ठ कतिपय सामान त जान्नेबुझनेलाई पनि झुक्याउने खालका हुने बताउँछिन्।

“स्थानीय होस् कि आयातीत, हामीकहाँ कस्मेटिक्सको गुणस्तर जाँचबुझ् गर्ने कुनै निकाय छैन”, श्रेष्ठ भन्छिन्, “न त बिक्री वितरणबारे अनुगमन नै छ।”

भारतमा ‘ड्रग एण्ड कस्मेटिक एक्ट’ अनुसार सौन्दर्य सामग्रीको नियमन गरिन्छ। तर, हामीकहाँ यसबारे केही काम नभएको नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनी बताउँछन्।

बिक्री वितरणका ८८० प्रकारका सामग्रीको मापदण्ड बने पनि कस्मेटिक सामग्रीलाई फुक्काफाल छाडिएको छ। संघकी अध्यक्ष श्रेष्ठ अनुगमन र नियन्त्रण नहुँदा नेपाल गुणस्तरहीन र नक्कली कस्मेटिक्सको बजार बढेको बताउँछिन्। उनी भन्छिन्, “वास्तवमा यो निकै खतरनाक अवस्था हो।”

सुन्दरतालाई व्यक्तित्व, पेशा तथा प्रतिष्ठासँग जोडेर हेरिने भएकोले सौन्दर्य सामग्री आधुनिक मानिसको आधारभूत आवश्यकता बन्न पुगेको छ। यसले गर्ने असरलाई ध्यानमा राखेर विभिन्न देशले आ–आफ्नो मापदण्ड बनाएका छन्।

ती देशका प्रयोगकर्ताहरू यसबारे सचेत छन् र उल्टो असर परे भारी मात्रामा क्षतिपूर्ति भराउने कानून पनि छ। (हे. बक्स) तर, नेपालमा न कुनै मापदण्ड छ न उपभोक्ता नै सचेत छन्।

यो अवस्थामा नाफाखोर उत्पादकहरूले नेपाली बजारलाई प्रयोगशाला बनाएको र त्यसको परिणाम निकै घातक हुनसक्ने सौन्दर्यकला व्यवसायी संघकी अध्यक्ष श्रेष्ठ बताउँछिन्।

जानकारहरूको सुझाव
दि स्किन हेल्थ एण्ड रिसर्च सेन्टरकी छाला रोग विशेषज्ञ पद्मा तुलाधर ‘हाइपरसेन्सेटिभ स्किन’ हुनेलाई ब्रान्डेड नै भए पनि सौन्दर्य सामग्रीले नकारात्मक असर गर्न सक्ने बताउँछिन्।

त्यसकारण, कुनै पनि कस्मेटिक्स प्रयोग गर्नुअघि व्यूटिसियनको परामर्श लिन र महँगो सामग्री चलाए पनि समस्या देखिए तुरुन्त विशेषज्ञकहाँ जान उनी सुझाउँछिन्।

शिक्षण अस्पतालका छाला रोग विशेषज्ञ डा. दास नेपालमा उपभोक्ता सचेतना र मापदण्ड निर्माण/कार्यान्वयनसँगै घरेलु सामग्रीहरूको अनुसन्धान अत्यावश्यक भएको बताउँछन्। उपभोक्ता आफैंले हानिकारक रसायन नमिसिएको सामान छान्न सक्ने अवस्था नभएकोले यसमा सरकार नै अघि सर्नुपर्ने उनको धारणा छ।

चालू सौन्दर्य सामग्रीको भरपर्दो विकल्प पनि नभएको अवस्थामा घरेलु सामग्रीहरूको अनुसन्धान पनि आवश्यक भएको डा. दास बताउँछन्।

अनुहारमा ‘चार्म’ र ‘ग्लो’ बढाउन दूधको तर, बेसार, बेसन, कागती जस्ता ‘साइट इफेक्ट’ नगर्ने र सस्तो घरेलु चिजबिज प्रयोग गर्ने पुरानै चलन हो, तर यी चिजको ‘कम्बिनेशन’ मिलाउने तरीका थाहा छैन।

डा. दास रेडिमेड सामग्री प्रयोग गर्नेले आफ्नो छाला सुक्खा, तेलीय, सामान्य, कम्बिनेशन र सेन्सिटिभमध्ये कुन हो भन्ने कुरा चाहिं थाहा पाउनैपर्ने बताउँछन्।

