रमझमबुधबार, साउन ५, २०७३

ठेगाना बताइदिने फिरन्ते

रविन गिरी

४६ वर्षअघि विना योजना नेपाल आइपुगेका विलियम फोर्ब्स अहिले हिमाली हिन्दू सभ्यताका अध्येता बनेका छन्।

wसन् १९६० को दशकमा अमेरिकामा ‘बिट जेनेरेसन’ ले उधूम मच्चाउँदै थियो। पुराना तर्कप्रतिको यो साहित्यिक विद्रोहका अनेक अभिव्यक्ति थिए। यही अभियानका संस्थापकमध्येका एक कवि एलेन गिन्सवर्ग तिनताका न्यूयोर्क सिटीमा बस्थे। गिन्सवर्गका छिमेकी थिए विलियम फोर्ब्स।

बिटनिक्स्का विचार र भावभंगीबाट प्रभावित फोर्ब्सलाई पूर्वीय सभ्यताले नजानिंदो पाराले तान्न थालिसकेको थियो। त्यो बेला क्यालिफोर्निया र सान्फान्सिस्कोमा हिप्पी समूहको सांस्कृतिक प्रतिकार पनि शुरु भइसकेको थियो। अमेरिकी युवा आफ्नै तरीकाले संसार बुझ्न–भोग्न चाहन्थे।

त्यसैको प्रेरणा, २५ वर्षीय फोर्ब्स वालस्ट्रिटमा कम्प्युटर प्रोग्रामरको जागीर एकाएक छाडेर लक्जेम्बर्ग पुगे। लक्जेम्बर्ग सिटीमा फक्सवागन गाडी किनेर मोरक्कोतिर लाग्दा दुर्घटनामा परे। गाडी त्यहीं छाडेर बसमा यात्रा थालेका उनी इरान, टर्की, अफगानिस्तान, पाकिस्तान, भारतहुँदै १९७० मा काठमाडौं आइपुगे।

“खासमा, त्यो बेला भारतको ६ महीने भिसा सकिएपछि अरु देशभन्दा नेपाल शान्त छ भनेर यता लागेको थिएँ”, अहिले स्वयम्भूको फेद किमडोलको एकान्तमा बसिरहेका फोर्ब्स भन्छन्, “त्यसमा न्यूयोर्कमा भेट भएका नेपाली शास्त्रीय नर्तक बलिराम कार्कीको आग्रहले केही काम गरेको हुनुपर्छ।”

‘हिप्पी तालमा’ वीरगञ्जबाट ट्रकमा चढेर काठमाडौं आइपुगेका उनलाई यो भूमि अद्भुत लाग्यो। जताततै खेतैखेत थियो, हरेक बिहान हिउँले भरिएका हिमाल देखिन्थ्यो। स्वयम्भूतिर पनि थोरै मात्र घर थिए।

चियापसलमा गफिन मन पराउने नेपालीहरू निकै नम्र लाग्थे। फोर्ब्सको स्मृतिमा ४६ वर्षअघिको त्यो उपत्यका अझ्ौ धमिलिएको छैन। पाँच महीनामा नेपालको भिसा सकिएपछि उनी भारतहुँदै १९७२ मा अमेरिका फर्केर सुसन बर्न्ससँग विवाह गरे। “घुमन्ते रुचि मिलेकाले हामी तुरुन्तैजसो दुनियाँ नियाल्न निस्कियौं”, फोर्ब्स भन्छन्, “हामी बेलाबेला हिप्पीसँगै हुन्थ्यौं, तर पनि हिप्पी जस्ता थिएनौं।”

उनीहरूसँग पर्याप्त खर्च थिएन, र पनि उत्तर भारतको अमरनाथ, केदारनाथ, द्वारिकादेखि दक्षिणको कन्याकुमारी र पुरीसम्म घुमिभ्याए। बीचमा परे वृन्दावन, मुक्तिनाथ, प्रयाग, हरिद्वार आदि तीर्थस्थल।

 सन् १९७६ मा नेपाल आउनुअघि भारतको काश्मिर, श्रीनगरस्थित दल तालमा फोर्ब्स दम्पती।तस्वीर सौजन्यः विलियम फोर्ब्स


सन् १९७६ मा नेपाल आउनुअघि भारतको काश्मिर, श्रीनगरस्थित दल तालमा फोर्ब्स दम्पती।तस्वीर सौजन्यः विलियम फोर्ब्स

