रमझमशुक्रबार, बैशाख ११, २०७२

रेशम फिलिली: गीत जस्तो छैन

अनुशील

पहिल्यै ‘हिट’ गीतका कारण चर्चा कमाएको ‘रेशम फिलिली’ ले दर्शकको अपेक्षा पूरा गर्दैन ।

filili2
‘यु ट्युब’ मार्फत ‘भाइरल’ ‘पिरतीको छाता ओढाउन… (जालमा)’ गीतबाट प्रदर्शनअघि नै चर्चामा रहेको फिल्म ‘रेशम फिलिली’ गीत जस्तो दमदार छैन ।

अढाइ घण्टाको फिल्मको सुरुआतको करीब ४५ मिनेट गज्जब लाग्छ । विनय श्रेष्ठ (रेशम) र कामेश्वर चौरसिया (हरिया) को पहाडे–मधेशी केमेष्ट्रीमा घुसाइएको कमेडीले एकोहोरो हँसाउँछ ।

गाउँबाट अनेक सपना सँगालेर राजधानी छिरेका युवाले भोग्नु परेको समस्या, वैदेशिक रोजगारीका क्रममा म्यानपावर कम्पनीबाट हुने ठगीको यथार्थपरक चित्रणले मन छुन्छ । तर, कमजोर पटकथामा जब्बर्जस्त थोपरिएका दृश्यको श्रृंखलाले फिल्म प्रत्येक गाँसमा ढुंगा लाग्छ ।

कालीप्रसाद बाँस्कोटा, सोमिया बराइलीले गाएको गीत जस्तै अपेक्षा गरेर हल छिर्ने दर्शक त्यही गीतको गतिलो फिल्मांकन नदेख्दा निराश हुन्छन् ।

गीतमा केटाले केटीलाई घुमाउन लगेको सुनिए पनि फिल्ममा नायकको हालत केटी घुमाउने छैन । गीत ‘लिप्सिङ’ विना नै बजिरहन्छ । केटा र केटी डाँडा–पाखामा घुमेको दृश्य मात्र देखिन्छ ।

filili1कमेडी फिल्म भनिएको फिल्म संवाद, हाउभाउ र अभिनयको बलमा हँसाउन असफल छ । हँसाउनै भनेर राखिएका कतिपय दृश्यसमेत अपच लाग्छ । यहींनेर निर्देशक प्रणव जोशी चिप्लिएका छन् ।

हिन्दी कार्टून सिरियल ‘मोटु पत्लु’ को दृश्य झैं फिल्ममा बजारमा मान्छे पक्रन लखेटिरहेको पात्र बाटोमा मःमको वास्नाले मुग्ध हुन्छ र मःम खान पसलमा पस्छ । फिल्मका खलनायक शिशिर बाङ्देल (दोर्जे) जो ‘टायर डन’ का रुपमा चिनिन्छन् ।

उनी थोत्रा टायरको ब्यापार गर्छन् । ग्राहक भने आन्दोलनकारी राजनीतिक पार्टी हुन् जसले आन्दोलनमा बाल्न टायर माग गरिरहेका हुन्छन् ।

नपच्ने अर्को दृश्य, मोटरसाइकल मेकानिक्सकी छोरी मेनुका प्रधान (सुनिता) ‘अचेल हाम्रोबाट टायर किन मगाउन छाडेको ?’ भनी डनसँग सोध्छिन् । डन भन्छ, ‘आन्दोलन कम भएकाले टायरको माग घटेको छ ।’

गुण्डाले रेशम र हरियालाई लखेटेको दृश्य अनावश्यक लम्ब्याइएको छ । उनीहरू भाग्दा भाग्दै गल्ली, सडक, घरको छत त कहिले यौनकर्मीको बेडरुमसम्म पुग्छन् ।

फिल्मभित्रको फिल्म छायांकनका क्रममा भएको द्वन्द्वको दृश्य पनि उस्तै कमजोर छ, भाग पुर्‍याउन राखे जस्तो । ‘क्लाइमेक्स’ झनै अस्वाभाविक लाग्छ ।

म्यानपावर कम्पनीले युवाहरूलाई कतार भनेर चितवनतिरको जंगल पुर्‍याएको अपत्यारिलो दृश्यमा दर्शकलाई झोंक चल्छ । युवा ठगिएका छन् तर निर्देशकले सोचेजति बुद्धू छैनन् ।

संवादमा कतिपय अश्लील शब्द त छँदैछन्, ‘बोलीचालीका शब्द’ बनेर आत्मसात् गर्न सकिन्छ तर, बाख्रो करणी गरेको दृश्य हेर्नुपर्दा दर्शकलाई समेत लाज लाग्छ ।

त्यस्तो दृश्यलाई कलात्मक तरीकाले संयोजन गर्न सकिन्थ्यो, तर निर्देशक जसरी भए पनि हँसाउनु आफ्नो सफलता मान्ने ध्याउन्नमा देखिएका छन् ।

filili3अभिनयमा विनय र मेनुका औसत लाग्छन् । फिल्मभित्रको फिल्मका नायक ब्रायन (कर्म) लाई भूमिका पटक्कै सुहाएको छैन । हरियाको भूमिकामा देखिएका कामेश्वर चौरसियाको उम्दा अभिनयले भने दर्शक लोभिन्छन् ।

हेर्नका लागि कामेश्वरको अभिनय र सुन्नका लागि कालीप्रसादको संगीतबाहेक फिल्ममा अर्थोक नयाँ केही पाइँदैन । किनभने आमाको दुःख, वैदेशिक रोजगार र गाउँबाट शहर छिरेका युवाका समस्याबारेका कथा यसअघि नै धेरै फिल्ममा आइसकेका छन् ।

ड्रोन मार्फत खिचिएका ‘एरियल सट’ गुणस्तरीय छैनन् । लूट र कबड्डी जस्ता फिल्मको अपेक्षा गर्ने दर्शकले निराशा सिवाय केही पाउँदैनन् ।

फिल्मको पोस्टरमै ‘२०७२ साल, प्रोड्युसर मालामाल’ लेखिनुले पनि निर्माताद्वय अभिनेता विनय र माधव वाग्लेको धुन फिल्म राम्रो बनाउनुभन्दा पैसातिरै भएको देखाएको छ ।

गीतका कारण दर्शक हलसम्म पुग्लान्, पैसा पनि उठ्ला, तर नेपाली चलचित्र उद्योगमा थप एउटा फिल्म बन्यो भन्नुबाहेक अर्को उपलब्धि देखिंदैन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>