त्यस्तै, व्यूटिसियन डा. राज्यश्री श्रेष्ठ व्युटिसियन वा डाक्टर नभएका ठाउँका कस्मेटिक्स उपभोक्तालाई जोगाउने गरिको मापदण्ड सरकारले लागू गर्नुपर्ने बताउँछिन्।

“मापदण्ड नभएसम्म गुणस्तर जाँच हुँदैन”, उनी भन्छिन्, “सौन्दर्य प्रसाधनका उत्पादक र व्यापारीलाई जिम्मेवार बनाउन पनि मापदण्ड त चाहियो नै।”

त्यस्तै, सीईपीएचईडीका कार्यकारी निर्देशक रामचरित्र साह कस्मेटिक्स उत्पादकहरूले विषालु रसायन मिश्रित उत्पादनहरू नेपाल जस्तो मापदण्ड–अनुगमन नभएको देशहरूमै खपत गराउने भएकाले पनि कारोबार व्यवस्थित गर्नैपर्ने बताउँछन्।

त्यस्तै, वीर अस्पतालकी छाला रोग विशेषज्ञ अनुपमा कार्की कम्तीमा, औषधि व्यवस्था विभागमा दर्ता भएर गुणस्तर मापनबाट मान्यता पाएका, प्रयोग विधि र म्याद गुजि्रने मिति लेखिएका सौन्दर्य प्रसाधन मात्र बजारमा आउने व्यवस्था गर्न सक्दा पनि ठूलो काम हुने बताउँछिन्।
cosmetic Sabita.indd‘सही सूचना लिनुपर्छ’
डा. धर्मेन्द्र कर्ण, धुलिखेल अस्पताल
अमेरिकाको फूड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) का अनुसार, पर्फ्युम, लिपिस्टिक, नेलपालिस, स्याम्पू आदि छालामा लगाइने उत्पादनहरू कस्मेटिक अन्तर्गत पर्दछन्।

आज कस्मेटिकको प्रयोग नगर्ने मानिस विरलै होलान्। दैनिक रूपमा महिलाले सरदर १२ र पुरुषले ६ वटा कस्मेटिकको प्रयोग गर्छन् भन्ने मान्यता छ। यसरी समाज कस्मेटिक्समय भइसक्दा पनि हामीकहाँ यससम्बन्धी ऐन बनेको छैन।

उत्पादन मिति नभएका, नाम ठूलो अक्षरमा भए पनि कम्पोजिसन सानो अक्षर वा नबुझिने भाषामा लेखिएका अनेक किसिमका कस्मेटिक्स बजारमा छ्यापछ्याप्ती पाइन्छन्। कस्मेटिक्सबारे केही नजानेकाहरूले खुल्ला रूपमा बेचिरहेका छन्।

उपभोक्ताहरू गुणस्तर थाहा नपाई पैसा लगाइरहेका छन्। धेरैले विज्ञापन र साथीहरूको भनाइको आधारमा यस्ता उत्पादन किनिरहेका छन्। यस्ता चिजले स्वास्थ्यमा पार्ने असर तुरुन्तै देखिंदैन। विभिन्न किसिमका कस्मेटिकमा मिसाइएका मर्करी र स्टेरोइडहरूले असर देखाउन समय लाग्छ, जुन निकै घातक पनि हुनसक्छ।

हामीले डण्डीफोर, चाया, पोतो, कपाल झार्ने आदि समस्यालाई कस्मेटिकले चट् बनाउने विज्ञापन देख्दै आएका छौं। तर, यस्ता चिजले समस्या समाधान हुन्छ भन्ने कुनै वैज्ञानिक तर्क छैन।

आफूलाई उपयुक्त हुने कस्मेटिक कसरी छान्ने त? भन्ने प्रश्नको उत्तर पनि त्यति सजिलो छैन।

अनुभवी चिकित्सक वा तालीमप्राप्त व्यूटिसियनको परामर्शले राम्रो परिणाम दिन्छ। त्यो सकिंदैन भने इन्टरनेटमा अध्ययन गर्न सकिन्छ। इन्टरनेटमा उपलब्धमध्ये पनि सही जानकारी छान्न सक्नुपर्छ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...