समाचारआइतबार, बैशाख ६, २०७२
अनुदार शासक, दिलदार मित्र (सम्पादकीय)
२७ कात्तिक २०३६ मा धनकुटाको छिन्ताङमा तात्कालीन नेकपा माले मास्ने नाममा गोली चलाएर १६ जनाको कत्लेआम गरियो । ३२ भदौ २०६० मा रामेछापको दोरम्बामा २१ जना माओवादी कार्यकर्तालाई नियन्त्रणमा लिएर सामूहिक हत्या गरियो ।
२०३६ सालको जनमत संग्रहमा पंचायतलाई जिताउन अपनाइएको राज्यकोष दुरुपयोगदेखि वन बिनाशसम्मका हत्कण्डाहरू सूर्यबहादुर थापालाई एउटा शासकको रूपमा अनुदार देखाउन काफी छ । यस्ता थुप्रै शासकीय दुर्गुणका बाबजूद, निरंकुश पञ्चायत र त्यसपछिको प्रजातान्त्रिक व्यवस्थाको केन्द्रबिन्दुमा रहनु सुबथाको विशेषता थियो ।
‘सोसियो–पोलिटिकल जज्मेन्ट’ को खूबीले उनलाई शाही निरंकुशतादेखि लोकतन्त्रसम्मको राष्ट्रिय राजनीतिको केन्द्रमा राख्यो । तीन–तीन जना राजा र प्रजातान्त्रिक कालका सबै प्रधानमन्त्रीका लागि सुबथा राज्य संचालनको सर्वाधिक सकसपूर्ण क्षणमा निकास दिने ‘चिज’ बने ।
उनलाई अबको समयमा के हुँदैछ भनेर ठम्याएर तदनुरूप गर्ने राजनीतिक खेलाडीको रूपमा सम्झ्निुपर्छ । यस्तो विशेषता आजका कोही नेतामा देखिंदैन ।
नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहले दुई विशाल चट्टानबीचको तरुल भनेको मुलुकमा सुबथाले तरुल वा ढुंगा जे भए पनि यो दक्षिणाभिमुख छ भन्ने ‘कन्भिक्सन’ बनाए । यसले पनि उनलाई राजनीतिको केन्द्रमा रहन सफल बनायो ।
नेपाललाई उनी दक्षिण पानीढलो भन्थे, आफ्नो राजनीतिक व्यवहारलाई पनि दक्षिणाभिमुखी नै गराए । त्यसैको प्राप्ति थियो, समयको पदचाप ठम्याउने उनको खूबी र पाँच–पाँच पटकको प्रधानमन्त्रीत्व ।
धेरैको बुझइमा, राजनीतिले जता डोर्यायो, त्यतै डोरिए– सुबथा । अति दक्षिणपन्थी कोणको यो बुझइ उनको शासनकालमा चुलिएका भ्रष्टाचार, प्रजातान्त्रिक खेमाको राजनीतिले पाएको हैरानी र वामपन्थीहरूले बेहोर्नुपरेको यातनाको अनुभवको आधारबाट हेर्दा सही लाग्छ ।
तर, संक्रमणकालमा निरंकुशता लाद्ने योजनामा रहेका राजाको निगाहमा राजनीतिक पदस्थापन भएर गणतन्त्रसम्मलाई सहज स्वीकार गरेका व्यक्तिको राजनीतिक मूल्यांकन त्यो आधारमा मात्र गर्दा एकाङ्गी हुन सक्छ ।
प्रजातान्त्रिक संविधान निर्माण र संसदीय निर्वाचनको पूर्वसन्ध्यामा निरंकुश योजना बुनिरहेका राजा महेन्द्रले धनकुटाबाट टपक्क टिपेर सल्लाहकार सभाको अध्यक्ष बनाउनुमा निश्चय पनि निरंकुश व्यवस्थाको दिगोपनकै अभीष्ट थियो । जुन सुबथाले भलिभाँती निर्वाह गरे ।
