रमझमशनिबार, साउन ८, २०७३

संघर्षको प्रतिबिम्ब

हिमालखबर

aaina

पुस्तक: ऐना,  लेखक: रामलाल जोशी,  प्रकाशक: ब्रदर बुक्स प्रकाशन प्रा.लि.,  पृष्ठ १५८+, मूल्य रु.३३३

 

ऐनाले सामुन्ने राखिएको वस्तु हुबहु देखाउँछ। त्यसकारण यसलाई प्रतिबिम्ब भनिएको हो। कथाकार रामलाल जोशी पनि ऐना लिएर आएका छन्, तर उनको ऐना ले व्यक्तिको मुहारचित्र होइन, समाज र संघर्षका कथा कहन्छ। दुरुस्त।

‘जो संघर्ष गर्दागर्दै या आफू पराजित भए, या त समयलाई पराजित गर्न सके। जसले संसाररुपी रङ्गमञ्चमा आएर धेरैको मन छुन सके। जसले मनलाई बिथोलेर मुटु हल्लाउन सके। जो हृदयरुपी ऐनामा प्रतिबिम्बित भए र भइरहेछन्, मेरो सानो जगतका तिनै पात्रहरू छन् यसमा। तिनैको कथा हो यो’― आफ्ना कथाबारे जोशीले लेखेका छन्।

पेशाले जोशी कैलालीको धनगढीस्थित पञ्चोदय उच्च माध्यमिक विद्यालयका नेपाली विषयका शिक्षक हुन्। तर, साहित्यकारका रुपमा उनको पहिलो परिचय नै गजलकारको हो। जोशीभित्र ‘कथाकार’ पनि छ, भन्ने कुरा भने उनी निकटकाले पनि संग्रह निकाल्ने तयारीका बेला मात्र चाल पाएका हुन्।

ऐना भित्रका १९ कथाले सुदूरपश्चिमेली माटोको सुगन्ध बोकेका छन्। सुदूरपश्चिमी पहाडमा व्याप्त जातीय र लैङ्गिक विभेद, छाउपडी प्रथादेखि कमैयाका पीडा भोगेका पात्र र परिवेशमा उनका कथा बुनिएका छन्। ‘खेल’ शीर्षकको कथामा उनी मान्छेका सपनाका आकार र अवस्थाका घर्षण देखाउँछन् भने ‘रङ्गमञ्च’ मा जीवन बाँच्नु पनि अभिनय नै हो भन्ने दोहोर्‍याउँछन्।

‘नायक’ कथामा उनी वास्तविक नायकको खोजी गर्छन्। ‘एउटा भोकको अन्त्य’, ‘दियो जलिरहेछ’, ‘सेतीको सुस्केरा’ होस् या ‘खुटियाको काख’ ले कुरीति र गरीबीका अनेक रुप सामुन्ने ल्याउँछन्, पाठकको मस्तिष्क हल्लाउने सामर्थ्य बोक्छन्।

ऐना भित्रका हरेक कथा यौन नछोएर बस्नै सक्दैनन्। पात्रहरू डोटेली र थारु भाषामा छाडा यौन संवाद र गाली पनि गर्छन्। सामान्य बोलीचालीमा पचाउन गाह्रो यस्ता कुरा कथामा भने अस्वाभाविक लाग्दैनन्। जस्तो कि, ‘पर्दा’ शीर्षकको कथामा उनी भन्छन्, ‘डेहरी र पर्दा जोडिएको छिद्रबाट हेर्ने प्रयास गरें। उफ्! बैदार काका पटरानीमाथि चढेर ढिकी कुट्दै थिए!’

कथामा प्राकृतिक सौन्दर्य जबर्जस्त अटाएका छन्। महाकाली, सेती र कर्णाली तथा तिनमा मिसिने नदीनाला र आसपासको सौन्दर्यको मिहिन चित्रणले कथालाई सिंगारेका छन्।

सामाजिक, सांस्कृतिक र राजनीतिक विसङ्गतिलाई नारा नभई सिर्जनात्मक हिसाबले प्रस्तुत गर्ने जोशीको क्षमताकै कारण कथा सकिएसँगै पाठक उनीप्रति सहमत भइसक्छ। सामान्य लेखपढ गर्नेले समेत छिचोल्न सक्ने उनको कथाको अर्को खूबी भनेको पाठकलाई आफ्नो कथा जस्तै लाग्नु हो। शिक्षक जोशीका कथा नैतिक ज्ञानले भरिएका छैनन्। उनी एकोहोरो तर्क लाद्दैनन्। पुस्तक आद्योपान्त पढ्न यिनै कुराले घच्घच्याइरहन्छन्।

पहिलो कथा संग्रहबाटै प्रशंसा पाउन सफल जोशीका कथा त्रुटिरहित भने छैनन्। सबैखाले विभेदका कुरा गर्ने उनी बेलाबेला शब्द चयनमा सचेत देखिंदैनन्। जसको पक्षमा लेखिएको हो, उसैलाई बिझाउने शब्द पनि भेटिन्छन्। डोटेली र थारु भाषाको आवश्यकताभन्दा बढी प्रयोगले नेपालीभाषी पाठकलाई झिंजो लाग्न सक्छ। कथामा ‘ट्वीस्ट’ ल्याउन ठाउँठाउँमा बढी नै कल्पनाशील भएको आलोचना पनि कथाकारलाई लाग्न सक्छ।

लामो खडेरीपछिको वर्षाको पानीका थोपाले माटो स्पर्श गर्दा फुक्क फुक्क धूवाँ निस्कन्छ। ठीक यहीबेला तपाईं हिंडिरहनुभएको छ भने त्यो धूवाँको सुगन्धले तपाईंको आँत रसाउँछ। जोशीका कथा पढ्दा सुदूरपश्चिमको माटोमा मिसिएको संघर्षको सुगन्ध उसैगरी रसाउँछ।
बच्चु बिक

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...