‘दुर्गा’ को आपत्‌काल
१९७५ को जूनमा भारतमा प्रधानमन्त्री इन्दिरा गान्धीले संकटकाल घोषणा गरिन्। राजनीतिक आस्थाका आधारमा विपक्षी नेताहरूलाई धरपकड मात्र गरिएन, मानवअधिकार प्रत्याभूत गर्ने थुप्रै संविधानका धारा निलम्बनमा परे। यसबाट भारतलाई ‘स्वर्ग’ ठानिरहेका हिप्पी र फोर्ब्स जस्ता अध्यात्मको खोजमा लागेका विदेशीहरू बस्नै नसक्ने भए र बाध्य भएर १९७६ मा फोर्ब्स दम्पती नेपाल पसे।

संयोग, १६औं कर्मापा राङजुङ रिक्पे दोर्जे त्यही वर्ष नेपाल आइपुगे। स्वयम्भूमा डेरा लिएका फोर्ब्स दम्पतीले कर्मापालाई ध्यानपूर्वक सुने अनि काठमाडौंका तीर्थस्थलहरू चहार्न थाले। भिसाका कारण भारत, अमेरिकाको यात्रा पनि चलिरह्यो, स्वयम्भूको डेरा पनि रहिरह्यो। “भारतमा अध्यात्म थियो, तर तनाव पनि”, फोर्ब्स सम्झ्ान्छन्, “त्यही कारण बस्न चाहिं नेपालमै पर्छ भन्ने सोच पलायो।”

सन् १९७९ मा बर्न्सले काठमाडौंको लिंकन स्कूलमा पढाउने काम पाएपछि गुजारा सजिलो मात्र भएन, यो दम्पतीलाई नेपालवासी पनि बनायो। योग सिक्ने–सिकाउने क्रममा फोर्ब्स मद्रास गइरहन्थे। त्यही क्रममा जे. कृष्णमूर्ति, युजी कृष्णमूर्ति जस्ता दार्शनिकहरूसँग उनको चिनजान भयो। शंकराचार्य, आनन्दमयी मा, जिल्लेल्लामुन्दी अम्मा, माता अमृतानन्द, साइबाबासँग पनि उनको साक्षात्कार भयो। उनी बौद्धमार्गी लामाहरूदेखि योगगुरु टिकेभी देसिकाचरसम्मको सान्निध्यमा रहे। एउटा फिरन्तेको अध्यात्म यात्राले नयाँ उँचाइ प्राप्त गर्‍यो।

भारतमा इन्दिरा गान्धीलाई ‘दुर्गा’ मान्नेहरू पनि थिए। उनै ‘दुर्गा’ ले फोर्ब्स दम्पतीलाई नेपाल पस्न बाध्य पारिन्। २०औं शताब्दीका महान गुरु रमण महर्षि अरुणाचल पर्वतलाई ‘भगवान शिव’ भन्थे। शिवले पार्वती अर्थात् हिमालयकी छोरीसँग विवाह गरेका थिए। “मलाई लाग्छ, भक्तहरूको सुरक्षाका लागि शिवले हामीलाई ससुरालीको देश नेपाल पठाइदिए”, फोर्ब्सको धार्मिक आस्थाले यही भन्छ। त्यही भएर उनी तीन पटक सगरमाथाको आधारशिविर पुगे।

w2दुर्घटनाका लेखक
फोर्ब्सका लागि सगरमाथा जीवनमा एकपटक आरोहण गर्नैपर्ने शिखर नभएर शिवस्थान हो। त्यो शिवको दर्शन गर्न १९८५ डिसेम्बरमा जाँदा लुक्ला नजिकै लडेर खुट्टा भाँचे। त्यसले उनलाई लामो समयसम्म ह्विलचेयरमा खुम्च्यायो। त्यही दुर्घटना उनको जीवनको ‘टर्निङ पोइन्ट’ पनि बन्यो, संस्कृत अध्ययनका कारण।

संस्कृत सिक्ने क्रममा फोर्ब्सले विश्वभाषा क्याम्पसको पाठ्यक्रममा थुप्रै गल्ती पत्ता लगाए। तीन वर्ष संस्कृत पढेपछि उनलाई संस्कृतको पुस्तक अंग्रेजीमा उल्था गर्ने आत्मविश्वास पलायो। त्यही समय काठमाडौं आएका हिमाली सभ्यताका ज्ञाता प्राध्यापक थिओडर रिकार्डीले फोर्ब्सलाई नवौं शताब्दीका ‘नेपाल माहात्म्य’ र ‘हिमवत्खण्ड’ अनुवाद गर्न सुझाए। ‘नेपाल माहात्म्य’ ले हिमालय क्षेत्र नेपालको धार्मिक आख्यानलाई आधिकारिकता प्रदान गर्छ।

