ब्लगशुक्रबार, बैशाख ११, २०७२
०६३ मा गोली पड्कँदा
-गोपाल श्रेष्ठ
बिर्तामोडको टोकला चिया प्याकेजिङ कारखानामा काम गरेको दुई वर्ष हुँदैथियो । दिनदिनैको बन्द–हडतालले हामी मजदूरी गरिखानेलाई गाह्रो पारेको थियो ।
कामको लागि मेचीनगर–५ स्थित घरबाट बिर्तामोड जाँदा बीचमा पर्ने चारआलीमा सेनाले चेकजाँचको नाममा सबै यात्रुलाई बसबाट ओरालेर दुवै हात उठाउन लगाएर पाँचसय मिटर जति हिंडाउँथ्यो ।
वृद्धवृद्धा, महिला र बालबालिका सबैले घाम–झरी केही नभनी त्यसरी हिंड्नुपर्थ्योे ।
म पाँच कक्षासम्म मात्र पढेको मान्छे, राजनीति त्यति जान्दिनँ, तर, त्यो बेला राजनीतिक वातावरण एकदमै कठिन भएको सजिलै बुझिन्थ्यो ।
दिनदिनै मानिस समातिएको, मारिएको सुनिन्थ्यो । जिल्लाका नेताहरू गाउँघर पसेर राजाका विरुद्ध जुलूस गर्न आह्वान गर्थे ।
हेर्दाहेर्दै देशव्यापी हडतालका कारण हाम्रो कारखाना पनि बन्द भयो । राजाको सरकारले सदरमुकाम चन्द्रगढी र आसपासको पाँचसय मिटर क्षेत्रलाई मानिस भेला हुन नपाउने क्षेत्र घोषणा गर्यो । दिनदिनै जुलूस भइरहेका थिए ।
२०६३ सालको २६ चैतदेखि यातायात, कलकारखाना, स्कूल सबै ठप्प भए ।
६ वैशाखमा चन्द्रगढीमा आमसभा गर्ने भनिएको थियो । झापाका सबैतिरबाट हूलका हूल मानिस कोही हिंडेर त कोही साइकलमा चन्द्रगढी ओइरिए ।
म पनि बिहान ८ बजे खाना खाएर साइकलमा चन्द्रगढी जान घरबाट निस्किएँ । छिमेकी दिलीप भण्डारी र म पालैपालो एउटै साइकल हाँकेर बिर्तामोडहुँदै ३० किलोमिटर टाढा चन्द्रगढी पुग्यौं ।
मेची रंगशाला र त्यस वरपर आँखाले देखुन्जेल मान्छे मात्रै थिए । जिल्ला विकास समितिबाट उत्तरतर्फको सडकमा प्रहरी बाक्लै थिए ।
जुलूसको एउटा समूहले जिल्ला प्रहरी कार्यालयसँग जोडिएको महेन्द्र पार्कको बीचमा रहेको महेन्द्रको सालिक तोडेर कांग्रेस र एमालेका झण्डा फहरायोे । प्रहरीले लाठीचार्ज गर्दा आन्दोलनकारीले प्रतिकार गरे ।
म भद्रपुरतिरबाट आएको जुलूसमा थिएँ । प्रहरीले अश्रुुग्यास हानिरहेको थियो । प्रहरीले आन्दोलनकारीको एउटा समूहलाई खेद्दा अर्को समूह आएर प्रतिकार गरिहाल्थ्यो ।
केही घण्टामै निषेधित क्षेत्र तोडियो । त्यो दिन आन्दोलनकारीहरू आ–आफ्नो बाटो लाग्ने तरखरमा रहेको बेला सरकारले सेना उतार्यो ।
दिउँसो ३ बजेतिर सेनाले अन्धाधुन्द गोली चलाएर ट्रेड युनियन चोकमा नारा लगाइरहेका राजन गिरी र सुरज विश्वासलाई ढाल्यो ।
चन्द्रगढीका सडकमा लाश, खुनका फाल्सा र हजारौं आन्दोलनकारीका जुत्ताचप्पल छरपस्ट भए । भीडमा मिसिएर भाग्दै म रंगशालाभित्र पसें ।
त्यहाँ प्रहरीले आक्रमण गरेपछि दक्षिणतिर लाग्दै थिएँ, अचानक देब्रे खुट्टा नचलेर लडें । खुट्टाबाट भल्भली रगत बग्यो ।
सँगै भागिरहेका एक जना आन्दोलनकारीले घिसार्दै मलाई बाटोछेउको घरभित्र हुल्यो । त्यो घरकी महिलाले ढोका थुनिन् ।
एकैछिनमा घर अगाडि सैनिकहरू आए । घरबेटी महिलाले यहाँ कोही छैन भनेपछि सैनिकहरू अश्लील गाली गर्दै फर्किए ।
मलाई असाध्य दुखेपछि ऐया भन्न सक्ने अवस्था थिएन ।
सेना फर्किएपछि अरू घाइते लिएर अस्पताल जाँदै गरेको एम्बुलेन्स तिनै महिलाले रोकेर मलाई चढाइन् ।
त्यसपछिको चार महीना मेरो बसाइ धरानको बीपी कोइराला अस्पतालमा भयो । बैसाखी छोडेको एक महीना मात्र भयो । गोलीले छेडेको खुट्टो घिसार्दै चर्पी जान सक्ने भएको छु ।
मजदूर हुँ, अब त अपांग भएँ । जनआन्दोलन समितिले रु.१२ लाख जुटाएर यो घर बनाइदिएको हो ।
अरू त त्यस्तै हो, अब लोकतन्त्रले शान्ति ल्याउँछ, सबैले चैनका साथ गरिखान पाउँछन् भन्ने लागेको थियो ।
संविधानसभा एक युगमा एकचोटि आउँछ भन्थे, तर ६ वर्षमा दुईपटक संविधानसभा बनाइसके । संविधान लेख्ने कुरामा नेताहरू नमिलेको देख्दा दिक्क लाग्छ ।
प्रस्तुति: गोपाल गडतौला
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
