थप समाचारमंगलबार, बैशाख १५, २०७२
भोकै-प्यासै, रुझ्दै
विनाशकारी भूकम्पबाट घर भत्किएको सिङ्गो गाउँले ओत लाग्ने एउटा पाल पनि नपाएपछि मानिसहरु खुला आकाशमनि पानीमा रुझ्दै बस्न बाध्य भएका छन् ।
भक्तपुरको ताथली सौडोलस्थित टारको गिरी, बस्नेत र खड्का गाउँका ३५ घरमध्ये ३३ वटा घर पूर्णरुपमा भत्किएका यहाँका बासिन्दाले एउटा पालसम्म पनि नपाउँदा थप पीडा भोग्नु परेको बताएका छन् ।
सौडोलका सानुभाइ गिरीले भन्नुभयो—‘यहाँका ३३ घर भत्किएर सबैको चौरको बास भएको छ, अन्नपात, लुगाफाटो सबै भत्किएको घरमै पर्यो, पानी पर्दा पनि रातभरि नै रुझेरै बस्नु पर्यो, यहाँको अवस्था बुझ्न अझै कोही आएका छैनन् ।’
ताथलीमा मात्रै एकहजार भन्दा बढी घर भत्किएका छन् भने चार जनाको ज्यान गएको भए पनि यहाँ प्रहरी, रेडक्रस र प्रशासनको कुनै टोली नआएको स्थानीयवासीको गुनासो छ ।
भक्तपुर नगरपालिका क्षेत्रको खुला चौरमा नेपाल रेडक्रस सोसाइटीले पाल वितरण गरेपनि ग्रामीण क्षेत्रमा अझै पाल नपुग्दा ताथली, सुडाल, चित्तपोल, बागेश्वरी, नगरकोट, छालिङ्ग, चाँगुलगायतका क्षेत्रका भूकम्प पीडित बासिन्दाले कुनै राहत पाएका छैनन् ।
‘पानी पर्ला जस्तो हुने वित्तिकै अव रुझिने भो भन्ने चिन्ताले सताउन थाल्छ, न खानेकुरा छ, न बस्नलाई पाल छ, अझैसम्म पनि यहाँको अवस्था बुझ्न कोही आएको छैन’—ताथलीटारकी सावित्री बस्नेतले गुनासो गरिन् ।
‘भएको धान, चामल घरले पुरियो, गाईभैँसी पनि सबै पुरिएरै मरे, हजुरआमाको ज्यान पनि घरमा पुरिएरै गयो, किरिया गर्ने अन्नसमेत छैन, बाँचेकालाई पनि निकै सास्ती भयो, के आपत्ति आइलाग्यो यो’—सुडालका सञ्जिव दुलालले भने ।
रेडक्रसले भक्तपुर नगरपालिका क्षेत्रमा एक हजारवटा र भक्तपुरका ग्रामीण क्षेत्रमा आठसय पाल वितरण गरेपनि त्यस्ता पाल आवश्यक परेकाले भन्दा पनि पहुँचवालाले बढी पाएको स्थानीयवासीको गुनासो छ ।
ताथली, सिरुटारका लागि लगिएका पाल रेडक्रसकर्मीबाट नै आफन्त, नेताका आसेपासे र पहुँचवालाकोमा पुगेको र वास्तविक पीडितले नपाएको गुनासो स्थानीयवासीको छ ।
बागेश्वरीमा गएको पाल स्थानीयवासीले खोसेर लगेको, चाँगुनारायणमा पाल नपाएपछि ढुङ्गा हानाहान नै भएको छ ।
रासस