रमझमसोमबार, बैशाख ७, २०७२
दीक्षितको लघु कथा सार्वजनिक
छयासी वर्षीय निबन्धकार कमल दीक्षितको ८६ वटै लघुकथा समेटिएको लघु कथा खण्ड–२ सार्वजनिक भएको छ ।
लघु कथा समाज काठमाडौँद्वारा ७ वैशाखमा आयोजित कार्यक्रममा सङ्ग्रहको लेखक दीक्षित, सम्पादक ज्ञाननिष्ठ ज्ञवाली र समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले संयुक्तरुपमा लोकार्पण गरे ।
कार्यक्रममा लेखक दीक्षितले लघुकथा कुनै विषय वस्तुलाई मार्मिक र संक्षिप्तरुपमा पाठकसमक्ष पुर्याउन प्रभावकारी विधा भएको बताए ।
“अहिलेका व्यस्त पाठकसित लामा निबन्ध र कथा पढेर बस्ने फुर्सद छैन, त्यसैले विषय वस्तुलाई पाठकसमक्ष राख्न लघुकथा सामयिक माध्यम भएको छ”–उनले भने ।
भुँडीपुराण प्रकाशनले प्रकाशन गरेको कृतिका विषयमा समीक्षा गर्दै समीक्षक लक्ष्मण गौतमले दीक्षितका लघु कथाले सटिक सन्देश दिन सफल भएको बताए ।
दीक्षितका ७७ वटा कृति प्रकाशित छन् । लेखक दीक्षितको यसअघि लघु कथा खण्ड–१ रत्न पुस्तक भण्डारले प्रकाशन गरिसकेको छ ।