खेलकुदशनिबार, बैशाख ५, २०७२
अपार अवसर समान चुनौती
गतिलो तयारी हुँदा २०७२ सालको विश्व क्रिकेट लीग च्याम्पियनसिप र आईसीसी वर्ल्ड टी–२० क्वालिफायरदेखि साफ च्याम्पियनसिपसम्मका प्रतियोगिताहरू उपलब्धिमूलक हुन सक्छन्।
– सन्त गाहा मगर
गत ३ माघमा भएको विश्व क्रिकेट लीग डिभिजन–२ को समूह चरणको पहिलो खेलमा युगाण्डासँग दुई रनको पराजय टीम नेपालका लागि महँगो सावित भयो। प्रतियोगिताकै सबभन्दा कमजोर युगाण्डासँगको हारपछि दोस्रो स्थानको नेदरल्याण्ड्ससँग समान ६ अंक जोडे पनि डिभिजन–१ मा पुग्न टीम नेपालका लागि नेट रनरेट बाधक बन्यो।
तर, विश्व क्रिकेट परिषद् (आईसीसी) को १४ माघको बैठकले नेपाल पनि विश्व क्रिकेट लीग च्याम्पियनसिप (डब्लुसीएल) मा सहभागी गराउने निर्णय गरेको छ। डिभिजन–१ को शीर्षस्थानमा रहेका अफगानिस्तान र आयरल्याण्ड सन् २०१९ को विश्वकपको पूर्ण सदस्य राष्ट्रमा बढुवा भएपछि नेपालले लीग च्याम्पियनसिप खेल्ने अवसर पाएको हो।
यो प्रतियोगिता नेपालका लागि निकै महत्वपूर्ण छ। नेपाल क्रिकेट संघ (क्यान) की प्रमुख कार्यकारी अधिकृत भावना घिमिरे डब्लुसीएलमा राम्रो प्रदर्शन नै आउँदो वर्षको सबभन्दा महत्वपूर्ण विषय रहेको बताउँछिन्। डब्लुसीएलमा नेपालले हङकङ, नामिबिया, नेदरल्याण्ड्स, पपुवान्यूगिनी, स्कटल्याण्ड, केन्या र संयुक्त अरब इमिरेट्ससँग प्रतिस्पर्धा गर्र्र्नेछ।
त्यो स्पर्धामा छैटौंभित्र पर्यो भने टीम नेपालले ‘आईसीसी क्रिकेट वर्ल्डकप क्वालिफायर २०१८’ मा सहभागी हुन पाउनेछ। आगामी वर्ष भारतमा हुने ट्वान्टी–ट्वान्टी विश्वकप छनोट अर्को महत्वपूर्ण प्रतियोगिता छँदैछ।
२१ असारदेखि आयरल्याण्ड र स्कटल्याण्डमा हुने ‘आईसीसी वर्ल्ड ट्वान्टी–ट्वान्टी क्वालिफायर’ मा नेपाल सहित १४ देशबीच प्रतिस्पर्धा हुँदैछ। राष्ट्रिय टीमका सहायक प्रशिक्षक रहिसकेका जगत टमटा आयरल्याण्ड, अफगानिस्तान जस्ता टीमसँग खेल्न लरतरो तयारीले नपुग्ने बताउँछन्। “चैत २०७० मा ढाकामा भएको ट्वान्टी–ट्वान्टी विश्वकपमा जस्तो रनरेट बाधक नबनोस् भन्नका लागि पनि गतिलो तयारी चाहिन्छ”, टमटा भन्छन्।
स्थायी रूपमा टीमको प्रदर्शन सशक्त पार्न राष्ट्रिय टीमको ब्याकअप मानिने उमेर समूहमा ध्यान दिनुपर्नेछ। अहिलेको राष्ट्रिय टीम यू–१९, यू–१६ र यू–१४ मा राम्रो गरेका खेलाडीबाटै हाँकिएको छ।
प्रशिक्षक टमटा उमेर समूहको लगानीलाई ‘भविष्यको जोगाड’ भन्छन्। उचित लगानीसँगै पूर्वाधार विकास गर्न सके महिला क्रिकेटमा पनि राम्रो संभावना देख्छन्, उनी।
उता, युवा तथा खेलकुद मन्त्रालयका सहायक प्रवक्ता महेश्वर शर्मा क्रिकेट पूर्वाधारमा जोडतोडले काम भइरहेको बताउँछन्। “काठमाडौंको मूलपानी र त्रिभुवन विश्वविद्यालय परिसरको मैदान बनाउन प्रक्रिया थालिएको छ”, शर्मा भन्छन्, “बैतडीमा पनि क्रिकेट मैदान बनाउन बोलपत्र सम्झौता भइसकेको छ।”
नेपाली फूटबलको अवस्था भने अलि भिन्न छ। चैत पहिलो साता एएफसी यू–२३ छनोट खेल्न इरानको तेहरान पुगेको टीम नेपाल पराजय भोगेर फर्केको छ। राष्ट्रिय टीमका मिडमिल्डर जगजित श्रेष्ठको कप्तानीमा रहेको यू–२३ टीमले चार खेलमा कुल १७ गोल खायो। राष्ट्रिय टीमको अवस्था पनि उस्तै छ। टीमले पछिल्लो ९ खेलमा एक गोल पनि गर्न सकेको छैन।
विश्वकप २०१८ को छनोट चरणको खेलमा होम ग्राउण्डमा भारतलाई गोलरहित बराबरीमा रोकेको टीम नेपालका लागि २०७२ सालको सबभन्दा महत्वपूर्ण प्रतियोगिता साफ च्याम्पियनसिप हो। आगामी सेप्टेम्बर वा डिसेम्बरमा भारतमा हुने प्रतियोगितामा च्याम्पियन बन्न सके नेपाली फूटबलले त्राण पाउने फूटबल विश्लेषक सञ्जीव मिश्र बताउँछन्।
मिश्रका अनुसार, साफ च्याम्पियन बन्न गाह्रो छ, तर असम्भव छैन। दक्षिण एशियाली देशहरूको अवस्था उन्नाइस–बीस मात्रै भएकाले मिहिनेत गरे उपलब्धि हात लाग्न सक्छ।
तुलनात्मक बलियो भारतलाई २० भदौ २०७० मा नेपालले २–१ गोल अन्तरले पराजित गरेको थियो। खेलाडीमा मन्दिर हैन, मैदान धाएरै जित्न सक्छौं भन्ने आत्मविश्वास र व्यवस्थापकीय चुस्तता बढाउने हो भने नेपाल साफ च्याम्पियन बन्न सक्ने बताउँदै फूटबल विश्लेषक मिश्र भन्छन्, “अब देशले सहभागिताका लागि सहभागी हुने र खेलाडीले खेल्नका लागि खेले जस्तो मनस्थिति त्याग्नुपर्छ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
