थप समाचारबुधबार, बैशाख १६, २०७२
गुल्मपति श्रेष्ठकाे निधनपछि जामुने गाउँ शोकमा
विनाशकारी भूकम्पमा परी १२ वैशाखमा मृत्यु भएका तनहुँ जामुने– ७, धयरे निवासी नेपाली सेनाका गुल्मपति ३४ वर्षीय विनोद श्रेष्ठको गाउँ यतिबेला शोकमा डुबेको छ ।
श्रेष्ठको मृत्युको खबरले यतिबेला जामुने गाविसको पसले, धयरे, कोइरालाथोक, बडहरे, गङ्गटे, कुरिनचौरलगायतका क्षेत्र शोकमा डुबेका छन् । छोराको मृत्युको खबर सुनेपछि ६० वर्षीया आमा नरमाया श्रेष्ठ बेहोस भएकी छन् ।
सैनिक बन्दोबस्ती अड्डा काठमाडौँंमा गुल्मपतिमा कार्यरत श्रेष्ठको गोङ्गबुमा घरले किचेर मृत्यु भएको थियो । उक्त दिन किनमेलका लागि बाहिर निस्कन लागेका श्रेष्ठलाई घर भत्केर माथिबाट खसेको ढुङ्गामाटोले च्यापेको थियो ।
सन् २०५९ मा श्रेष्ठले सेकेन्ड लेफ्टिनेन्ट पदबाट सेनामा जागिर सुरु गरेका थिए । श्रेष्ठले गत चैतमा मात्रै सैनिक कमाण्ड स्टाफ कलेज तहको सेनाको कठिन मानिने कोर्शसमेत पूरा गरेका थिए ।
श्रेष्ठको लाश नेपाली सेनाको हेलिकोप्टरमा १६ वैशाखमा घरमा ल्याइएपछि उनको परिवारलाई सान्त्वना दिन आफन्तजन, छिमेकी, शुभेच्छुक, साथीभाइको घुइँचो लागेको छिमेकी शिवकुमार श्रेष्ठले बताए ।
मृतक गुल्मपति अविवाहित थिए। उनका बुबाको केही समयअघि नै मृत्यु भइसकेको छ । तीन दाजुभाइमध्ये श्रेष्ठ कान्छा हुन् ।