पूर्वी पहाडी गाउँ मुगाको मध्यमवर्गीय क्षत्री परिवारका सुबथाले काठमाडौंकेन्द्रित सामन्ती राज्यसत्तामा ठाउँ बनाउँदा भएको घर्षणले दलविहीन पञ्चायतभित्रै नजानिंदो गरी प्रतिपक्षीय अवधारणा पनि जन्मायो ।
पञ्चायतभित्रको त्यही संघर्षले उनको छविलाई ‘उदारवादी’ बनाइदियो, जुन उनी थिएनन् । र पनि, दरबारका चोटाकोठामा हुने राजनीतिक संघर्षमा उनको उपस्थितिले पंचायतभित्र धाँजा पार्दा प्रजातन्त्रवादीहरूले समेत उदारवादी देखे ।
त्यतिबेलाको राजनीतिमा कमजोर हुनेवित्तिकै उनले चाल्ने कदमहरूले निरंकुश व्यवस्थाभित्र विपक्षको राजनीति कायम हुन पुग्यो, जुन कतिपय अवस्थामा प्रजातान्त्रिक आन्दोलनका लागि अनुकूल बन्थ्यो ।
जस्तो, राजदरबार र सिंहदरबारको द्वैध शासन अन्त्यको माग राख्दा पक्राउ परेका सुबथाले २०२९ साल पुस १ गते कारागारमै होम गरेर कालो चरु लगाएको चर्चित घटनाले प्रजातन्त्रवादीहरूले मनाउने ‘कालो दिन’ को सान्दर्भिकता बढाएको थियो ।
पञ्चायतकालभर राजाको उपयोगितामा आफ्नो राजनीतिक उत्थान र पतन भोगेका सुबथा प्रजातान्त्रिक/लोकतान्त्रिक व्यवस्थामा पनि प्रभाव छाड्न सफल भइरहे । करीब ६० वर्षको सक्रिय राजनीतिमा नेपालमा दक्षिण छिमेकीको ‘भरपर्दो मित्र’ बनेका उनी प्रजातान्त्रिक कांग्रेस होस् वा प्रगतिशील वामपन्थी, सबैका लागि उपयोगी साबित भए ।
भारतको संस्थापन (विशेषगरी नेहरू–गान्धी परिवार) का विश्वासी हुनुले उनलाई नेपालमा राजा, नेता सबैका लागि सकसका सजिला सहयात्री बनाएको थियोे ।
२०६४ पछिको राजनीतिमा भने सुबथाको ‘प्रेडिक्टिबिलिटी’ कमजोर साबित हुँदै गएको थियो– पछिल्लो दशकमा दक्षिणी छिमेकीबाट शुरू गरिएको ‘एजेन्सी’ कूटनीतिका कारण । राजा ज्ञानेन्द्रले सत्ता हत्याएपछिको एक भेटमा उनले हिमाल सँग ‘अति राष्ट्रवादले नेपालमा शासन गर्न दिंदैन’ भनेका थिए ।
नेपालमा शासन गर्न राष्ट्रियताको चर्को नारा उराल्ने होइन, सुझबुझ् देखाउनुपर्ने उनको आशय थियो । भूगोल अनुसारको समाज र समाज अनुसारको राजनीति हुने बुझेका सुबथाका लागि दक्षिण पानीढलोको रूपमा रहेको नेपालको अवस्था राम्रो वा नराम्रो हुनुमा दक्षिणी छिमेकसँगको सम्बन्ध निर्णायक हुने कुरा अर्को सत्य थियो ।
यही बुझइ–व्यवहारले सुबथालाई नेपालमा गिरिजाप्रसाद कोइरालापछि सबभन्दा बढी शासनको बागडोर सम्हाल्ने नेता बनायो । उनी राजा महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्रदेखि गिरिजाप्रसाद र माधवकुमार नेपालसम्मका नेताका लागि गाँठो फुकाउने सहयोगी बने ।
गिरिजाप्रसादको होस् या माधवकुमारको, प्रत्येक राजकीय अप्ठेरोमा निकटतम सहयोगी बने, उनी । सुबथालाई नेपालको राजनीतिक इतिहासमा अनुदार शासक र दिलदार मित्रका रूपमा स्मरण गरिनेछ ।