थप समाचारमंगलबार, बैशाख १५, २०७२
विदेशी टोली उद्धार र उपचारमा कहाँ कहाँ खटिए
नेपालका भूकम्पपीडितका सहयोगका लागि पाँच देशका नौ चिकित्सक टोली तथा १२ देशका उद्धार टोलीले देशका विभिन्न स्थानमा उद्धार र उपचारमा सहयोग पुर्याएका छन् ।
विदेशी उद्धार टोली को कहाँ
उद्धार टोली देशका विभिन्न स्थानमा आवश्यकताअनुसार परिचालन भइरहेको छ । भारतको १८० जनाको उद्धार टोली बालाजु, बसुन्धरा, शोभाभगवती, सीतापाइला र धरहरामा तथा ६७ जनाको चिनियाँ टोली (सर्च एन्ड रेस्क्यु टिम) बालाजुमा, डल्लु, काठमाडौँ दरबार स्क्वायर र ५० जनाको टोली कपनमा खटिरहेका छन् ।
७९ जनाको टर्केली उद्धार टोली काठमाडौँका करदाता कार्यालय, बालुवाटार, ग्रीनल्यान्ड होटल, महाराजगन्ज, भोटाहिटी, असन र पकनाजोल तथा काभ्रेपलाञ्चोकको धुलिखेल उद्धारमा खटिरहेका छन् ।
पोल्यान्डको ८१ सदस्यीय टोली (फायर फाइटिङ टिमसहित १२ कुकुर र १२ टन उद्दार सामग्रीसहित) भक्तपुरको गरुडकुण्ड र कमलविनायकमा खटिरहेको छ । इजरायलको ८० सदस्यीय टोली गोंगबुमा र मलेसियाको ४७ सदस्यीय टोली हनुमानढोकामा तैनाथ भई उद्धारमा खटिरहेका छन् ।
जापानको ७६ सदस्यीय टोली हनुमानढोका र फ्रान्सको १० सदस्यीय टोली कालीमाटी तैनाथ रही काम गरिरहेका छन् । बेलायती उद्धार टोली सिन्धुपाल्चोक जिल्ला, जर्मनेली टोली बिसिजी हल सुन्दरीजल, श्रीलङ्काको १३ सदस्यीय टोली बालाजु र नेदरल्यान्ड्सबाट एक टोली आठ तालिमप्राप्त कुकर (आठ स्नीफर डग ) सहित उद्धारमा खटिरहेको छ ।
चिकित्सक टोली को कहाँ
भारतको ८८ सदस्यीय चिकित्सकको टोलीले राजदल गण, लगनखेलबाट, भारतकै ३० सदस्यीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत रहेर तथा अर्को ११६ सदस्यीय चिकित्सक टोलीले सिनामङ्गलमा उपचार सेवा पुर्याइरहेका छन् ।
चीनको ६० सदस्यीय चिकित्सक टोलीले काभ्रेको धुलिखेल र चीनको १२ सदस्यीय टोलीले नेपाली सेनाको उपत्यका पृतनामा उपचार सेवा दिइरहेका छन् ।
पाकिस्तानको ४८ सदस्यीय चिकित्सक टोलीले सल्लाघारी भक्तपुर, श्रीलङ्काको २२ सदस्यीय चिकित्सक टोलीले सिन्धुपाल्चोक दोलालघाट र बङ्गलादेशको १७ सदस्यीय चिकित्सक र स्वास्थ्कर्मीको टोलीले खोकना, ललितपुरमा र मलेसियाको ४७ सदस्यीय चिकित्सक टोलीले काठमाडौँ हनुमानढोकाका भूकम्पीडितलाई उपचार सेवा दिइरहेका छन् ।
सुरक्षाकर्मीको परिचालन
नेपाली सेनाबाट काठमाडौँमा हजारभन्दा बढी, नुवाकोटमा १५९, गोरखामा २८७, ललितपुरमा २०६, भक्तपुरमा ३०८, धादिङमा १०२, काभ्रेपलाञ्चोकमा १८४, सिन्धुपाल्चोकमा ४३८ र दोलखामा १५४ जना परिचालन गरी उद्धार भइरहेको छ ।
सशस्त्र प्रहरी बलबाट काठमाडौँमा तीन हजार १३८, भक्तपुरमा ८४०, ललितपुरमा ७३७, सिन्धुपाल्चोकमा १४६, धादिङमा १३१, काभ्रेमा ३०, नुवाकोटमा ४६, गोरखामा ७५२, मनाङमा १६५, म्याग्दीमा २३१, मुस्ताङमा २३०, बाग्लुङमा ४०१, लमजुङमा ३०२ लगायत गरी १६ हजार ८२४ जना परिचालन भइरहेको बलले जनाएको छ ।
नेपाल प्रहरी करिब २५ हजारको सङ्ख्यामा विशेष प्रभावित जिल्लामा जीवितको खोजी, उद्धार, स्वास्थ्योपचार, मृतकको खोजी, पहिचान र व्यवस्थापन, यातायात सञ्चालन, बजार अनुगमन एवं राहत वितरणमा सक्रिय रहेको जनाइएको छ ।
स्वास्थ्योपचारको अवस्था
आजसम्ममा पाँच हजार ३०० भन्दा बढीले स्वास्थ्योपचार पाइसकेको तथा देशका विभिन्न अस्पतालमा ८५२ घाइते उपचाररत अवस्थामा रहेको गृह मन्त्रालयले जनाएको छ ।
सिन्धुपाल्चोक, रसुवा, दोलखा, रामेछाप र नुवाकोटका स्वास्थ्य संस्थासमेत पूर्णतः क्षतिग्रस्त भएका छन् ।