अमेरिकी फोर्ब्सका लागि ‘नेपाल माहात्म्य’ अनुवाद गर्ने कुरा निकै चुनौतीपूर्ण थियो। १९८९ बाट उनले महर्षि व्यास लिखित स्कन्दपुराणको भाग ‘नेपाल माहात्म्य’ छिचोल्न, पुस्तकमा उल्लिखित तीर्थस्थलहरू चहार्न थाले। त्यसक्रममा उनी काठमाडौं उपत्यकाका कुनाकाप्चाका धार्मिक स्थलहरू पुगेर ‘नेपाल माहात्म्य’ का ३७ स्थान पत्ता लगाए, जसबारे कमै नेपालीलाई जानकारी थियो।

यसक्रममा फोर्ब्सले बनेपाको चण्डेश्वरी मन्दिर स्थापनाको किंवदन्तीको आधारमा अंग्रेजी नाटक लेखे, जसलाई सराह लेहमेनले निर्देशन गरिन्। त्यो नाटकको नेपाली रुपान्तरण तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको जर्नलमा पनि छापियो। ‘द ग्लोरी अफ नेपाल : अ मिथोलोजिकल गाइडबुक टु काठमाडौं भ्याली’ को ‘नेपाल माहात्म्य’ प्रकाशित गर्न चाहिं फोर्ब्सलाई १० वर्ष लाग्यो। सन् २००० मा प्रकाशित यो पुस्तकमा हिमालय क्षेत्रको पवित्रता, हिमालयमा मानव उत्पत्ति र भगवान शिव (पशुपति) ले नेपालभूमि रोज्नुको कारणहरू खुलाइएको छ, काठमाडौंका ३७ पवित्रस्थलको परिचयसहित।

w3‘नेपाल माहात्म्य’ त सकियो, खै त हिमवत्खण्ड? आफ्नै मनले बारम्बार सोध्न थालेपछि फोर्ब्स हिमवत्खण्डकै अंश वाग्मतीको पवित्रता बुझाउने प्रयत्नमा लागे। अघिल्लो पुस्तकमा अनुवादमा साथ दिएका भीके चौबेले यसमा पनि साथ दिए। अनि सन् २०१५ मा आयो– ‘दि होली वाग्मती रिभर।’ यसमा वाग्द्वारदेखि चोभारसम्मका १६० भन्दा बढी स्नान स्थलको खोज गरिएको छ।

हिमवत्खण्ड अन्तर्गतकै ‘हिमवत् तीर्थमाला’ प्रकाशनको तयारीमा रहेका ७२ वर्षीय फोर्ब्सले त्रिभुवन विश्वविद्यालयका लागि दैलेखको दुल्लुस्थित ज्वालादेवी क्षेत्रबारे अनुसन्धानमूलक आलेखको अन्तिम स्वरुप तयारी गरिरहेका छन्। अग्नि पुराणमा समावेश यो क्षेत्र विनाश हुनबाट रोक्नसके सभ्यताकै संरक्षणमा बल पुग्ने फोर्ब्सको सुझाव छ।

कर्मभूमिको ऋण
किमडोलस्थित शान्त घरमा फोर्ब्स, श्रीमती बर्न्स र चाउचाउ बस्छन्। सन्तान जन्माउने समयमा अध्यात्मिक खोजमा व्यस्त भएको यो दम्पतीले चिनियाँ कुकुर चाउचाउ पालेर परिवारलाई तीन सदस्यीय बनाएका छन्। “त्यतिबेला न कमाइ न त बसाइकै टुंगो”, फोर्ब्स भन्छन्, “सुसनले लिंकनमा जागीर पाएर बसाइको टुंगो लाग्दासम्म ढिलो भइसकेको थियो।”

किमडोलवासीका लागि फोर्ब्स कुनै अपरिचित पर्यटक होइनन्, छिमेकी ‘स्वयम्भू बिल्ली’ हुन्। फोर्ब्स स्वयं आफ्नो नेपाल बसाइ र सनातन हिन्दू धर्मप्रतिको मोहलाई ‘भगवानको इच्छा’ ठान्छन्। “म एक कठपुतली हुँ”, हिन्दू र बौद्ध ग्रन्थहरूका माझ उनी भन्छन्, “हिमालयका प्राचीन सभ्यताबारे लेखेर म कर्मभूमि नेपाललाई ऋण तिरिरहेको छु।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...