ब्लगबुधबार, बैशाख ९, २०७२
शुभकामना!
पुरानो वर्षलाई अन्माएर नयाँको स्वागत गर्ने शुभकामना आदानप्रदानको समय भन्नु असलमा ‘गिभ एण्ड टेक’ को मौसम हो!
अबुझ्हरू प्रश्न गर्छन्– एक दिनमा के हुन्छ? रोम एक दिनमा बनेको होइन भन्ने भनाइमाथि गौर गरिल्याउँदा हो जस्तो पनि लाग्छ, तर हाम्रै नेपालमा एक दिनमा धेरै थोक बदलिएको देखिएको छ। एकहत्तर सालको गोधूलि साँझ्सम्म ग्वाँच्च परी मूर्झाएर बसेका मनुवाहरू बहत्तरको झुल्के घामसँगै फक्रिएको गुलाफमाफिक देखिन्थे। एक दिनको करामत हेर्नुस्!
नयाँ वर्ष टुप्लुकिनुलाई त्यसै ‘गिभ एण्ड टेक’ को मौसम भनिएको होइन। यस अवसरमा कूट खेलमा अभ्यस्त कुटिल हुन् वा झूटमूटका झपटलाल; सबै मधुरस टप्किने सन्देश बुन्न व्यस्त छन्। अकूत सम्पत्ति काण्डमा अदुवा दलिएको कर्मचारी छरितो प्रशासनको कामना गर्छन्, भ्यागुते खेलोमा निर्लिप्त नेता द्रुत गतिमा नयाँ नेपाल बनाउने सन्देशको बिस्कुन छर्छन्। अपात्रले ओकलेको (अ) शुभकामना भनेर क्यार्नु? गडड ओइर्याएपछि नसुमरी निजात पाइन्न!
उहिले सुधारिएको पंचायतले विकासको मूल फुटाएमाफिक नयाँ वर्षले आशाको मूल फुटाउँदा अपजसको घैंटो चाहिं अभागी एकहत्तर सालको थाप्लोमा बजारियो। उसमाथि, यो वर्ष शनि र मंगलले क्रमशः राजा र मन्त्रीको भूमिका खेलेको हुँदा चन्द्रमाले एकलौटी गरेको गत वर्ष भन्दा झ्कास हुने रे! अर्कोतिर, फिस्टे उपग्रहको ठाउँ दुइटा ग्रहले लिंदा ज्यान अनुसारको बिंडो थाम्नु प्राकृतिक भएकाले शुभ हुने ज्योतिषिहरूको दाबी छ। कहिले ताक पर्ला र बाजी मारम्ला भन्दै अखडा वरिपरि बसेका मनचिन्तेहरूले एकहत्तरको उत्तरार्द्धले देखाएको ऐनामा नयाँ वर्ष शुभ हुने झ्कास लक्षणा देखेका छन्। त्यसमाथि, ज्योतिषि नामका त्रिकालदर्शीहरूबाट लगभग ठोकुवा टाइपकै भविष्यवाणी आएको छ।
अघिल्लो वर्षलाई अशुभ सावित गर्न तम्सिनेहरूको मुखमा बुची कस्न उपलब्धिहरूलाई फर्केर नियाल्न नसकिने भने होइन। जस्तो, सदन भित्र होस् वा सडकमा– तोडान फोडानकै भरमा राजनीतिको पसल चलाउँला भन्नेहरूले लप्पु खानु चानचुने उपलब्धि होइन। जोरजुलूमको राजनीतिले हातलागी शून्य मात्र नभई ऋणात्मक समेत हुने छ्याङ्ग हुन पुग्यो। नौझाले नेताहरू भिडेर राजनीति हल न चल हुँदा जनतालाई जिम्मा दिए ‘दूधको दूध, पानीको पानी’ हुने बाग्लुङेहरूले देखाइदिए।
नन्दप्रसादको दुर्दान्त नियति रच्ने बिरालाहरूले डा. गोविन्द के.सी. को अनशनका पक्षमा म्याउँ गर्नु नेपाली समाजले ठूलै छलाङ हानेको दसी हो। पाखुरी देखाएर ऐजन–ऐजन पारम्ला भन्ठान्नेहरूले जनताको न्यायोचित मागलाई दूध–भात झ्ैं उदरस्थ गरी सदा हजम गर्न नसकिने बुझेर मरेतुल्य भए होलान्, अब। उता, सत्तो र पैसो भए’सि लोकलाई लतारेरै व्यापार चलाउन सकिन्छ भनेर लागेका कणहरू पनि अनशनी डाक्टर अघिल्तिर लुत्रुक्क भए। त्यस्तै, सार्वजनिक ओहोदामा बसेर अन्टसन्ट बक्ने तित्रामतिहरूले साढेसातीले दया गरे’नि फेसबुके र ट्वीटेहरूले नछाड्ने कुरो बुझने कर्म त्यही ७१ मा गरे।
आगो निभाउन दमकल जोड्ने मात्र होइन, अपर्झट आइलागेर मर्ने विपत् भन्ने जिनिसको सामना गर्न टाठो भई बस्नुपर्ने पाठ पनि घामड गोर्खेहरूलाई ७१ सालले नै पढायो। पिलन्धरे टाइपको व्यवस्था गरेर बस्दा लोकल कुखुरा साइजको आपत्तिले पनि शुतुरमुर्ग बराबरको रैंदालो मच्चाउन सक्ने भेउ पाएर तदनुरूप व्यवस्था गर्नु चानचुने उपलब्धि हैन। नेपाल बनाउने तरकिव फुराउन वर्षौंदेखि गलफत्ती गरिरहेका चिन्तकहरूको बुद्धिको बिर्को मुख्यसचिव नेतृत्वको वागमती सफाइ अभियानले उघारिदियो। दत्तचित्त भई काममा डट्न सक्दा बन्ने रहेछ नयाँ नेपाल!
गुलिया कामनाले लदालद नयाँ वर्षहरू कति आए, कति गए। ती थोत्रिए, मक्किए अनि स्मृतिबाट विलाए। गत वर्षको उछित्तो काढ्न छाडी त्यसले सिकाएको पाठ मनन् गर्दै अघि बढे नयाँ वर्ष उपलब्धिपूर्ण होला। नत्र, उही रुम्जाटारमा उभिएर ७२ साललाई धारे हात लाउँदै शुभकामनाको खेतीमा रुमल्लिनुपर्ने हुन्छ, अर्को वर्ष। राजनीतिक नेतृत्वको लागि ७२ साँच्चै ‘गिभ एण्ड टेक’ को मौसम बनोस्। माननीयहरूले संविधान बनाउने काम संविधानसभा भित्रैबाट फत्ते पार्ने हिम्मत देखाउन्, कर्मचारीले तलबभत्ता बराबरको काम निप्टाउन्, व्यापारीहरूको लूटतन्त्र सिनित्त होस्!
खेलाडीको दृष्टि पदकतिर होस्, विद्यार्थीको नजर किताबतिर रहोस्। डाक्टरहरूको ध्यान दामतिर भन्दा बिरामीतिर जाओस्, पत्रकारको ध्यान विज्ञापन भन्दा बढी समाचारतर्फ सोझिओस्। सबैले आ–आफ्नो काम चट्ट निप्टाउन्। यो ७२ ले ७१ ले जसरी अप्टीक सुमर्नु नपरोस्!